कुरो त्यस्तै पचास सालतिरको हो । त्यसताका बुबा, आमा, दाइ हामी छ जना दिदी बहिनीकाे परिवार थियौ । दाइ प्राय सिक्किम तिर कमानमा काम गर्न जानु हुन्थ्यो । एक दुई बर्षमा दशैको मौकामा औकातले भ्याए नभ्याएका सरसामान, लत्ताकपडा बोकेर घर आउनु हुन्थ्यो । हामी घरको मेलापात गर्थ्यौं । त्यस बाहेक छरछिमेकमा अर्मपर्म र खेतालापात गरेर पढाई खर्च जुटाउथ्यौं । बेलुका पढ्ने बत्तीको लागि अरु नसुतिन्जेल दाउरा बालेर अगेन छेउमै काम चल्थ्यो । त्यस पछी बहिनीहरु सुत्थे । म बाहिरको खाटमा एउटि बहिनीसंग सुत्थेँ । बाहिर सुत्दा डर लागे पनि पुर्णिमाकाे जुनकाे प्रकाशमा किताब पढ्न पाइन्थ्यो । घरभित्र बुबा आमा र चार बहिनीहरु सुत्थे ।
दशैंको रौनक सुरु हुँदै थियो । त्याे साल दाइ कमानमा काम धेरै भएर मंसिरमा मात्रै घर आउने खबर लप्सीबोटे खिबेले अस्ति नै ल्याइसकेको थियो । ठुलाहरुको कुरा छाडेर घरमा साना बहिनीहरुलाई समेत दशैको लुगाफाटो किनिदिन सक्ने कुरै थिएन बुबाको । दशैका लागि भनेर खेतालाबाट ल्याएको दुइ तिन पाथी धान र घरैमा पालेको अधिया खसी थियो । दशैमा हामीलार्इ धौधौ थियो । अघिल्लो सालका स्कुलका लुगा धोएर ठिक ठाक पारिदिएकी थिएँ ।
दशैंको टीका अब चारदिन बाकी थियो । पञ्चमीको रात, सबै खाना खाएर सुत्यौं । राती कता कताबाट मान्छेको मसिनो आवाज आयो । खस्र्याक खुस्रुक आवाज नजिकै जस्तो सुनियो । खाटको भित्तामा बहिनी सुतेकी थिइ । बिस्तारै चिमोटेर उठाएँ । सिरक र बिछ्याउना बोकेर हामी बिस्तारै भित्र गएर बुवाको नजिक ओछ्यान लगाएर सुत्यौ । बुबाले किन डरायौ ठुलिकेटी भन्नू भो । बाहिर मान्छेको आवाज आयो भने मैले । एकचोटि राम्रोसंग धामी झाक्री गर्न लाउनु पर्छ, जंगलको छेउ जंगली भुतले दुख दिन थालो भन्दै बुबा गनगनाउनु भयो । हामी सुत्यौ । राती कतिखेर आमा पाइखाना जानू भएछ । पाइखानाबाट फर्केर मुख धुन जानू भो । पल्लो ओछ्यानबाट बुबाले, हैन त सुत्तिनस, बल्ल आधा रात भो । बौलाइस कि क्या हो ? मसिनो स्वरमा भन्नू भो । आमा चुपचाप आएर अगेना छेउको आफू सुतेको बिछ्याउना अलिकति म तिर सारेर त्यही बस्नु भो ।
अामाले झिटाझिटी तानेर आगो खोस्रीनै लाग्न्नु भाे ।
‘हैन तँ सपना मै छस कि के हो हँ ? सुत् , बल्ल सवा दुई भो भनेको सुन्दिनस ?भाले बासेकै छैन ।’ बुबाले अलिक ठुलो सोरले भन्नू भो ।
‘निन्द्रा लागेन त के गर्नु ? माथ्ला गाउका मान्छे बेसि झर्दै छन् । उ माथी गानगुन बोल्दै छन् । बस्तुलाई कुडो बसालेर केटाकेटी नउठ्दै केरा लिएर आउनु परो म पनि । चमेराले बोटमै खाइ सक्यो होला ।’ आमाले सानै सोरमा भन्नू भो र आगो बाल्नु भो ।
एकछिन पछी बुबा उठेर पाइखाना जाँदा पालिघरको भित्तामा चिप्लेर लड्नु भएछ । फर्केर आउनु भयो ।
‘उज्यालो भकै छैन के दशा लागो हौ मलाई ?’ बुबा आमा खास खुस गरेको सुनिन्थ्यो ।
‘के मा चिप्लिनु भो ? म त अगि खोयामा रड्केर लडेछु ।’ के को दशा हुनु आमा भन्दै हुनुहुन्थ्यो । उज्यालो नहुदै डोकोमा बोरा हालेर आमा अलैंची बारितिर जानू भो । म उठेर घर लिपपोत गर्न तिर लागेँ । बहिनीहरु चौकामा भुइमा लगाएको ओछ्यानमा लस्करै सुतेका थिए । बिस्तारै उठ्न थाले । अलिक उज्यालो भयो । आमा केरा लिएर आउनु भयो । बुबाले बस्तु दोहेर ल्याउनु भयो । आगनको पल्लो छेउमा हाम्रो पालिघर थियो । माथिल्लो तलामा खोसेला पराल र खोया राखिएको थियो । भुइ तलामा सामान्य राखन धरन र ढिकि थियो । बहिनी उठेर आगन बढार्न लाग्दा अरु भाइ बहिनीलाई कराउन लागि । के भयो भनेर सोधपुछ गर्दा, बेलुका लुकामारी खेल्दा पालीबाट खोया खसेर भुइभरी भएको रहेछ । तर त्यो बारे भाइ बहिनी कोहि पनि हो भन्ने पक्षमा थिएनन् । बुबा बस्तुभाउलाई खोसेला निकाल्न पालितिर पस्नु भयो । ए हैन सबै खोताल खातल पारेको छ त । के जनावर कि तस्कर पसे जस्तो छ लु डर मर्दो भो । बुबा डोको त्यतै फालेर आत्तिदै निस्किनु भयो । तल्लाघरका दाइहरुलाई बोलाएर बाँस, डण्डिहरु बोकेर पालिको तलातिर पसे । हाइहुइ गरे घोच्घाच पारे । केटाकेटी जति डरले घर भित्र छिरे । हल्ल खल्ल सकियो सबै निस्के । एकाअर्कामा कुराकानी गर्न थाले ।
खासमा त्यहाँ हामीले खोया, खोसेला मात्रै हैन ठेकिका लागि उत्तम जातको दारको काठका ठुल्ठुला टुना राखेको थियो । हाम्रो घर मुन्तिर पुरेतको खेत थियो । पुरेतहरु माथिल्लो गाउँबाट धाएर खेतिपाति लागाउथे । त्यहा खेतको बिचमा ठुलो दारको रुख थियो । खेतीयोग्य जमिन रुखको सेप पर्यो भनेर त्यही असारमा रुख ढालेर महंगो मानिने काठका टुना हाम्रै पालिमा राखेका थिए । काठ राखेको बारे गाउँमा प्रायलाई थाहा थियो । त्यो रात चोरहरुले ती काठका टुना चोरेर लगेछन् । “हे भगवान ! के दशा आइलाग्यो दशैंको मुखमा । जा साइलछोरी, पुरेतलाई एकछिन तल झर्नु अरे अपर्झट छ रे भन् “, बुबाले बहिनीलाई काठधनीका तिर पठाउनु भयो । वरपर खबर गरियो । बिहान आठ नौं बजे गाउले र काठ धनी भेला भए । मामाका छोराहरू पनि आए । माथ्ला घर आइपुग्दै पुरेतले काठ हराएको खबर पाएछन् । परैबाट पुरेत हामीलाई शत्रु जस्तै हेर्दै आए ।