मखमली सम्झना
…घुमाउथिन् आमाले आफ्नै जीवनको ढिकीमा कुटेर बनाकाे पिठोकाे फन्के रोटी
मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी
धान झुलेर खेतका गह्राहरु
मास पाकेर आलीहरु रमाउदै गर्दा
उसो त बारीका कान्लाहरु,
आगन डिलहरुलाई
हसाइरहेका हुन्थे फुलेका ति सयपत्री, गोदावरी, मखमलीहरुले ।
यतिबेला कता पुगिन् होली भट्याउदै जीवनको भैलेनीहरु?
हो उनीहरुलाई नै पछ्याउन मन छ
त्यही गोरेटोहरुमा
औंशीको रातमा बल्ने ती उज्याला
सलेदो वाला कुपिहरुले बोलाएका दिपावलीमा
फेरी रम्ने मन छ
त्यत्रै भएर, त्यस्तै भएर ।
बलिराजाले पठाएकाहरुले
भट्टाएका देउसिरे,
दिएका आशिष्
त्यही सिकुवामा उभिएर अझै सुन्न मन छ ।
त्यो बेला पटकाहरु पट्काएर जति खुशी हुन्थियौं हामी
यो बेला आफै मनमा बज्ने पटेकाहरुले त्यतिनै दुखाइरहन्छ
हो झिलीमिली छ शहर
यहाँ सधैं साँझहरु श्रींगारिन्छन् दिपावली बनेर
तर ! तिमी छैनौ दाजै
तँ छैनस् भाइ ।
आरोह/अवरोहहरूमा फुल्ने
पुष्प गुच्छाहरुको केही मालाहरु जिन्दगीको धागोमा उनियो
सप्तरंगी इन्द्रेणीहरु खोलातीरमा देखिएजस्तै
भीरमा पनि देखियो
सालुन्ने भाइटिका आइदिन्छ
घुम्दै-घुम्दै
सधैं दिपावली श्रींगारिएको शहरमा
तर ! तिमी छैनौ दाजै
त छैनस् भाइ ।
नटुटोस् जीवनमा उत्साहको सप्तरंगी
नफुटोस् सम्बन्धको धैर्यता ओखर जस्तै
म जहाँ छु त्यहीबाट मखमली सम्झना तिमीहरुलाई
उनिदिएकीछु नओइलिने सयपत्री थुंगाको माला तिमीहरुलाई।
२१ कार्तिक २०७५