युगको नयाँ बिनिर्माण
शताब्दी औं भैसक्यो इतिहाँस ढलेको
ओढेर आफ्नै सभ्यताको खोल
कतिन्जेल सुतिरहन्छौ
ओ आदिम भूइमान्छे हो
उठ अब,गिज्याइरहेको छ
इतिहाँसको पानाहरुले
हिँड्नु छ,
पुर्खाहरुले हिँड्न सिकाएको बाटो
खोज्नु छ,
पुर्खाहरुको मेटिएको इतिहाँस
उभ्याउनु छ,
अस्तित्वको पुर्ण धरहरा
र कोर्नु छ,
युगको नयाँ इतिहाँस ।।
उहिले उहिले
यो धरतीको सृष्टि गरेर
पोरोक्मी याम्फामी
यहीँ फक्ताङलुङको काखमा उत्रिए
र मानवलोकको सृष्टि गरे
त्यो नै थियो मानव सभ्यताको
सबैभन्दा जेठो समाज
तिमी त्यहीँ सभ्यताको
एक टुक्रा अवशेष हौ
र तिमी नै हौ यो ब्रम्हाण्डको
सबैभन्दा जेठो मानिस।
साक्षी छ,
यो मुन्धुमी दर्शन
जो सम्पूर्ण दर्शन भन्दा
कैयौँ गुणा जेठो हो,
आज पनि फेदाङमा,साम्बाहरु
यहीँ मुन्धुम फलाक्छन्
र जीबन जगतलाई सार्थक तुल्याउछन्।
हाक्पारे र पालाम,
यहीँ माटोको आदिम गीत हो।
च्याब्रुङ यहीँ माटोको आदिम धुन हो।
यो बिशाल फक्ताङलुङ,
तिम्रो अस्तित्वको धरोहर हो।
तिम्रो जन्म नै यो माटोको
ढिस्कोबाट भएको थियो
यसर्थ यो भूमिको राजा तिमी नै थियौ।
धेरै बर्ष पहिले अचानक
एउटा मानिस आईपुग्यो तिम्रो दरबारमा
र तिमी बिरुद्द घोषणा गर्यो भयानक युद्ध
तिमीले उसको प्रतिकार गरीरह्यौ
उ कैयौँपटक पराजित भैरह्यो
अन्तत उसले आत्मसमर्पण गर्यो
र तिमीलाई एउटा उपहार(लालमोहर)छाडीगयो
त्यो नै थियो तिम्रो ईतिहाँसको सबैभन्दा कालो दिन
त्यहीँ दिन,
तिम्रो सभ्यता अस्तित्वहीन भयो
त्यही दिन,
फक्ताङलुङको माङगेन्ना ढल्यो
त्यहीँ दिन,
तिम्रो दरबार गर्ल्याम्म ढल्यो
त्यहीँ दिन,
तिम्रो भाषा लिपि सँस्कृति नै जलाईयो
त्यहीँ दिन,
तिम्रो चोत्लुङ नै गर्ल्याम्म ढल्यो
र त तिमी जुगौंजुग देखि सुतिरहेछौ।।
ठीक यतिबेला
देशमा युद्धको आगो बलिरहेको छ
शताब्दीऔँ देखि गुमनाम अनुहारहरु
अस्तित्वको पूर्ण दाबी सहित
खोजिरहेछन् आफ्नो सकली अनुहार
र भनिरहेछन्- म पनि हुँ यो देशको नागरिक,
तर शिंहदरबारले प्रतिउतरमा भनिरहेछ-
बिद्रोही,बिखण्डनकारी,आतंककारी
र गरीरहेछ बिभत्स नरसंहार
आदिम भूँईमानिसहरुको।
आउ नाम्सामी,
सेक्मुरी फूल लिएर हातमा
र रक्षा गर तिम्रो जिजीबिसाहरुको
आउ शिरीजङगाहाङ,
अमुर्त लोकमा ज्ञानको ज्योति बालिदेऊ
ताकि नरसंहार होईन
यहाँ बिचारको युद्ध लडियोस।
आउ लेप्मुहाङ,
यो क्रुर युद्धको महासागरबाट
तिम्रो सन्ततिहरुको उद्दार गरिदेऊ।
आउ हिलिहाङ,
यो महायुद्ध परास्त गरेर
पुन यौटा शत्तिशाली दरबार उभ्याइदेउ।।