एउटा सुगाको कथा
एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर, उसलाई नियम–कानुनबारे पटक्कै थाहा थिएन ।
एकदिन राजाले सोचे— यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ ।
मन्त्रीलाई बोलाए र आदेश दिए, “यस सुगालाई पढाउने व्यवस्था गर ।”
पण्डितहरूको सभा बोलाइयो । गम्भीर विचारविमर्श गरियो । र, यो जीवको मूर्खताको कारण के हो भन्ने विषयमा धेरै दिनसम्म मगज खियाइयो । लामो वादविवादपछि एउटा निष्कर्ष निकालियो— यो सुगाले आफ्नो गुँड सामान्य झारपात र छेस्काहरूले बनाउने भएकाले यो श्रेष्ठ विद्याको वातावरणबाट वञ्चित रहनुपरेको छ । त्यसैले यसको लागि एउटा सुन्दर आवास बनाउनुपर्छ । यसका लागि सुनको पिँजडा व्यवस्था गर्नु आवश्यक छ ।
सभा बिसर्जनपछि पण्डितहरूलाई समुचित सम्मान दिइयो, मोटो रकम दक्षिणाको रूपमा दिइयो । उनीहरू प्रशन्न भएर आ–आफ्नो घरतिर गए ।
अनि सुगालाई शिक्षित गर्ने दायित्व राजाका भाञ्जालाई सुम्पियो ।
सुनारलाई सुनको पिँजडा बनाउन राजाको आदेश पठाइयो । महिनादिनभित्रै उनले एउटा अत्यन्त सुन्दर पिँजडा बनाए । पिँजडा यति अनौठो र भव्य थियो कि त्यसको बयान गरी साध्य छैन । त्यो पिँजडाको प्रसिद्धि देश–विदेशमा फैलियो । त्यो पिँजडा हेर्न मानिसहरूको ओइरो लाग्यो ।
कसैले भन्यो, “लौ, अब शिक्षाको अन्त्य भो !”
अर्को कसैले भन्यो, “राजाको हुकुम हो, सानोतिनो कुरा हो र ?”
यो सुगाको भाग्यै बलियो रहेछ । पढोस्÷नपढोस्, बस्न त सुनकै पिँजडा पाउने भयो । सुनारले पनि प्रशस्तै पैसा पायो । ऊ राजाको जयजयकार गर्दै घरतिर लाग्यो ।
त्यसपछि शुरु भयो, सुगाको पढाइ । पण्डितजी उसलाई विद्या दिन थाले । उनले जोडजोडले नस ताने अनि फर्माइस गरे, “यस्ता थोत्रा–पुराना पुस्तकहरूबाट यति महान् काम हुन सक्दैन ।”
राजाका भाञ्जाले तत्कालै नयाँ पुस्तक लेख्ने विद्वानहरूलाई बोलाउन पठाए । तुरुन्तातुरुन्तै एकसेएक नयाँ पुस्तकहरूको थुप्रो लाग्यो । हेर्नेहरूले टिप्पणी गरे, “आम्मै ! विद्याको यत्रो पहाड कहाँ अटाउला र ?”
पुस्तक लेख्ने विद्वानहरूले पनि ठूलै इनाम पाए । ती सबै इनामहरू उनीहरूले गोरुगाडामा खाँदाखाँद भरेर घर लगे । त्यसपछि त उनीहरूका गरिबी र अभावका दिनहरू पनि सकिए ।
राजाका भाञ्जाको त कुरै छोडौं, उनी अति व्यस्त थिए । अत्यन्त मूल्यवान पिँजडाको रेखदेख गर्दैमा उनलाई फुर्सद हुँदैनथ्यो । कहिले पालिस लाउने, कहिले पुछपाछ गर्ने, कहिले यताउति मर्मत गर्ने काम पनि आइपथ्र्यो । ज–जसले यस्तो देख्थे, उनीहरू प्वाक्क भनिहाल्थे, “लौ, उन्नतिको काम शिखरमा पुगेको छ ।”
कामको चाप थुप्रै बढ्यो । त्यसैले अनेकथरी कामदारहरूको खाँचो प¥यो । तीमध्ये केहीलाई काममा लगाइयो, केहीलाई काम गर्नेहरूको काममाथि निरीक्षण गर्नका लागि खटाइयो । र, केहीलाई चाहिँ यी सबै कामहरूको रेखदेख र सेवा सुश्रुषाका लागि राखियो ।
अझ मजाको कुरो त के छ भने उनीहरू सबैले मोटो रकम तलबको रूपमा लिएर आ–आफ्नो सन्दुस भर्नतिर लागे । राजाको भाञ्जाका दाइ, भान्दाइ, दिदी, भान्जीदिदी, काका–भतिजा, फुपू–फुपाजु आदिइत्यादि खाँदाखाँदा सुँगुरझैं मोटाघाटा भए । अनि उनीहरू ठूलाठूला बैठक कोठाहरूमा मोटा, बाक्ला र नरम डसनाहरू बिछ्याएर आरामसँग बस्न थाले ।
संसारमा अनेक वस्तुको अभाव भए पनि निन्दा गर्नेहरूको भने कुनै कमी छैन । त्यस्तो व्यक्ति एकजना खोज्दा हजार जना भेटिन्छन् । त्यस्ता निन्दकहरूले आफ्नो काम थाले, “पिँजडाको त ठूलै उन्नति भइरहेको छ तर विचरा सुगाको चाहिँ सन्चो–विसन्चो बुझ्नेसमेत कोही छैन ।”
यो कुरा उड्दैउड्दै राजाको कानसम्म पुग्यो । उनले भाञ्जालाई शाही फर्मान जारी गरेर तुरुन्तै बोलाए र भने, “मैले के सुन्नु परिरहेको छ ? के हो वास्तविकता ?”
भाञ्जाले जवाफ दिए, “वास्तविकता बुझ्न चाहिबक्सिन्छ भने सुनारहरूलाई बोलाइस्योस्, पण्डितहरूलाई बोलाइस्योस् र पुस्तक लेखकहरूलाई बोलाइस्योस् । रेखदेख गर्ने र मर्मतसम्भार गर्नेहरूलाई बोलाइस्योस् । सत्य कुरो के हो भने निन्दकहरूलाई लाभको अंशियार नबनाइएकोले उनीहरूले बिनासित्ति चारैतिर भाँजो हाल्दै हिँडेका छन् ।”
राजा त राजै थिए । उनी आफ्नो भाञ्जाको शब्दजालबाट सम्मोहित भए । उनको घाँटीमा बहुमूल्य सुनको हार पहि¥याइयो किनभने उनले राजालाई सबै कुरा छर्लंगै पारेर बुझाइदिएका थिए ।
एकदिन राजाको मनमा सुगालाई दिइएको शिक्षाको सबै प्रक्रिया आफ्नै आँखाले हेरेर उन्नतिको रफ्तारसँग परिचित हुने चाह उब्जियो । त्यसैले उनी एकाएक आफ्ना दलबलसहित शिक्षास्थलको भ्रमणमा निस्के । राजाको सवारीको मौकामा उनका हुक्के, छाते, मन्त्री र मित्रहरूको लावालस्करले गर्दा वातावरण नै झकिझकाऊ भयो ।
राजाको सवारीको खबर सुन्नेबित्तिकै मूलद्वारमा शंख, घण्ट, नगरा, नर्सिंगा, सनही, मृदंग, मुर्चुंगा, मुरली र करतालजस्ता बाजागाजाहरू आफसेआफ बज्न थाले । पण्डितहरूले गला नै सुक्ने हदसम्म चिच्याई–चिच्याई स्वस्ति गर्न थाले र लामालामा टुप्पी हल्लाईहल्लाई मन्त्र पाठ गर्न थाले ।
काममा डुबेर लागिपरेका कालीगढहरू, उनीहरूको निरीक्षण र रेखदेख गर्नेहरू, उनीहरूमाथि पनि रेखदेख गर्नेहरू तथा उनीहरूका पनि मामा, काका, भाइ–भाञ्जा र भतिजाहरूले सबै राजाको जयजयकार गर्न लागे ।
भाञ्जाले गर्वसाथ भने, “राम्ररी हेरिस्योस् महाराज, आफ्नै आँखाबाट सबै कुरा दर्शन गरिस्योस् ।”
राजाले भने, “ओहो ! कति आश्चर्य ! तर सर्वत्र शब्द नै शब्द मात्रै भइरहेको छ ।”
भाञ्जाले तत्काल जवाफ दिए, “अर्थ पनि कम भइरहेको छैन नि महाराज । हजुर हेरीमात्रै बक्स्योस् न !”
प्रसन्नचित्त राजा महलतिर फर्कन लागे । हात्तीमाथि सवार भई उनी हिँड्नमात्रै के लागेका थिए, नजिकैको झाडीमा लुकेर बसेका निन्दकले भने, “महाराज, आफ्नो सुगालाई पनि दर्शनभेट दिएर गइस्योस् न ।”
राजा एकछिन झस्के, भीडतिर फर्किए अनि असजिलो मान्दै भने, “ए साँच्चै, सुगालाई हेर्न त झन्डै भुलेको ।”
राजालाई पण्डितकहाँ लगियो । उनले पढाउने तरिका जान्न खोजे । उनलाई सबै कुरा प्रष्टै देखाइयो । राजा खुशीले गदगद भए । सुगा तुच्छ अस्तित्वको तुलनामा उसलाई पढाइने तरिका कति महान्, प्रक्रिया पनि कति विशिष्ट । त्यसैले त्यस्ता महान् तरिका र विशिष्ट प्रक्रियाका अगाडि सुगाको अस्तित्व कहीँकतै देखिएन, कहाँ हरायो कहाँ । साँच्चै भन्ने हो भने राजाले सुगालाई हेर्नुपर्ने जरुरत नै ठानेनन् । उनले राम्ररी बुझे— पढाउने व्यवस्थामा कहीँकतै पनि त्रुटि छैन ।
तर, पिँजडामा भने सुगाको निम्ति दानापानी थिएन । त्यहाँ केवल शिक्षाको महाड, केल चाङका चाङ पुस्तकहरूको शिखरमात्रै थियो । पुस्तकका सबै पाना च्यातेर कलमको टुँडोले सुगाको मुखमा कोच्ने काम गरिन्थ्यो । दानापानीको सट्टा किताबकै अक्षरहरू जबर्जस्ती कोचीकोची खुवाइन्थ्यो । त्यसैले उसको गाउने सीप दुई–चार दिनमै हटिसकेको थियो । उसको मुख किताबका पन्नाहरूले बुजो लगाइएको थियो । त्यसैले ऊ रुन, कराउन र चिच्याउनसमेत नसक्ने भएको थियो । उसको स्थिति हेर्दा देख्नेहरूको जिउ नै सिरिंग हुन्थ्यो ।
राजाले हुकुम दिए, “निन्दकको जिब्रो र कान काटियोस् ।”
यस्तो कुलीन शिक्षा व्यवस्थामा निरीह सुगा दिनदिनै मरणासन्न हुँदै गयो । यति हुँदाहुँदै पनि पक्षीसुलभ स्वभावको सहजता सुगामा अझै बाँकी नै थियो । बिहान हुन नपाउँदै ऊ घामका किरणहरू एकटकले टोलाएर हेरिरहन्थ्यो र परिवेशविरुद्ध प्रतिवाद गर्ने ढंगले आफ्ना पखेटाहरू फ्याटफ्याट चलाइरहन्थ्यो । यतिमात्रै होइन, कहिलेकाहीँ त केसम्म देखियो भने ऊ आफ्नो निर्बल भइसकेको रोगग्रस्त चुच्चोले पिँजडाका डन्डीहरू काट्ने काममा जुटिरहेको हुन्थ्यो ।
उसको यस्तो अशिष्ट चरित्र प्रहरीका हाकिमलाई पटक्कै सह्य भएन । उर्दी दिए, “लोहारलाई तुरुन्तै यहाँ हाजिर गर ।”
लोहार आफ्नो सम्पूर्ण सरसामानसहित तुरुन्त उपस्थित भयो । दनदनी आगो बालियो, फला तताइयो र भकाभक पिट्न थालियो र छिटै एउटा बलियो साङ्लो तयार पारियो । र, साङ्लोद्वारा बाँधिएपछि सुगाका पखेटाहरू पनि मुठारियो । राजाका आसेपासेहरूले तुरुन्तै अँध्यारो मुख लाएर रिस पोखिहाले, “यो राज्यका चराचुरुंगीहरू मूर्खमात्रै हाइन रहेछन्, नुनको सोझो नगर्ने हराम पनि रहेछन् ।”
त्यसपछि पण्डितहरूले एक हातमा कलम र अर्को हातमा भाला लिएर जुन कर्मकाण्ड शुरु गरे, त्यसलाई उनीहरूले शिक्षा भने ।
लोहारको कलालाई सबैले मुरीमुरी प्रशंसा गरे । लोकारकी पत्नीको शरीर स्वयं–आभूषणहरूले सुशोभित गरियो । अनि प्रहरीका हाकिमको कुशलताको निम्ति उनलाई पनि शिरोमणि पुरस्कारले सुशोभित गरियो ।
अन्ततः सुगाको मृत्यु भयो । ऊ कुन दिन कसरी म¥यो, कसैलाई केही पनि थाहापत्तो भएन । बदमास निन्दकहरूले नै उसको मृत्युको हल्ला चारैतिर फैलाइदिए । राजाले फेरि एकपटक भाञ्जालाई बोलाउन पठाए । महलमा आउनासाथ राजाले सोधे, “फेरि के यस्तो अशुभ खबर सुन्नुपरेको भाञ्जा ?”
भाञ्जाले सहज रूपमा जवाफ दिए, “महाराज, साँच्चै भन्ने हो भने सुगाको शिक्षा–दिक्षा पूरा भएको खबर हो यो ।”
राजाले फेरि सोधे, “ऊ अहिले पनि पहिलेजस्तै उफ्रीउफ्री हाँगाहाँगा चहार्छ कि चहार्दैन ?”
भाञ्जाले भने, “अहँ, त्यसको त नामै नलिस्योस् ।”
“अहिले पनि भुर्रर्र भुर्रर्र उड्ने गर्छ कि नाइ ?”
“पटक्कै गर्दैन ।”
“गीतसीत गाउँछ कि नाइ ?”
‘अहँ, गाउँदैन ।”
“खान–पिउन नपाएपछि चिच्याउँछ कि नाइ ?”
“चिच्याउँदैन महाराज ।”
राजाले भने, “त्यसो भए म एकपटक सुगालाई हेर्न चाहन्छु, भाञ्जा । उसलाई मेरोसामु पेश गर ।”
त्यसपछि मृत सुगालाई महलमा ल्याइयो । ऊसँगै आए प्रहरीका हाकिम, प्रहरीहरू र घोडचढीहरूसहितको फौज ।
राजाले सुगालाई हातमा लिएर यसो थिचेर हेरे तर उसले चाइँचुइँसम्म गरेन । हो, त्यतिखेर उसको सिंगो पेट पुस्तकका सुख्खा पानाहरूले भरिएको देखियो । जब राजाले सुगालाई हल्लाएर हेरे, हिँडडुल गराएर पनि हेरे, तब सुख्खा पातहरूको खस्य्राकखुस्रुक आवाजमात्रै आयो ।
त्यतिखेर बाहिर भने वसन्तलाई स्वागत गर्न दक्षिणतिरबाट बग्ने हावाले आफ्नो पछ्यौरा फैलाइरहेको थियो । नयाँ पालुवाले वन रंगीन देखिन्थ्यो ।