किरात याक्थुङ चुम्लुङ बुसान शाखाले साँस्कृतिक चासोक तङ्नाम मनाउने
याक्थुङ (लिम्बू )हरुको मौलिक पर्व चासोक तङ्नाम किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर २३ आइतबार किम्हेको मुन्ह्वावन ( साँस्कृतिक संग्रहालय )को हलमा मनाउने भएको छ ।
याथुङ मुन्धुमी मिथक अनुसार आदिम कालमा याक्थुङ सावायेत्हाङ (आदिम मानव) हरु आफ्नो जीवन धान्नका लागि कन्दमूल काँचै खाएर जीवन यापन गर्ने गर्दथे । फलस्वरूप विभिन्न रोगका सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन सावायेत्हाङहरूले सर्वशक्तिमान तागेरा निङ्वा फू माङ मार्फत प्राकृतिको पुजा गरे । यसबाट प्रकृति खुसी भएर कोदो, जुनेलो, धान, घैँया आदि वीउबिजन सावायेत्हाङहरूलाई प्राप्त भयो । यसरी प्राप्त भएको वीउविजनलाई तिनै सावायेत्हाङहरूको एकमात्र चेली सिवेरा याबुङकेक्माले काठको खन्ती (खन्ने औजार) बनाई जङ्गल फाँडेर छरि फुलाउन फलाउन सुरू गरे । फलेको अन्न चाक्कालुङ (एक प्रकारको सेतो कडा ढुङ्गा) बाट आगो पारेर पकाएर आफ्ना माईतीहरूलाई खान दिए यसबाट सावायेत्हाङहरू कुपोषण र रोगव्यादिबाट मुक्त भए । यसरी आफ्नो चेलीको बौद्धिक क्षमताबाट खुसी भई प्रकृति पछिको अर्को देवता चेलीलाई मानी हरेक बर्ष बाली पाकेपछि प्रकृति र चेलीलाई चढाएर मात्र आफुले खाने बाचा सावायेत्हाङहरुले गरेको जनविश्वास याक्थुङ सामुदाय मा छ । त्यहि परम्परा अनुसार आजसम्म पनि लिम्बूहरुले नयाँ अन्न बाली भित्राउदा आफ्नो चेलीलाई अन्नको पेवा दिने चलन छ ।
लिम्बु भाषामा चा भन्नले अन्न बाली र सोक चढाउनु वा खानु भन्ने हाुन्छ । तङ्नाम पर्व वा उत्सव अर्थात नयाँ अन्न बाली को न्वागि खाने दिन भन्ने बुझिन्छ । नेपाल प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सुसज्जित मुलुक भएकोले नेपाली समाज बहुजाती, बहु (भाषिक, बहुधार्मिक, एवं बहुसाँस्कृतिक विविधताले युक्त विशुद्ध समाज छ । प्रजातन्त्र पुनस्थापना, निरंकुश राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै मुलुकले धर्म निरपेक्षता सिद्धान्त अंगिकार गरे संगै राज्यको मुलधारले अवलम्बन गरेको भाषा धर्म संस्कृति भन्दा फरक भाषा धर्म संस्कृति भएका कैयौं आदिवासी जनजाती एवम् सीमान्तकृत सामुदायमा साँस्कृतिक चेतनाको उठान भए संगै पछिल्लो समय आदिवासी सौन्दर्यका साँस्कृतिक पर्वहरु मनाउन थालिएका छन । नेपाल सरकारले २०५८ साल देखि चासोक तङ्नामलाई राष्ट्रिय चाड मान्दै सार्वजनिक विदा दिदै आइरहे पनि पछिल्लो लोकतान्त्रिक सरकारले विदा कटौती गरे संगै लोकतन्त्र राज्यले सांस्कृतिक नजरबन्देज त गरेको होइन भन्ने आम आदिवासी जनजाति एवं सीमान्तकृत सामुदाय मा एउटा् प्रश्न चिन्ह खडा भएको छ ।
यद्यपि राज्यको निति लाई खबरदारी गर्ने जिम्मेवारी त जनता कै हो र नेपाली मौलिक भाषा, धर्म, संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने तथा सांस्कृतिक चेतनाको उजागर गर्ने जिम्मेवारी पनि सम्बन्धित सामुदाय कै भएकोले देश बिदेश जता रहे पनि आफ्नो संस्कार संस्कृतिको माया गर्नुपर्ने किराँत याक्थुङ चुम्लुङ बुसान साखाका अध्यक्ष किरण कन्दङ्वा छ । प्रवासमा चाड पर्व मनाउनु को औचित्य के ? भन्ने प्रश्नमा उनले भने देश विदेश जता रहे पनि आफ्नो जातित्व र संस्कार संस्कृति बिर्सनु हुदैन । उनले कार्यक्रम बारे जानकारी दिदै भने ‘हामीले विगत एक दशक देखि नियमितरूपमा हरेक साल यो पर्व मनाउदै आइरहेका छौँ तर यसपालि बृहत् कार्यक्रमको आयोजना गरेका छौँ । यो हाम्रो संस्कार संस्कृति अरुलाइ चिनाउने अवसर पनि हो । अरु को पनि चिन्ने अवसर भएकोले यसपालि बुसान आसपास क्षेत्रमा रहेका आम नेपाली सांस्कृतिक समुहहरु लाई सहभागी गराएर मनाउन गइरहेका छौ ।’
यसैगरी कार्यक्रमको तयारीका बारेमा जानकारी दिदै किराँत यायोख्खा बुशानका सचिव चिन्तित कन्दङ्वाले नेपालबाट ख्यातिप्राप्त दुई जना मुन्धुमी कलाकार ल्याउने प्रक्रिया सुरु भैसकेको जनाए । ‘कार्यक्रममा याक्थुङ मौलिक संस्कृतिका, केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) येबा लाङ ( विजुवा नाच) प्रदर्सन हुनेछ । नेपालबाट आएका र स्थानीय कलाकारको साथमा याक्थुङ मौलिक साम्लो (गीत) पालाम, ख्याली, हाक्पारे पनि प्रस्तुत गरिनेछ ।’ स्थानीय अन्य आदिवासी साँस्कृतिक नाचहरु समावेश गरिने र कार्यक्रममा लिम्बुको मौलिक परिकारको पनि खाना पाइने उनले बताए ।