कोरियाको आइतबार
आज आइतबार । विहानको ६ बज्दैछ । यति बिहानै निद्राले छोडिसक्यो । कामको दिन अर्लामले पनि उठाउन सक्दैन मलाई । निन्द्रा यस्तो लाग्छ एक मिनेट सुत्दा पनि खुब मज्जा आउँछ । अब काममै ढिला हुन्छ भन्ने भए पछि बल्लतल्ल उठ्छु । आफै आफ्नो मनलाई सान्त्वना दिन्छु धेरै छैन केटी यस्तो जिन्दगी जीउन । यत्रो वर्ष त कटाइस अव ८ महिना त हो । त्यस पछि जिन्दगी भरि नै आफुखुशी उठ्ने । आफुखुशी सुत्ने । क्या रमाइलो ।
निन्द्रा नै नलागे पछि उठ्नै पर्यो । सिरानीसँगै चार्ज गरिराखेको मोबाइल छ । यसो तन्कियो । मोबाइल खोल्यो । फेसबुक हेर्यो । थरि थरि मान्छेका थरि थरि स्टाटस छन् । कतै रमाइलो छ कतै नरमाइलो ।
फेसबुकमै न्युज हुन्छ । बाँकि रहेको अलि अलि निद्रा पनि भगाउछ । न्युज के हेर्नु छ । उही डोनाल्ट ट्रम्प । उही पुटिन् । देशका हालत उस्तै । कहिले कुन नेता कति करोड खर्च गरेर उपचार गर्न विदेश गयो कहिले सर्वहारामुक्तिको लागि हिडेकी भन्ने राष्ट्रिपतिका लागि १८ करोडका गाडी । टाउकै घुमाउँछ ।
फेसबुकबाटै कता के गर्दैछन् भन्ने पनि थाहा हुन्छ । अरु देशमा मिटु अभियानले ठूला ठूला मै हुँ भन्ने मान्छेका असली अनुहार कस्तो हुन्छ देखाइ दियो । छिमेकी देशमा पनि फिल्म र राजनीतिका एक से एक नेता अभिनेताका नाम आए । हाम्रोमा फिटिक्कै कसैले केही बोलेनन् । शायद बोल्नै सकेनन् कि ? अब नेपालीले यौनका कुरा गर्न लजाएर होला नेपालीमै सुरु गरे छन् म पनि । मीटुले नछोएको नेपालीलाई म पनि ले साह्रै छोएछ कि ? फेसबुकका साथीहरुको स्टाटस भरि म पनि अभियान रे । लौ भ्रष्टचारीलाई किरा परोस् भन्दा त न लजाउने हाम्रो भ्रष्टहरु म पनि ले छुन्छ र ? खोई ।
एक घन्टा बढि भैसकेछ मोबाइल हेरेको हेर्यै । आँखै दुख्न लागे पछि बन्द गर्ने पर्यो । अब चिया बनाउदै छु । विदाको दिन चिया पिउनुको मज्जा अर्कै छ । अरु बेला भ्याए पो । कागजको कपमा तातो पानी खन्यायो । स्टीक कफी घोल्यो खायो । हतैमा कप बोकेर हतार हतार दौडियो कम्पनीतिर ।
चिया पिउदै बसको समय तालिका हेर्छौ । सउलको दोङदेमुन पो जानु छ हामीलाई । संघ संस्थामा लागिएको छ आजकाल । कहिले कता कहिले कता गैरहनु पर्छ हप्तैपिच्छे । कहिले मिटिङ, कहिले कार्यक्रम । दिन भरि तालि बजायो । भाषण सुन्यो । साँझ फर्कने बेला जहिले ढिलो हुने । आफ्नै लागि काम नगरेको धेरै भो । केही राम्रो गरौ भन्ने लागि रहन्छ तर गर्न सकिएको छैन ।
लौ यसरी त कति जानु हो । होस् अब नजाने भनेर कोठैमा बसेकाे साथीकाे फोन अायाे । साथीकै कार्यक्रम परेछ । रिसायाे । पालोको पैचौ पो अरे । रिसाएर कुराकानी बन्द । सकिएन । कामले व्यस्त छु । फकाउन पनि पाएको छैन ।
नेपालमा कलंकीमा बस्थ्यौ हामी । बुढाबुढीका लागि एउट फल्याट थियो । दुइवटा कोठा संगै जोडिएको किचन अनि टवाइलेट । शनिबार घरको काम गर्दै वित्थ्यो । हप्ताभरिको लुगा धुनु, कोठाहरु सरसफाई गर्नु । कोठामा झाडु पोछा, टवाइलेटको सरसफाई त तिमीले नि गर्नसक्छौ नि ? बुढासँग रिस पोख्थे ।
कोरियामा एउटा कोठा छ । संसार नै यही कोठामा छ । कोठामै जोडिएको किचन छ, संगै बाथरुम छ । कोठाको एउटा कुनामा दराज छ, अर्को कुनामा टिभी छ । सानो टेबल छ, टेबुल माथि ल्यापटप छ । कोठाको एका तिर स्लाइड गर्न सकिन्छ । त्यतै छ लुगा धुने वासिंग मेशिन । नेपालबाट ल्याएको यतै किनेको शुटकेश छ त्यतै लहरै राखेको छु ।
नेपाल जादा काम लाग्न सक्छ कि ? सोच्दैछु । घर नै यही एउटा कोठा हो । कोठा नै यही घर हो । यही एउटा कोठाको लागि कैयौ पटक कोठा खोजी दिने दले फुदोङसानको धाउनु परेको परेको थियो । कतै महंगो, कतै पायक पर्ने ठाउमा नहुने । बल्ल तल्ल कोठा भेटायौ । कोठाभाडा ३ लाख ५० हजार वन, विजुली, पानी, ग्यासको छुटै तिर्नुपर्ने । अनि एडभान्समा ३५ लाख कोरियन वन बुझाउनुपर्ने भयो । तिरियो । बस्नै परे पछि के गर्नु ? कोरियाको घर ।
एउटा कोठा सफा गर्न कति लाग्छ र समय ? कुचो लगायो । पुछपाछ गर्यो । सकिन्छ पन्ध्र मिनेटमा । बुढासंग कोठा सफा गरेन भनेर रिसाउनै परेन । नेपालमा जस्तो धुलो धुँवाले लुगा मैलिएको पनि हुन्न । त्यसैले मान्छेहरु भन्छन् होला विदेशमै रमाइलो । आइतबार कतै नगए नेपाली दालभात तरकारी मज्जाले खान्छु । अनि फिल्म डाउनलोड गर्दै हेर्दै बस्छु । दिन यसरी वित्छ आइतबार । बेलुकी भोलिबाट काममा जानु त छदैछ । मनमा अमिलो हुन्छ ।