आशान्वित बाटोहरु
उन्माद वयस्क फूलहरु
घुट्क पिऊछ प्रेमरस झुम्म
अझै अनेकन जहरको कोक्टेल पिएर
कुर्नु छ तिमीलाई
उहि एक अविच्छिन्न दिन सम्म
प्रतिक्षाले
थाक्दै नथाक्ने आँखाहरु छन् मसँग
अनगिन्ति दिनहरु टोलाएर
पर्खि रहने छु
लुक्दै म एउटा अवैध प्रेमी
अनेकौं वृक्षको हाँगा हाँगामा
लम्काएर हात
कुनै दिन चुडाएर दिन सकु सुनखरी फुलहरु
भर्लाको लहरामा
जोडि पंछि जस्तै पिङ खेल्दै खेल्दै
खोई कुन दिन ?
बतास सँग जिस्किने वयस्क पातहरु देखाएर
दुई चार वचन
जिस्क्याउन सकु तिमीलाई
हो !
रिसिफ म प्रतिक्षा हुँ
आशान्वित नजरले
मेरै पुरानो बस्तीको चप्लेटी टुड्गाबाट
हेर्दै छु
तिम्रो आधुनिक शहरसम्म जोडिएको बाटोहरु ।