तीन लधु कथा
(१) व्यापारी
एक व्यक्तिले जीवनभर कपडाको व्यापार गर्याे र ऊ सफल पनि भयो । ऊ ७८ वर्षको भइसकेको थियो । उसका दुवै छोराले कारोबार राम्रैगरी सम्हालिरहेका थिए तर ऊ जहिले पनि पसल आएर सबै कुरामा हस्तक्षेप गरिरहन्थ्यो । उसलाई अझै नाफा कमाउने लालसा थियो ।बुवाको व्यवहारबाट आजित भएपछि छोराहरूले पारिवारिक पण्डितलाई बोलाएर आग्रह गरे, “धेरै पैसा कमाउने लोभबाट बुवा बिरामीजस्तो हुनुभयो । उहाँलाई वर्षभरि तीर्थ घुमाउन लैजानुप¥यो तपाईंले । कमसेकम उहाँको ध्यान धनसम्पत्तिबाट हटेर पूजापाठमा त लाग्थ्यो ।”
पण्डित सहमत भयो । दुवै तीर्थयात्रामा हिँडे । एक वर्षसम्म उनीहरू बद्रनाथ, केदारनाथलगायत भारतका सबैजसो तीर्थस्थल घुमे । तर, यति धेरै धर्मपीठको यात्रा गर्दा पनि बूढोको मनबाट धनसम्पत्तिको लोभ हटेन । निराश भएर पण्डितले उसलाई वाराणसीको ठूलो घाटमा लिएर गयो ।
अचानक पण्डितले बूढोमा परिवर्तन देख्यो । उसको अनुहारमा खुशीको आभा देखियो । आँखा सूर्यजस्तै चम्किला भए । उसको शारीरिक भाषा एकदमै बदलियो । खुशी भएर उसले पण्डितलाई भन्यो, “तपाईंले मलाई पहिल्यै किन यो ठाउँमा ल्याउनुभएन ? अहिले बल्ल तपाईंले मेरो आँखा खोलिदिनुभयो । सारा जीवन मैले कपडाको व्यापारमा लगाएँ । आज बल्ल थाहा पाएँ कि म गलत रहेछु । मैले त काठको व्यापार पो गर्नुपर्ने रहेछ । हेर्नुस् त यहाँ काठको माग कति रहेछ । अहिलेसम्म मैले कति नाफा कमाउन सक्थें होला, सोच्नुस् त !”
पण्डित टाउकोमा हात लगाएर थचक्क भुइँमा बस्यो ।
(२) कानुन
चार साथीहरू मिलेर कपासको कारोबार गर्थे । उत्पादन भएको कपास उनीहरूले ठूलो गोदाममा राख्थे । तर, त्यहाँ मुसाहरूले उनीहरूलाई साह्रै तनाव दिइरहेका थिए । यसले उनीहरूलाई ठूलै आर्थिक क्षति भइरहेको थियो । वाक्क भएर उनीहरूले बिरालो पाले ।
बिरालो आएपछि मुसाको बिल्लिबाठ भयो । भएभरका मुसा सखाप भए । त्यसपछि बिरालो चारै साथीको प्रिय बन्यो ।
चारै साथीले एकदिन ठट्टामा सल्लाह गरे— बिरालोका चार वटै खुट्टा आपसमा बाँड्ने । त्यसपछि उनीहरूले आ–आफ्नो भागमा परेका खुट्टामा सुनको पाउजु लगाइदिए । बिरालोले पाउजुको आवाज निकाल्दै यताउता दगुर्न थाल्यो ।
एकदिन बिरालोको एउटा खुट्टामा चोट लाग्यो । ऊ खोच्याएर हिँड्न थाल्यो । जुन साथीको भागमा चोट लागेको खुट्टा परेको थियो, त्यसा उसले पट्टी बाँधिदियो । तर, बिरालो यताउता कुदिरहँदा पट्टी खुकुलो हुँदै गयो । खुकुलो हुँदै गाँठो पनि फुस्कियो र जमिनमा लत्रिन थाल्यो ।
एकदिन साँझ चारै साथीहरूले गोदाममा पूजा गरिरहेका थिए । त्यत्ति नै बेला बिरालोले माथिबाट हामफाल्यो । उसको खुट्टाको पट्टीले दियोमा छोयो र सल्किन लाग्यो । ऊ पोलेर छट्पटिँदै यताउता दौडिँदा आगोले कपास टिप्यो । एकैछिनमा कपासको रास दन्किन थाल्यो । हेर्दाहेर्दै गोदाम खरानी भयो ।
यो दुर्घटनाबाट विचलित साथीहरूले एक–अर्कालाई दोष दिँदै झगडा गर्न थाले । कुरा यहाँसम्म पुग्यो कि बिरालोको जुन खुट्टामा पट्टी बाँधिएको थियो, त्यो खुट्टाको मालिकले बाँकी तीन जनालाई क्षतिपूर्ति दिनुपर्छ । किनकि त्यही खुट्टाको पट्टीका कारण आगो फैलिएको थियो ।
झगडाले चर्को रूप लिन थालेपछि उनीहरू अदालत पुगे । न्यायाधीशले दुवै पक्षका कुरा सुनेर फैसला गरे, “यो साँचो हो कि बिरालोको घाइते खुट्टामा बाँधिएको पट्टीका कारण आगो लागेको हो । तर, बिरालोले यो आगो फैलाउन बाँकी तीन सद्धे खुट्टाले साथ दिएका छन् । यसमा अरु तीन वटा खुट्टाको दोष छ । त्यसैले यी तीन वटै खुट्टाका मालिकले घाइते खुट्टाका मालिकलाई क्षतिपूर्ति दिनुपर्छ ।”
(३) योजना
एउटा सिंहलाई जालमा फसाएर बन्धक बनाइयो । उसलाई तारले बारिएको एउटा ठूलो घेराभित्र लगेर छाडियो, जहाँ ऊजस्तै अरु थुप्रै सिंह कैद थिए ।
उसले देख्यो— अरु सबै सिंहहरू आफसमा झगडा गरिरहेका छन् । कोही आहाराका लागि, कोही आफ्नो क्षेत्रका लागि । कतिपय स–साना कुरामा पनि उनीहरू झगडा गरिरहेका थिए । कोही उँघिरहेका थिए, कोही बिनाकाम यताउता चक्कर लगाइरहेका थिए । त्यो ठूलो घेराबाट बाहिर निस्किन कोही सक्दैनथे ।
यी सबबाट बेखबर एउटा सिंह सबैभन्दा कुनातिर एक्लै शान्त बसिरहेको थियो । बडो ध्यान दिएर उसले आफू कैद घेरा र वरपर हेरिरहन्थ्यो । नवआगन्तुक सिंह ऊछेउ गएर सोध्यो, “तिमी किन अरुबाट छुट्टिएर एक्लै बसिरहेका छौ ?”
“म लामो समयदेखि यो ठूलो घेरा तोडेर भाग्दा आइपर्ने समस्याबारे सोचिरहेको छु । आजमात्रै म त्यसमा सफल भएको छु,” उसले नवआगन्तुकलाई भन्यो ।
अर्को दिन नवआगन्तुक सिंहले चाल पायो— त्यो सिंह त्यहाँ थिएन ।