टेम्पल स्टेमा एक दिन
नेपालमा होम स्टे भने जस्तै दक्षिण कोरियामा टेम्पल स्टे छ । यो विदेशीलाई बौद्धमार्गी कोरियन कला संस्कृति देखाउने सजिलो उपाय हो । हामी पनि टेम्पल स्टे हेर्न जाने भएका छौ । यसरी टेम्पल स्टे हेर्न जानको लागि सबै मिलाउने काम सउल नेपाल गुम्बाले गरेको छ । ‘बिहानको ठ्याक्कै नौ बजे कोरियन टाइममा गाडी गुड्छ ।’ हिजो फोनमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामाले भनेका हुन् ।
एक हुल कोरियन साढे आठ नहुँदै बसमा चढि सके । केही नेपालबाट कोरियामा घुम्न आएका लामा छन् । ती पनि समय भन्दा अगाडी नै गाडी भएको ठाउँमा आइपुगे । बाँकी कता छन् थाहा पतो छैन । अरु दिन कम्पनीमा भनेको समय भन्दा कम्तिमा पन्ध्र मिनेट अघि पुग्नै पर्छ । आज आइतबार बिदाको दिन मस्त सुतेकी ?
लामा कुन्साङसँग घुम्न जानेको लामो नाम लिस्ट छ दुई पानाको । तर समयमा कोही आउँदैनन् । लामा खाली गाडी हेर्छन । हातमा भएको हिजो आउँछु भन्नेको लिस्ट हेर्छन् । फोन गर्छन् । सबैको उत्तर उस्तै छ । हामी आइ हाल्छौ । पुग्नै लाग्यौ । हुँदा हुँदै नौ बज्यो ।
………………………….
तोङदेमुन । त्यस्सै नेपाली नै नेपाली भेट हुने ठाउँ हो । दक्षिण कोरियाको नेपालीे रत्नपार्क भने हुन्छ । जाडो नलागेको भए बिहान नौ बजेसम्म नेपाली गफिन थालि सक्थे । देशका कुरा गर्थे । राजनीतिका कुरा गर्थे । काम कम्पनीका साहुलाई मिलाएर गाली गर्थे । नेपालको चिया गफको झल्को मेट्छ तोङदेमुनले । अहिले लगमग सुनासन छ ।
ठूलो टुरिष्ट बस छ । बल्ल बल्ल साढे नौ हुँदा अठ्ठाइस जना भयौं कोरियन सहित । लामाको हातमा भएको लिस्टमा चाहि ४२ जनाको नाम छ । टेम्पलस्टेमा हामीलाई भिक्षुणीहरुले कुरिरहेका छन् । उनीहरुले फोन गरे क्यारे लामा कुन्साङलाई । होस अब हामी मात्र जाऔ । साथीहरु सुति बसोस । खिन्न मन लिएर भने ।
हामी सउलमै भएको जीनवान्सा गुम्बा तिर लाग्यो । भिक्षुणीहरु मात्रै बस्ने यो गुम्बा सन् १०१० मा बनेको रहेछ । बिभिन्न समयमा भएको कोरिया जापान युद्ध र उत्तर कोरिया दक्षिण कोरियाको युद्धमा भत्किदै बन्दै गरेको इतिहाँस रहेछ । एक घन्टामा गाडी गुम्बा पुग्यो । हामी गाडीबाट ओर्लन बितिक्कै दुई लाईनमा हिड्न भनियो । गाडी रोकिने ठाउँमा भिक्षुणीहरु हामीलाई लिन पर्खि बसेका थिए । लाइन चलन होला ।
गुम्बा भब्य रहेछ । वरिपरि जंगल छ । बीचमा सानो खालो छ । साना साना गुम्बाहरु छन् । शान्त छ । हामीलाई विभिन्न कुरा सम्झाउँदै छिन् गुम्बाकी भिक्षुणी । उनी अलि कडा छिन् । लाइनबाट बाहिर हिड्न पनि हुँदैन भन्छिन् । गुम्बाका आफ्नै नियम छन् । यसलाई कडाईका साथ पालाना गर्नु सबै आगन्तुकको जिम्मेवारी हो । उमेर पचासको हाराहारीमा पुगे पनि भिक्षुणीमा गज्जबको फुर्ती छ ।
गुम्बा छिर्ने ठाउँमै निर्वाणा गेट छ । यसबाट छिरे धर्म हुन्छ । मोक्ष पाइन्छ । उनै कडा भिक्षुणुले सुनाइन । म धेरै कोरियन भाषा बुझ्दिन । धेरै ने ने मै चल्छ । म लाइनमै बसेर ने ने भन्दिन्छु । के जान्छ र मेरो ?
टेम्पल स्टेमा पहिले देखि नै कोरियनले खाँदै आएका खाना पकाइन्छ । खुवाइन्छ । पुस्तारण हुदै आएका यस्ता खानाका परिकार गुम्बामा धेरै शताब्दी देखि जस्ताको तस्तै छ । त्यसैले उनीहरु गर्ब गर्छन् आफ्नो खाना संंस्कार बचाएर राख्न सकेकोमा । हामीलाई खाना पकाएर खुवाउने भए । बिहान बिहानको चिसो छ । म ठ्याक्कै पाए एक भाँडो कफि एक्लै रित्याउँथे होला । उनीहरु मुलाका परिकार बनाउन थाले । हाफ फ्राई मुला । पुगेका सबैलाई सानो सानो टुक्रामा पारेर खान दिइयो । भोक लागेर होला हाफ फ्राई मुला पनि गज्जब छ । ‘कस्तो छ ?’ कुक भिक्षुणी सोध्छे । ‘मिठो ।’ एउटै स्वरमा हामी भन्छौ ।
गुम्बासँग मेनु छ । गोन्देउरे नामुलभाब (भात कोरियन सागको पात), खोमच्वी स्सामभाब (खामच्वी पातमा बेरिएको भात), योङनीप फाब(कमलको पातमा बेरिएको भात), बेचुजेन(कोरियन साग), बेक किम्ची(सेतो किम्ची), दोङचीमी(मुलाको किम्ची) अरु पनि छन् । ती बसै सागपात र भातका परिकार हुन् । चिया पनि कमलको फूल पातको चिया, मकैको पिठोको चिया । जे जति बेनेका छन् सबै कोरियाकै हुन् । हामी हेरेका हेरेकै छौ भिक्षुणीका गु्रप हामीलाई ‘लाइभ डेमो’ देखाउँदै पकाउँदै छन् । एक एक टुक्रा खान्छौ । फेरी कस्तो स्वाद । मिठो लागे पनि नलागे पनि हामी एकै स्वरमा भन्छौ मिठो छ । कोरियाको संस्कारमै पर्छ खानालाई नमिठो नभन्ने ।
गुम्बामा बनाइने परिकार कुनै पनि खेर जाँदैन । चामाल पखालेको पानी तरकारीमा हालिन्छ । हात पखालेको पानी भाँडो माझिन्छ । भाँडो माझेको पानी फलफूल तरकारी बारीमा । खान मिल्नेसम्म फलफूलका बोक्रा फालिदैन । खाना खाउँ खाउँ लाग्दा लाग्दै छोड्नु राम्रो रे । खाना फाल्नु महापाप । खाना खानु अघि नै यस्तो सुनाए पछि भोक लागेको पेट भरिएर आयो । डराई डराई थोरै भात हालियो । किम्ची थियो । फ्राई पर्सी, साग सम्जी थिए । शुद्ध शाकाहारी । यस्तै हो गुम्बाको खाना । स्वस्थ्यका लागि उपयोगी रे । भोकै नमरि खाना सकियो । धर्मै भो आज । फालिएन । भाँडा आफैले माझ्नु पर्ने नियम रहेछ । चम्काएर माझियो ।
…………………………..
सन् २००२ मा जापान र दक्षिण कोरियाले विश्वकप फुटबलको आयोजना गर्यो । विश्व भरिका मान्छे यी देशमा आउने नै भए । होस्ट कन्ट्रिका रुपमा केही न केही गर्नु पर्यो । दक्षिण कोरियाको तत्कालिन सरकारले कोरिया भरि रहेको प्रायः गुम्बाहरुमा विदेशी बस्न मिल्ने व्यबस्था टेम्पल स्टे सुरु गर्यो । यसले गुम्बा आफैले अर्थोपार्जन गर्न सक्ने भयो ।
अहिले दक्षिण कोरिया भरि नै टेम्पलस्टेको व्यवस्था छ । नयाँ युगका तरिका नयाँ छन् । टेक्नोलोजी छ । धेरै गुम्बाका वेभसाइट छन् । टेम्पल स्टे गर्न आउने धेरै पश्चिमी छन् । उनीहरु आफ्नै देशबाट अनलाइन बुकिङ गरेर आउँछन् । सजिलो छ दुनियालाई । भिक्षु, भिक्षुणी पनि धेरै पश्चिमका पर्यटक आउने भए पछि अंग्रेजीमै कुरा गर्ने भएका छन् । अहिले दक्षिण कोरिया भरि तीस भन्दा बढि गुम्बामा अंग्रजी भाषामै कुरा गर्न सक्छन् पर्यटकहरु । यो संख्या दिन दिनै बढ्दै गएको कोरियन बौद्ध संस्कृति संघको वेभसाइटमा देख्न सकिन्छ ।
टेम्पल स्टेमा बस्ने पर्यटकले गुम्बाले तोकेको नियम अनुसार चल्नु पर्छ । गुम्बाको अनुमति नलिइ बाहिर जान पाइदैन । बिहान भिक्षु, भिक्षुणी उठ्ने समयमै उठ्नु पर्छ । ध्यान गर्नु पर्छ । उनीहरुले नै गुम्बा वरपरका क्षेत्रमा हाइकिङ गराउछन् ।
…………………………..
हामीले गुम्बामा एक दिन बितायौ । भिक्षुणी जस्तो त भएनौ । जे होस जिन्दगी देख्यौ कोरियन भिक्षुणीको जिन्दगी ।