आजको मौसम
आजको मौसम संयोग होला
म यो अपरिचित भुगोलमा
सिङ्गो देशको बिम्बहरु प्रतिबिम्बित
भएको देखिरहेछु
जस्तो पुर्व राजाको झै
पश्चात्तापले डसेको यो दिनको अनुहार
कलिलो नानिहरुको जीवन चुँड्ने बलात्कारि झै
कुमारी बादलको हाईमेन भंग गरेर बिजयको उत्सव
मनाई हिडने ब्याभिचारी बतास
अन्तिम बिदाईमा झरेको प्रेमिकाको
आँसु झै आकाशको एकोहोरो वर्षात
नेताहरुको समृद्धि नारा जस्तै
धमिलो र फोहोर बगिरहेको
खहरे खोल्साको भेल
घाइते योद्धाको अतीत जस्तै
चट्याङको संगीन यो आवाज
वृद्ध बा- आमा जस्तो कुनै बेला
विलाई हाल्ने जिवनको त्रास बोकेर
बाचिरहेको डाडाको सेताम्मे हिमपातहरु
आफ्नै यौवन जस्तो बसन्त पर्खेर
कोमामा बसेको साकुरा फूलको बोट
निर्मलाको बाबू झै उडिरहेको
पागल चराको बेहिसाप क्रन्दन
यो सब देख्दा लाग्दै छ
भत्काउ मेरो देशको
राज्या ब्याबस्था जस्तो – त्यो पुरानो चितिज
र हेरौ छेकिएको मेरो देश
सुकाउ विभेदको लक्ष्मण रेखा झै
मेरो पैतला रोक्ने वर्जित – त्यो सागर
र टेकौ आफ्नै भुगोलको माटो
यद्यपि यी सब कहाँ छ सजिलो ?
जो थेग्नु नै छ
आजको यो प्रतिकुल मौसम
पर्खिनु नै छ
भोलिको अनुकुल त्यो उज्यालो दिन ।