लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे । अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !
कत्राकत्रा युद्ध, महायुद्धमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला, बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चुलोमाथिको दलिनमा घुसारेको छँदै छ ।
त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ, जहाँ औषधिले रंगाएको उही वीरधाराको निर्मल जल कयौं वीरहरूले प्रत्येक दिन सित्तैमा सुक्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ । तर, मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर–पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु— नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै !
कतिपय साहित्यकार, कलाकार आदिले समेत अवलम्बन गरेको यो सिद्धान्त आफूले छाड्ने कसरी ? आखिर बेकार भए पनि म एउटा कार हुँ, लुरे भए पनि वीर जातिको आकार हुँ ।
आजको आर्थिक युगमा, आर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्धान्त रामवाणजस्तो छ । ‘मर्दका दसोटी हुन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुट्मुट्याउने लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरूप चुलैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन ‘बहुपत्नी लिमिटेड’का शाखाहरूबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फुलौरा बर्सलान् कि भनी आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेन्टी ? वीर भएकोले इलमउद्योगको पीर गर्नापट्टि लागिएन त, कि दाउरे बन, कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म । अनि भन्नोस् मैले झैं रोग, भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा भर्तीकेन्द्रजस्तै लमजुङ भर्तीकेन्द्रसमेत खोल्नुपर्यो भने ?
लौ, म कुरो गर्न लागेको त सोझै हो, तर अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटाघाटाको नक्साझैं दशतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भने, यत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एकजोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो तर एकबारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैं के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।
ल, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैं उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुर, त्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारें, अलिअलि सामलतुमलको झोला भिरें, हिँडें । तपाईलाई के ढाँटौं कुरा ! ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ, गोडा सोरेक रुपियाँ । त्यही पनि साट्सुट गर्दा ठयाम्मै भयो १० को नोट । पैसामात्रै भनेर हुन्छ, देशी पैसा, हामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ? जे होस्, आफूलाई चाहिएको थियो, नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त हो, लाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालें सुन्धारा ।
“ओहो ! वीरबल बाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढीस्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई–तीनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी ।
“म त लाहुरतिर, आमै कता नि ?”
मैले सोधी नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्, “कहाँ हुन्थ्यो, उनै विश्वनाथ बाबाको पाउमा त हो नि । यी नानीहरूले पनि साह्रै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी, अर्कीको पोइ लाहुर …”
बूढी परी लाउँदै थिइन्, बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो, “कुरो राम्रो, विश्वनाथ बाबालाई सधैं भेटीमात्र कति चढाउनु त, कहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्धार हुन्छ, अर्काेतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।”
भलादमीले यो कस्तो कुरा गरेका हुन्, म त लक्क न बक्क भई जिल्लिँदै थिएँ, बूढी आमै भने जिस्क्याइएको जँड्याहाझैं पाखुरा खैँचेर सराप्न थालिन्, “तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् !”
वास्तवमा त्यो विचरो भलादमीले आँखा जुधाएकै थिएन है, नभएको कुरा भन्नु पाप लाग्छ, तर बूढी किनकिन त्यसै रन्किइन् र मसित भन्न थालिन्, “हेर्नाेस् न बाबु, के मैले यी केटीहरुलाई भागीरथीमा बगाइदिउँला त ?”
भलादमीले भने, “भागीरथीमा बगाए त केही थिएन, माझीले उताथ्र्याे, तर चचार पाथी चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के हो, मैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केही बुझ्न सकिनँ ।
असार–साउनको माटो, बाइरोडको बाटो । ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न । अब चाहियो के र ? एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियो, तर जतिजति ट्रक उँभोउँभो लाग्दै गयो, उतिउति आफ्नो हंश भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ, “तीर्थ जानेलाई केको डर ? बाँचे वाराणसी, मरे अमरावती ।”
तर, नढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु, मरे कहाँ पुग्छु ? स्वर्ग कि नर्क ? स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्स कम्पनीका एजेन्ट बाजेहरूलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् !
म आफ्नै सोचाइमा एकसुर थिएँ, पछाडिबाट कोट्टयाउँदै एकजना साहुजीले भने, “तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभो, यसपालि मात्रै ५ हजारको साग निकासी भयो ।”
आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने साह्रै चित्त दुख्यो र भनिहालें, “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्यो, त्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारीमात्रै होइन, भोलिदेखि तिहुनकै समस्या त पर्दैन ?”
साहूले बीचमै कुरा काट्तै भने, “तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नाेस् त, यताबाट सागका मुठा पठायो, उताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठो, छिटोको ठाउँमा छिटो, कुरा बुझ्नुभएन ? यस्तै हुन्छ चतुरहरूको व्यापार !”
साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड ‘सब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्, सबैतिर छिटोछरितोपनको आवश्यकता छ आज, आधुनिक सभ्यता भनेकै यही न हो ।
साहुजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्, तर ड्राइभर हराम परेकोले ट्रक झन्–झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले, “पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने, घच्चा देते हैं हमें ही । जरा सम्मान के कायदे सीखो ।”
आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्यूलाई भनें, “बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।”
चितुवाका जस्ता आँखा एकपटक तरेर उनकी श्रीमतीले भनिन्, “आइन्दा ऐसा मत करना, कहाँ जा रहे हो ? हमारे यहाँ नौकर बैठेगा ?”
यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ, “म त लाहुर पस्न लागेको पो त, तिमीकहाँ नोकर बस्छु ?”
“बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे,” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्, म फरक्क फर्केर पुगें अर्कै छेउमा ।
प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सिट हो, को–को कहाँनिर छन्, पत्तै भएन । मानौं संसार–सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो— लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थें । त्यतिबेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन् । के–के हुन्छन् के–के ! सम्झेर के साध्य ! देश भनेको देशै हो, धन हुने बाबुसाहेबहरूको राख्न जाने ठाउँ पनि उहीँ, नहुनेहरूको कमाउन जाने ठाउँ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै, बाबुआमाले गाली गरे पाखुरा खैंचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो !
मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रिनेबित्तिकै विभिन्नथरी उर्दीपोशाक लाएकाहरूले ‘बाबुजी, इधरउधर’ भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर, फसादचाहिँ के प¥यो भने सबैले तानेपछि जाने कतातिर ? ससुराली भिन्न भएको साल सोह्रसराद्धको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो प¥यो आफूलाई त ।
“क्या हो ए वीरबल भाञ्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसंग पारिदियो ।
“ओहो, मामा तिमी पनि यहाँ ?” मामालाई झम्टँदै मैले पनि सोधिहालें, “उता लाहुर गएको भन्थे, यहीँ हो कि क्या हो लाहुर ?”
मलाई आफूले तानिरहेको रिक्सामा बस्न अनुरोध गर्दै मामाले भने, “तिमी अलि सोझा छौ भाञ्जा । नेपालीको निम्ति डाँडो काट्यो कि लाहुर । तिमी कता नि ?”
मैले चकित भावमा जवाफ दिएँ, “म पनि लाहुरतिर लागेको !”
“लाहुर त लाहुर, तिमी साँच्चिकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तुरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तुरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ । अब कहाँ कसलाई समाउन जाने त लौ !
“फ्याँकिदेऊ त्यो टोपीसोपी, यता टोपीको दर्शन पाएपछि पोकोमात्रै होइन, पोकोवालालाई बोकोझैं घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ । तैपनि टोपी फुकालेर रिक्सामा बसें । मामा सोध्दै गए, “अब के गर्छाै त ? रिक्सै चलाउँछौ भने मामाभानिजको कामकुरो मिलिहाल्यो । होइन, म त नोकरी नै गर्छु भन्छौ भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला ।”
मामाको यस प्रश्नले मलाई छक्क पा¥यो र सोधें, “के साँच्चै लाहुर यही हो मामा ?”
मामाले मुस्कुराउँदै जवाफ दिए, “भनिहालें नि, हाम्रो निम्ति डाँडो काट्यो कि सबतिर लाहुर । रक्सोलमा रिक्सा चलाऊ वा दरभंगामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मूर्दा बोक, घर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।”
मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालें । निधारमा चिटचिट पसिना आए । नाकमुख खंग्रंग सुकेर रिक्सैमा घोप्टो परूँला भन्ने डर लाग्न थाल्यो ।
“के यही हो त लाहुर ? हजारौं नेपाली आउने गरेको लाहुर ? वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अत्तासिँदै सोधें लाहुरे मामासँग । मामाले च्याँठ्ठिएर जवाफ दिए, “के तिम्रो–हाम्रो वीरता खलंगामा लड्ने नेपालीको वीरता हो र ? त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोट्टिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो ‘गुर्खा’को वीरता हो, जसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवर–कुलको कमानमा दीक्षित नेपाली, जसले तन्नेरीको तन, तरुनीको मन सबको दरभाउ बसायो, धन कमायो, कयौं ब्यांक जमायो । कुरो बुझ्यौ ?”
तर, सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर, मनको भित्री भागमा चाहिँ के लाग्यो भने– घरबाट ल्याएको पोकोपन्तुरोमात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थें घर । तर, अब परियो यता अलपत्र, जहान उता अलपत्र, जो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्, हामी वीरको साथै उदार पनि त हौं, दुई–चार जना हामीजस्ता स्वदेशीहरू हराएर के भो, कयौं ‘देशी’हरू नक्कली मयूरझैं भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्रियोबिग्रियो, लाहुर बस्नै मानेन र फर्कें घरैतिर । त्यसैले हेर्नाेस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।