मुन्धुमी संगीत कोरिया मा पनि प्रस्तुत हुने
याक्थुङ समुदायको महान पर्व चासोक तङनामको अवशरमा किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखा द्वारा आयोजना गरिएको कार्यक्रम मा मुन्धुमी संगीत प्रस्तुत हुने भएको छ। विश्व आदिवासी मञ्च र SOUNDS OF THE WORLD THEATER LONDON मा आफ्नो मुन्धुमी सांगीतिक प्रस्तुति दिइसकेकी ,नेपाली सुगम संगीत एवं शास्त्रीय संगीतमा आफ्नो अलग स्थान बनाउन सफल सुप्रसिद्ध गायिका झुमा लिम्बू आफ्नो सांगीतिक कोसेली लिएर उक्त कार्यक्रममा सहभागी हुन कोरिया आउने भएकी छन।
ऊनी झन्डै दुई दसक देखि निरन्तर संगीत साधनारत छिन । खुइया मारी आयौ साइला … बोलको गित बाट नेपाली सुगम संगीतमा प्रवेश गरेकी उनले नेपाली रैथाने संगीत लाइ विश्व आदिवासी मञ्च सम्म पुर्याउन सफल भएकी छन। उनलेे सन 2015 मा “खासाम”( CIVILIZATION) र सन 2018 मा मुन्धुम र नाद (SOUNDS OF MUNDHUM ) उक्त मञ्च प्रस्तुत गरिसकेकी छन।
SOUNDS OF MUNDHUM (मुन्धम र नाद ) के हो?
प्राज्ञ बैरागी काइलाका अनुसार अनादि कालदेखि मुखमुखै प्रवाहित भई आएको लिम्बूजातिको विविध मुन्धुमहरूमा विषयवस्तु अनुकूल गायन–वाचन गर्ने आफ्नै परिपाटी, पद्धतिका साथै भाषा, शैली, छन्द र लय हुन्छन् । उठान गर्दादेखि अन्त गर्दासम्म आ–आफ्नै विशिष्ट शैली, विधि र भाषा–संरचनाको प्रयोग गरिन्छ । लिम्बू जातिको मुन्धुम भनेको गायन वाचनसँगै पूजा–अनुष्ठान पनि हो । हो, मानवजीवन विपदाले सदा घेरिएको हुन्छ । विपदाबाट, कालको मुखबाट पनि उम्कनका लागि लिम्बू दैनिक जीवनमा पूजा अनुष्ठान भइरहन्छ । तिनका आफ्नै तरिका, विधि विधान वा व्याकरण हुन्छन् । जातीय पुरोहित फेदाङ्माहरू पनि भिन्न भिन्न हुन सक्छन् ।
अवसर विशेषले मुन्धुम गायन–वाचनका आफ्नै भाषा, लय र छन्द हुन्छन् । कुनै छोटाछोटा भाकाका, कुनै लामो लेग्रो तान्नुपर्ने हुन सक्छन् । तिनले प्रयोग गर्ने तानाबाना अथवा सांगीतिक सामग्री र आनुष्ठानिक सामग्री पनि भिन्न हुन्छन् । बेलाबेलामा समय पनि भिन्न हुनसक्छ । थान पनि भिन्न हुन सक्छ । तथापि मुन्धुम–संगीतको नादभित्र मन्त्र र गायन–वाचनमा लिम्बू जनजीवनलाई उसकै परम्परागत सांस्कृतिक लय र गतिमा अनि उसकै रूप र सौन्दर्यमा प्रस्तुत गर्ने जमर्को गरिएको हुन्छ । मुन्धुमको संगीत–संस्कृतिको विशेषता हुन् यी ।
यिनीहरूलाई बिम्बका रूपमा वहन नगर्ने लिम्बू संगीत रैथाने लिम्बू संगीत हुन सक्दैन । भाव–सम्प्रेषणका लागि शब्द (भाषा) हरू अपर्याप्त हुन्छन्, त्यसैले शब्द (आवाज, नाद) को सहयोग कविता लेखनमा पनि लिइन्छ । झन् संगीत त सुरमा बाँचेकाले शब्द (आवाज, नाद) माथि बढी नै निर्भर हुन्छ ।