दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाको कस्तो बित्यो २०१८ ?
नेपाली सम्पर्क समिति र नेपाल बौद्ध परिवार मिलेर यसै बर्ष दक्षिण कोरियाको योङगीन शहरको वाउजङ्सा गुम्बामा नेपालबाट बुद्धको मुर्ति ल्याएर प्रतिस्थापन गर्यो । मुर्तीले नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग हुने भनेर धेरै नेपालीले बुद्ध मुर्ती ल्याउनमा सहयोग गरे । एनसीसी र नेपाल बौद्ध परिवारले संयुक्त रुपमा काम गरेको भए पनि बौद्ध परिवारलाई जति क्रेडिट जानु पर्ने त्यो नगएर छाँयामा परेको कुरा चल्यो । नकारात्मक कुरालाई छाड्ने हो भने वाउजङ्सामा बनेको नेपाली बुद्धको मुर्ती दक्षिण कोरियामा रहेका नेपालीको लागि गर्बको बिषय बन्यो ।
बुद्ध प्रतिस्थापनको चर्चा सेलाउन नपाउदै एनसिसि विवादमा घेरियो । निर्वतमान अध्यक्ष प्रेम शाहले अहिलेको कार्यसमितिलाई हिसाब किताब नबुझाएको भनेर बर्तमान अध्यक्ष अन्जु केसीले प्रेस बिज्ञप्ती नै निकालिन् । प्रेम शाहले पैसा तिर्छु भनेर भनेको प्रमाण भएको पनि दाबि गरिन् । यही प्रमाण दिनका लागि गरिएको पत्रकार सम्मेलनमा प्रेम शाहले प्रहरी पठाएर कार्यक्रम नै स्थगित गराए । त्यस पछि पनि शाहलाई पैसा तिराउने कुरा त भयो तर काम अहिलेसम्म भएको छैन ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अधिबेशन पनि यसै बर्ष भयो । अधिबेशनमा दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहले आफुलाई प्रमुख अतिथी नबनाएको भनेर कार्यक्रममा बिरोध भाषण गरे । उनले पत्रकारलाई पत्रुकार भन्न भ्याए । पीत पत्रकारिता गर्ने पनि भने । नव गठित महासंघले राजदुतलाई माफि मगाउने कुरा त गरे । व्यबहारमा भने गफै भो । अब उनी आफ्नो पुरा कार्यकाल नसकिदै सरकारले फिर्ता बोलाएका कारण नेपाल जाँदैछन् ।
दक्षिण कोरियामा नेपालीहरुको संख्या बढेसँगै जनजाति पत्रकारहरु पनि बढे । बर्षको सुरु तिरै तामाङ पत्रकार संघको गठन भयो । लामो समय देखि अधिबेशन हुन नसेको नेपाल आदिबासी जनजाति पत्रकार महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेशन भयो । फोनिज र तामाङ पत्रकार संघ मिलेर दक्षिण कोरियामा पत्रकारिता गर्न चाहनेहरुका लागि आधारभुत पत्रकारिताको तालिम पनि दियो ।
दक्षिण कोरियामा रहेका नेपाली कविहरु र कोरियन कविहरुको कविता कन्सर्टले दक्षिण कोरियामा साहित्यिक क्षेत्रमा राम्रै हलचल ल्यायो । नेपाली र कोरियन भाषामा पढिएका कबिताहरु निक्कैले रुचाए । नेपाल कोरिया कल्चर सेन्टरले आयोजना गरेको कविता कन्सर्टले कोरियन कविहरुको पनि मन जित्यो । त्यसैगरी नेपाली कबियत्री प्रगति राई कबिता पछि आफ्नो पहिलो उपन्यास बिर्सिएको मृत्यू लिएर कोरिया आइन् । कोरियाको बिभिन्न क्षेत्रमा रहेका नेपाली साहित्यकारसँग छलफल गरिन् । त्यस्तै इतर आवाज साहित्य समाजले कबि उपेन्द्र सुब्बालाई कोरियामा ल्याए । कबि सुब्बाले पनि दक्षिण कोरियामा रहेका नेपालीलाई आफ्नो कबिता सुनाए ।
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले दुई बर्ष पछि आदिबासी दिवस भब्य रुपमा मनायो । दक्षिण कोरियामा रहेका आदिबासी जनजातिले आफ्नो कलासंस्कृति झल्किने भेषभुषा प्रर्दशन गरे ।
प्रबासी मजदुर युनियन एमटियुले अघिल्लो बर्षहरुमा जस्तै विदेशी कामदारका पक्षमा मागहरु राख्दै बर्ष भरि नै आन्दोलन गरि रह्यो । कहिले राष्ट्रपति भवन अघि त कहिले सउल लगायतका क्षेत्रमा आफ्नो मागहरु राख्दै धर्ना गरि नै रह्यो । यसले मजदुरका पक्षमा कति काम गर्यो भन्ने चाहि यसै भन्न सकिने अबस्था छैन ।
दक्षिण कोरियामा बिभिन्न संघसंस्थाले सामाजिक कार्य गर्ने भन्दै कहिले डान्स पार्टी त कहिले कन्सर्ट गरि नै रहे । यस्ता कन्सर्टका आम्दानी र गर्छु भनेको सामाजिक काममा के कस्ता प्रगति गरे त्यो धेरैले देखाएका छैनन् । एकै दिन तीनवटासम्म ठूला कन्सर्टहरु पनि यसै बर्ष भए । नेपालीहरु धेरै भएर होला सबै आयोजकहरुले फाइदा नै भएकोे दाबी गरे । तर केकस्तो फाइदा भयो भन्ने चाही धेरैले देखाएनन् ।
संघसंस्थाहरु धेरै खोलिए । पुराना संघसंस्थामा पनि नयाँ नेतृत्व आयो । नेपाल तामाङ संघ, शेर्पा संघ, नुवाकोट समाज, कास्की परिवार, सोलुखुम्बु समाज रामेछाम सम्पर्क समिति जस्ता जातिय र क्षेत्रीय संस्थामा नयाँ कार्य समिति गठन भए । तीन नम्बर प्रदेश एकता समाज, तामाङ पत्रकार संघ लगाएतका केही नयाँ संस्था दक्षिण कोरियामा जन्मिए ।
दक्षिण कोरियामा सेलिबे्रटी, समाजसेबी, बिभिन्न पार्टीका नेताहरु आउने जाने क्रम बर्ष भनि नै चलिरह्यो । कान्छी चलचित्रका नायक दयाहाङ राई दक्षिण कोरियामै पहिलो पटक रेड कार्पेटमा हिडे । फिल्म खासै राम्रो नभए पनि दक्षिण कोरियाको बिभिन्न भागमा राम्रै चल्यो । पहिलो बारिष्ता (कफिसेफ) सगरमाथा आरोही दापुटी शेर्पा दक्षिण कोरिया आइन् । उनलाई पनि बिभिन्न संघसंस्थाले सम्मान गर्यो । बिभिन्न पार्टीका नेताहरु पनि दक्षिण कोरिया आए । भाषण गरे । फर्किए ।
दक्षिण कोरियामा नेपालीका संघसंस्था एक सय भन्दा बढि छन् । कुनै राजनैतिक आधारमा खोलिएका छन् कुनै सामाजिक क्षेत्रका आधारमा । कुनै भौगोलिक आधारमा छन् त कुनै जातिय आधारमा । यस्ता धेरै संघसंस्थाले बिभिन्न थरिका काम गरि नै रहे । सन् २०१८ मा जे जस्ता काम भए पनि आगामी दिनमा संघसंस्थामा आर्थिक पारदर्शीता र जवाफदेहिताको भने खाँचो छ ।