झिल्को
सारा नगरमा यशोदानन्दको चर्चा चलिरहेको थियो । नगरमा मात्रै होइन, समस्त प्रान्तमा उनको कीर्ति गाइँदै थियो । विभिन्न अखबारमा उनका विषयमा टिप्पणी लेखिँदै थियो । मित्रहरूले प्रशंसा गर्दै पठाएका पत्रको लाम लागेको थियो । यो पो हो समाज सेवा ! उन्नत विचार भएका मानिसहरूले यस्तै गर्छन् !
यशोदानन्दले शिक्षित समुदायको मुख उज्जवल गरिदिएका थिए । ‘हाम्रा नेता केवल कुराका मात्रै धनी छन्, कामका धनी होइनन्’ भनेर अब कसले भन्ने साहस गर्न सक्छ ? यशोदानन्दले चाहेको भए आफ्नो छोराका लागि कमसेकम २० हजार रुपैयाँ दाइजोमा पाउने थिए, त्यसमाथि मानसम्मान अलग । तर, उनले सिद्धान्तसामु धनको रत्ती पनि परवाह गरेनन् र आफ्नो छोराको विवाह एक रुपैयाँ दाइजो नलिएरै स्वीकार गरे । वाह ! हिम्मत होस् त यस्तो होस् । सिद्धान्तप्रेम होस् त यस्तो होस् ! आदर्शपालन होस् त यस्तै होस् ! साँच्चैको वीर, आमाका सच्चा सपुत । तिमीले त्यो गरेर देखायौ, जुन कहिल्यै कसैले पनि गरेका थिएनन् । हामी बडो गर्वका साथ तिम्रो सामुन्ने टाउको निहुँराउँछौं ।
यशोदानन्दका दुई छोरा थिए । जेठो छोरा पढेलेखेर उम्किसकेको थियो । आज उसैको बिहे भइरहेको थियो, त्यो पनि बिनादाइजो, जुन हामी हेरिरहेका छौं ।
आज बेहुलाको टीकाटालो (तिलक) थयो । शाहजहाँपुरका स्वामीदयाल तिलक लिएर आउँदै थिए । शहरका गण्यमान्य सज्जनहरूलाई निमन्त्रणा दिइएको थियो । उनीहरू जम्मा हुँदै गए । महफिल सजिँदै गयो । एक सितारवादक आफ्नो संगीत कौशल प्रस्तुत गर्दै उपस्थित पाहुनाहरूलाई मन्त्रमुग्ध तुल्याउँदै थिए । भोजभतेरका लागि आवश्यक सामग्री पनि तयार थिए । साथीहरूले यशोदानन्दलाई बधाइमाथि बधाइ दिँदै थिए ।
एकजनाले भन्यो, “तिमीले त यार, कमाल गरिदियौ ।”
दोस्रोले भन्यो, “कमाल ? यो भन्नुस् कि झन्डा गाडिदिए । यतिबेलासम्म जसलाई पनि देखियो, मञ्चमा भाषण झार्दै गरेको मात्रै देखियो, जब काम गर्ने अवसर आउँथ्यो, त्यसबेला सबै पुच्छर लुकाउँथे ।”
तेस्रोले थप्यो, “कस्तोकस्तो बहाना बनाइन्थ्यो । हामीलाई पनि दाइजोसँग कुनै सरोकार छैन । दाइजो मेरो सिद्धान्तविरुद्ध छ तर के गरूँ, केटाकेटीकी आमाले नै मान्दिनन् ।”
चौथोले भन्यो, “हेर्नुस्, कति त यति लाज पचेका हुन्छन् कि सीधै भन्न पनि लजाउँदैनन् कि केटाको शिक्षादीक्षामा जे जति खर्च गरेको छु, त्यो हामीले पाउनुपर्छ । मानौं तिनले यो रकम कुनै बैंक खातामा जम्मा गरेका हुन् !”
पाँचौंले भन्यो, “खुब बुझिरहेको छु म, तपाईंहरू मलाई लिएर टिप्पणी गरिरहनुभएको छ । यसमा सबै दोष केटा पक्षको मात्रै छ कि केटी पक्षको पनि केही छ ?”
पहिलोले भन्यो, “छोरी पक्षको के दोष ? शिवाय यत्ति कि ऊ छोरीको बाउ हो !”
दोस्रोले भन्यो, “सारा दोष ईश्वरको हो । उसले किन छोरी मान्छे बनायो ?”
पाँचौं अघि सर्यो, “म यो भन्दिनँ । न त सारा दोष छोरी पक्षको हो न केटा पक्षको । दुबै नै दोषी हुन् । यदि छोरी पक्षवालाले केही नदिने हो भने उसलाई यो दुःखमनाउ गर्ने अधिकार पनि छैन कि बेहुलीका लागि सुन्दर गरगहना र लुगाफाटा किन ल्याएनन् भनेर वा बाजागाजा र धुमधामका साथ जन्ती किन आएनन् भनेर !”
चौथोले थप्यो, “हो, तपाईंंको यो प्रश्न सोचनीय छ । यो स्थितिमा बेहुलाका पिताजीसँग यस किसिमको दुखमनाउ नहुनुपर्ने हो ।”
पाँचौंले भन्यो, “त्यसो भए यो भनौं कि दाइजो प्रथाका साथै गहना, लत्ताकपडाको जोडीलगायत अन्य सामग्री लैजाने प्रथालाई पनि त्याग्नु प¥यो !”
यशोदानन्दले भने, “मैले दाइजो लिइनँ तर के बेहुलीका लागि गरगहना, लत्ताकपडा पनि नलगौं त ?”
पहिलोले भन्यो, “महाशय, तपाईंको कुरै बेग्लै छ । तपाई आफूलाई अरू आम जनतासँग तुलना किन गर्नुहुन्छ ? तपाईको स्थान त देउताहरूसँग छ ।”
दोस्रोले भन्यो, “२० हजारको रकम छोडिदिनुभयो ? क्या बात !”
यशोदानन्दले भने, “मेरो भनाइ त के हो भने हामी सधैं आफ्नो सिद्धान्तमा स्थिर रहनुपर्छ । ‘प्रिन्सिपल’का सामुन्ने ‘मनी’को कुनै ‘भ्याल्यु’ छैन । दाइजो कुप्रथामाथि मैले आफैं कुनै भाषण दिएको छैन, शायद कुनै नोटसम्म पनि लेखेको छैन । हो, सम्मेलनमा यस किसिमको प्रस्तावलाई समर्थन गरेको हुँ र यसैले पनि म आफ्नो त्यो प्रस्तावमा बाँधिएको पाउँछु । म त्यसलाई तोड्न चाहें भने पनि मेरो आत्माले तोड्न दिँदैन । म सत्य भन्छु— मैले दाइजो लिएँ भने मलाई यति मानसिक वेदना हुन सक्छ कि शायद म त्यो आघातबाट बच्नै नसकूँ ।”
पाँचौंले भन्यो, “अबको सम्मेलनले तपाईंलाई सभापति नबनाए त यो घोर अन्याय ठहरिन्छ ।”
यशोदानन्दले भने, “मैले आफ्नो ड्युटी गरें । त्यसको ‘रिकग्नेसन’ हुन्छ वा हुँदैन, मलाई मतलब छैन ।”
यतिकैमा खबर आयो कि स्वामीदयाल आइपुगे । त्यहाँ उपस्थिति व्यक्तिहरू उनको अभिवादनका लागि तयार भए । उनलाई मञ्चमा ल्याएर बसाइयो । लगत्तै तिलक संस्कार शुरु भयो । स्वामीदयालले एउटा ढाकीमा राखिएको पत्तल (पात)मा नरिवल, सुपारी, चामल, पान आदि वस्तु बेहुलाका अगाडि राखे । ब्राह्मणहरू मन्त्र पढ्न थाले । हवन शुरु भयो । त्यसैबीचमा बेहुलाको निधारमा तिलक (टीका) लगाउने कर्म पनि सम्पन्न भयो । तत्क्षण घरका महिला सदस्यहरूले मंगलाचरण गाउन शुरु गरे ।
यता महफिलमा यशोदानन्दजीले अगाडि बनाइएको मञ्चमा उभिएर दाइजो कुप्रथाका विषयमा भाषण दिन थाले । उनको यो भाषण लिखित थियो । उनले दाइजोका विषयमा ऐतिहासिक मन्तव्य दिए, “परापूर्वकालमा दाइजोको नामोनिशान थिएन । महानुभावहरू ! कसैलाई थाहा थिएन यो दाइजो कुन चराको नाम हो । सही मान्नुस्, यो विषयमा कसैलाई पनि केही थाहा थिएन । यो पशुपक्षी, आकाशजमिन, खानेवस्तु वा पिउने पदार्थ, के हो ? कसैलाई पनि जानकारी थिएन । तर, बादशाहहरूको समयमा आएर यो प्रथाको जग बस्यो । हाम्रा युवाहरू त्यसबेला सेनामा भर्ना हुन थाले । उनीहरू वीर थिए । त्यसबेला सेनामा जानुलाई गर्वका साथ हेरिन्थ्यो । तिनका माताहरूले पनि आफ्ना छोराका हातमा शस्त्रअस्त्र थमाएर रणक्षेत्रमा पठाउँथे । यसप्रकार युवाहरूको संख्या कम हुँदै गयो । त्यसउप्रान्त केटाहरूको मोलतोल हुन थाल्यो । आज अवस्था यो आइसकेको छ कि मेरो यस तुच्छ–महातुच्छ सेवामा पनि पत्रपत्रिकाहरूमा टिप्पणी लेखिन थालिएको छ । मानौं मैले कुनै असाधारण काम गरेको छुु । म भन्छु— यदि तपाईं संसारमा जीवित रहन चाहनुहुन्छ भने यो कुप्रथाको चाँडोभन्दा चाडो अन्त्य गर्नुस् ।”
एकजनाले शंका जाहेर गरे, “यसको अन्त्य हुनुअघि नै हामी मर्छौं त ?”
यशोदानन्दले भने, “यदि यस्तो हुन्थ्यो भने किन कसैलाई सोध्नुपथ्र्यो र ! मानिसले दण्ड पाउने थिए नै र वास्तवमा यस्तै हुनुपथ्र्यो । यो ईश्वरको अत्याचार हो । यतिसम्म लोभी, धनमा लिप्त भएर गिर्र्नेे, आफ्नो सन्तानको विक्रय गर्ने नराधम जीवित छन् र तिनै सुखी छन् । तर, समाज उसको तिरस्कार गर्दैन । लाग्छ— ती सब दास हुन् ।”
भाषण धेरै लामो र हास्यरसले भरिपूर्ण रह्यो । उपस्थित व्यक्तिहरूले खुबै वाहवाही गरे । आफ्नो मन्तव्य समाप्त गरेपछि उनले आफ्नो कान्छो छोरा परमानन्द (जसको उमेर यस्तै ७ वर्षको होला)लाई मञ्चमा बोलाए । उनले एउटा सानो मन्तव्यको नोट लेखेर दिएका थिए । उनी सभामा यो पनि देखाउन चाहन्थे कि कुलको यो सानो बालक पनि कति कुशाग्र र बुद्धिमान छ । सभा, समाजमा बालकहरूबाट पनि मन्तव्य दिन लगाउने प्रथा छ । यो विषयलाई लिएर कसैलाई कुतूहलता भएन । बालक बडो सुन्दर र हँसिलो थियो । ऊ मुस्कुराउँदै मञ्चमा आयो र आफ्नो गोजीबाट एउटा कागज निकालेर बडो गर्वका साथ उच्चस्वरमा वाचन गर्न थाल्यो—
‘प्रिय बन्धुवर, नमस्कार !
तपाईंको पत्रबाट यस्तो लाग्यो— तपाईंलाई ममाथि विश्वास छैन । म ईश्वरलाई साक्षी राख्दै कसम खान्छु— तपाईंले भनेको रकम तपाईंलाई यति गुप्त तरिकाबाट पु¥याउँछु कि कसैलाई सिन्कोबराबर पनि शंका हुनेछैन । तर, तपाईंसँग केवल एउटामात्र जिज्ञासा राख्ने धृष्टता गर्छु । हामीबीचको यो व्यापारलाई गुप्त राखिदिँदा तपाईंलाई जुन सम्मान र प्रतिष्ठा प्राप्त हुन्छ र मेरा निकटवर्तीहरूका बीच मेरो जुन निन्दा हुन्छ, त्यस उपलक्ष्यमा मैले के सुविधा पाउन सक्छु ? मेरो नम्र निवेदन यो छ कि २५ मध्येबाट ५ कम गरिदिएर मलाई न्याय गरियोस् … ।”
यशोदानन्द घरमा आएका पाहुनाहरूका लागि भोजनको व्यवस्थाका लागि आदेश दिन भित्र गएका थिए । बाहिर निस्किँदा उनको कानमा यो वाक्य पर्यो, “२५ मध्येबाट ५ कम गरिदिएर मलाई न्याय गरियोस् … ।”
यति सुन्दैमा उनको अनुहारबाट रंग फुंग उड्यो । उनी तीव्र गतिमा छोराछेउ पुगे र उसले पढ्दै गरेको कागज खोसे । अनि भने, “नालायक ! यो के पढ्दै थिइस् ? यो त मेरो क्लाइन्टको पत्र हो । आफ्नो मुद्दाको विषयलाई लिएर लेखेको थियो उसले । यो तैले कहाँबाट उठाएर ल्याइस् ? राक्षस ! जा त्यो कागज लिएर आइज, जुन मैले तँलाई पढ्न दिएको थिएँ ।”
एकजनाले भन्यो, “पढ्न दिनुस् । यो मन्तव्यमा जुन आनन्द छ, त्यो अर्कोमा नहुन सक्छ ।”
दोस्रोले भन्यो, “अब यो नाटक बन्द गर्नुस् । म हिँडें ।”
चौथोले भन्यो, “म पनि हिँड्छु ।”
यशोदानन्द भन्दै थिए, “बस्नुस् बस्नुस् ! खानाको व्यवस्था हुँदै छ ।”
पहिलोले भन्यो, “बाबु परमानन्द ! यहाँ आऊ त । यो कागज तिमिले कहाँ पायौ ?”
परमानन्दले भन्यो, “बुबाले नै लेखेर टेबलको घर्रामा राखिदिनुभएको थियो । यही पढ्न भन्नुभएको थियो । अहिले बेकारमा रिसाउँदै हुनुहुन्छ ।”
यशोदानन्द बीचमै बोले, “त्यो यो कागज थियो र सुँगुर ? मैले त टेबलमाथि नै राखिदिएको थिएँ । तैले घर्राबाट यो कागज किन निकालिस् ?”
परमानन्दले भन्यो, “मैले टेबलमाथि भेटिनँ ।”
यशोदानन्दले भने, “अनि मलाई किन भनिनस् ? घर्रा किन खोलिस् ? हेर्, आज म तेरो यस्तो हालत बनाउँछु कि जिन्दगीभरि सम्झिएलास् ।”
पहिलो बोल्यो, “यो आकाशवाणी हो ।”
दोस्रोले भन्यो, “यसलाई नेतागिरी भन्छन् । आफ्नो कामको टुंगो पनि लगायो र नाम पनि कमायो ।”
तेस्रोले भन्यो, “लाज लाग्नु पर्ने हो । सम्मान त्यागले पाइने हो, धोखा वा ठगीले होइन ।”
चौथो बोल्यो, “पाउन त पाउनुभएको थियो तर एउटै झिल्काले गर्नु गर्यो !”
पाँचौंले भन्यो, “ईश्वरले पाखण्डीहरूलाई यसैगरी दण्ड दिन्छन् ।”
यति भन्दै उपस्थित व्यक्तिहरू उठ्न थाले । यशोदानन्दले अनुभव गरे— सबै पोल खुल्यो, अब केही हुनेवाला छैन । उनले बारम्बार परमानन्दलाई क्रोधित आँखाले हेरे । सोचे— यो राक्षसले आज जितेको बाजी पनि हार्ने स्थितिमा पुर्याइदियो । अनुहारमा कालो पोतियो । शीर निहुरियो ।
उता बाटोमा उनका साथीहरू यस्तो टिप्पणी गर्दै हिँडिरहेका थिए—
पहिलो— ईश्वरले नै उनको अनुहारमा यस्तो कालो रंग पोते कि अब उनले अनुहार पनि देखाउने छैनन् ।
दोस्रो— यस्ता धनीमानी, विद्वान मानिस पनि यतिसम्म पतीत हुन सक्दा रहेछन्, अचम्म लाग्छ ! लिनै छ भने खुला रूपमा लिएको भए हुन्थ्यो । कसले तिनको हात समाउँथ्यो र ! यो त माल पनि गुप्त रूपमा लिने र यश पनि कमाउने जस्तो कुरा भयो ।
तेस्रो— कपटी मानिसको अनुहारै कालो !
चौथो— यशोदानन्दमाथि दया आइरहेको छ । विचरा उनले गर्नुसम्मको धुत्र्याइँ गरेका थिए, यति गर्दा पनि उनको असली रूप खुलिछाड्यो ।