परदेशीको गीत गाउने गायक पुष्पन प्रधान फेब्रुअरी ३ मा दक्षिण कोरियामा: साथमा अन्य कलाकारले प्रस्तुति दिने
परदेशमा बस्ने परदेशीलाई भन्दा बढि परदेशको कथा कस्लाई थाहा होला ? त्यही परदेशीको कथा टपक्कै टिपेर गाउने गायक पुष्पन प्रधान दक्षिण कोरियामा रहेका परदेशीलाई मनोरञ्जन दिन फेबु्रअरी ३ आउने छन् । नेवाः पुचः दक्षिण कोरियाले गर्न लागेको भिन्तुना सांगीतिक सौगात भाग २ मा आफ्नो प्रस्तुति दिन उनी दक्षिण कोरिया आउने भएका हुन् । नेवाः पुचःले आइतबार सउलमा पत्रकार सम्मेलन तथा चियापान गर्दै सो कुराको जानकारी दिएको हो ।
पुष्पनसँगै शर्मिला श्रेष्ठ, भ्वाइस नेपालमा आफ्नो प्रस्तुतिले धेरैलाई मोहित बनाएकी अनु शाक्य, लोक दोहोरी गायक खुमन अधिकारी, उत्तमजंग लिम्बु र तारा शिरीमगरले दक्षिण कोरियामा रहेका नेपालीलाई मनोरञ्जन दिने छन् । ‘सलनालको बिदा सुरु हुने दिन भएकोले सबै दक्षिण कोरियामा हरेका नेपाली आउनु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ । साथै हाम्रो लक्ष्य पनि राम्रो छ ।’ कार्यक्रम संयोजक श्रीप्रसाद श्रेष्ठले भने । ‘हामीले कार्यक्रमको ५० प्रतिशत आम्दानी नेपालको बिकट क्षेत्रमा बन्न लागेको रास्कोट अस्पताललाई दिनेछौ ।’ उनले भने ।
‘नेवाः पुचःले कार्यक्रम सकिएको केही समय पछि नै आफ्नो सहयोग दिन्छ । दक्षिण कोरियामा अरुले जस्तै गफै मात्र दिने होइन । हामी काम गरेर देखाउँछौ । सहयोग गर्छु भन्ने कार्यक्रम गर्ने । नाफामा जाने अनि चुपचाप बस्ने चलन छ । नेवाः पुचःले त्यस्तो गर्दैन ।’ संस्थाका अध्यक्ष पुरु जोशीले भने । ‘यो मनोरञ्जनसँगै सामाजिक सेवा हो । दक्षिण कोरियामा रहेका सबै नेपालीलाई कार्यक्रममा आउन आग्रह गर्छु ।’ उनले थपे ।