कविता
ल्होछार
च्याङबा
थाहा छ कि छैन तिमिलाई
गाउँ गाउँमा टोल टोलमा
बस्ती बस्तीमा हरेक घर घरमा
हर्ष, समृद्धि र एकताको कोसेली बोकेर
तिम्रो आगनमा उभिएर
हावाको बेगसंगै समयलाइ दौडाउदै
फर्फराइरहेको पुरानो “लुङ्दार” को बाटो हुदै
सुनौलो मिर्मिरेको किरण सँगै
लुकामारी गर्दै आईपुगेको छ
हाम्रो सोनाम ल्होछार ।
तिमिलाई थाहै छ च्याङबा
पोहोर सालको ल्होछारले
हामीलाई सम्झिएन
या त हामीले सम्झेनौं
समय आफ्नो नियममा चलेकै थियो
कि त कुनै जालसाँझ हुनुपर्छ
कि त कुनै परिबन्धमा थियौं
र त अधुरै रहेको थियो
सयौँ बर्ष अघि देखिको
ढाक्रे म्हेमेको ईतिहास बोकेको
ताम्बा आख्खेको सेलो भाकामा
एउटै डम्फुको घेराभित्र बाँधिएर
धित मरुन्जेल नाच्ने हाम्रो रहर ।
हो‚ यस्तै यस्तै बहानाहरुमा
पुर्खाको कैयौ सपनाहरु अधुरै थियो
लुटिएको थियो रहरहरु
चुँडिएका थिए बैसहरु
काटिएको थियो ह्रिन्छेन र उर्गेनको टाउको
खोसिएको थियो राज्यहरु
र बनाईएको थियो मासिने मतवाली ।
स्वघोषित सुद्ध तागाधारी
र
जबर्जस्त थमाई दिएको
शुद्र‚ मासिन्या मतवाली
ईतिहासको बिभिन्न कालखण्डमा
अनेकौ रुप र आकारहरुमा
यो दुई वटा ध्रुबको टकराब
अझ भनौ‚
यो दुईटा जातीको अस्तित्वको लडाई
आज २५४ बर्ष पुगेछ
तर पनि‚ सकिरहेको छैन अझै
स्वीकार्न एक अर्काको अस्तित्व ।
म अहिले पनि भनिरहेको छु
उसले जबर्जस्त थमाईदिएको
यो शुद्र जात मलाई मान्य छैन
जो उसले चाहेमा जे पनि गर्न सक्छ
तर उ चाहन्छ
म अझै मासिन्या शुद्र नै बनिरहु
जे जे भन्छ मानिरहु ।
अत्याचारले सिमा नाघ्यो
मलाई त कदापि मान्य छँदैछैन
अब त पुर्खाको आत्मालाई पनि
मान्य भएनछ क्यारे
र त चम्किरहेकोछ तिप्लिङ
बेजोडले गड्गढाईरहेछ आकाश
लाग्छ‚ यतै कतै घुमिरहेको छ
पुर्खाको असन्तुष्ट आत्माहरु
म देखिरहेछु
याबेङखोला र रानीदहहरुबाट
बेजोडले उम्रिरहेका छन रक्तबिजहरु
हो‚ यहि बेला हो हामी ब्युझीनुपर्ने ।
आउ च्याङबा र मैच्याङहरु
आउनुस म्हेमे माम र आख्खेहरु
अनि आउनुस सबै सबै जना
भाबि सन्तानको सुन्दर भबिष्य र
पुर्खाको सम्मानको लागि
गतिवान समयलाई पनि
आफ्नै पावन्दिमा कब्जा गरौ
आउ सबै सबै युवाहरु
बर्षौको दासत्वको जालो तोड्नका खातिर
हिजो बन्दुक थामेको हातमा डम्फु थमाऔ
रक्तक्रान्तिको ज्वालामुखि गाउने ओठहरुले
सेलोको भाकामा ताम्बाको कईरन गाऔ
र
रणमैदानको परेडमा
लेफ्ट राईटमा मिल्ने त्यी गोडाहरु
डम्फुको तालमा त्यसै गरी मिलाऔ ।
सहिष्णुताको पाठ सिकाउँदै
शिबरात्री दशै र तिजमा
रातो साडि‚ सिन्दुर र पोते पहिरिएर
शिबलिङग ढोग्न पुग्ने मेरी तामाङनी चेलीहरु
जसरी सम्मान गर्यौ तिमिले उसको पर्बलाई
त्यसैगरी लिएर आउनु उसलाई पनि
तिम्रो ल्होछारलाई सम्मान गर्न
लगाइदिंउला नयाँ नयाँ गोईलो
ओढिदिंउला शिरमा पहिचान समेटिएको तागि
स्विकारौला एक अर्काको अस्तित्व
अनि
घन्काउँला समानताको धुन
र
बेस्सरी नाचौला यसपालिको ल्होछारमा ।।।