डायस्पोरा ,भ्रम र यथार्थ
केहि दशक एता नेपाली साहित्यमा डायस्पोराको बहस,चर्चा हुँदै आएको छ। विशेष गरि कुनै काम विशेषले आफ्नो देश छोडेर अन्य मुलुकमा बसेकालाई डायस्पोरा भनिदै आएको छ। कुनै विषयमा बहस ,चर्चा हुनु बहुत राम्रो कुरा हो। बहसले मात्र निचोडमा पुग्न सकिन्छ। तर बहस विषय को वास्तविकता भन्दा फरक र तेस्को स्वरुपलाई नै बिगारेर गर्न थालियो भने पकै त्यो सान्दर्भिक हुदैन। आफ्नो देशलाई छोडेर रोजगारी ,पढाई वा अन्य विषेश कामले निस्चित समयवधिको लागि राहदानी र भिषा हातमा बोकेर बिदेश गएकालाई समेत डायस्पोरिक भनिदै आएको छ। खासमा डायस्पोरा के हो त? यसको ऐतिहासिकता के छ? के नेपाली साहित्यमा डायस्पोरा शब्द सान्दर्भिक हुन सक्छ? यस्को सैद्धान्तिक आधार के के छन त? यी यस्ता विविध कुराहरुलाई मध्यनजर नै नगरी जवरजस्त डायस्पोरालाई नेपाली साहित्यमा घुसाउन खोजिएको पाईन्छ ।
डायस्पोरालाई बुझ्न सबै भन्दा पहिले डायस्पोरा शब्दको उत्पति ईतिहास सम्म पुग्नु पर्ने हुन्छ। डायस्पोरा शब्द करिव ईसाको पहिलो /दोस्रो शताब्दिमा लेखिएको बाइबलमा प्रयोग गरिएको पाईन्छ। यो बिशेष गरि ग्रीक शब्द Disperson बाट Diaspora भएको हो । यसको अर्थ फैलिनु भन्ने हुन्छ।डायस्पोरा बिस्थापित, आप्रवासन संग बढी सम्बन्ध राख्छ। डायस्पोरा यहुदी संग सम्बन्धित शब्द हो । यो ईसाको छैटौं शताब्दी तिरै ग्रीसमा चर्चामा आएको पाईन्छ। अङ्ग्रेजी मा भने करिव बिसौं शताब्दीमा मात्र चर्चा हुन थालेको हो। शुरुमा डायस्पोरा भनेको प्यालेस्टाइन बाट बिस्तापित भएर अन्यत्र ठाउँमा आप्रवासन गरेका यहुदीहरुलाई सम्बोधन गर्ने गरिन्थ्यो। ईसाको छैटौं शताब्दी तिर युद्दका कारण प्यालेस्टाइनबाट व्यापक रुपमा यहुदीहरु बिस्थापी भइ अन्यत्र ठाउँमा सरेका थिए। विशेषत: युद्द वा कुनै कारणबाट विस्थापित भइ मुल थलो,पुर्खौली ठाउँ छोडेर निर्वासन हुनु र अन्यत्र ठाउँमा अथवा देश भन्दा बाहिर आप्रवासन हुन लाई नै डायस्पोरा भनिन्छ। कुनै कारणवस मातृभुमी त्यागेर अन्य देशमा गइ त्यहाँ स्थाई रुपले बसोबास गर्नु लाई नै डायस्पोरा बुझाउछ। नयाँ ठाउँमा गए पछि त्यहाँको रहन,सहन,सामाजिक,सांस्कृतिक परिवेसमा जीवन बाँच्ने क्रममा आफुले अनुभुत गरेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भनिदै आएको छ।
डायस्पोराको नेपालीमा ठ्याक्कै अनुवाद वा शाब्दिक अर्थ अहिले सम्म यहि नै हो भनेर किटान गरिएको छैन। प्रवासी,आप्रवासी ,प्रदेशी ,लाहुरे लगायतका शब्दहरु प्रयोग हुँदै आएता पनि यी शब्दहरु सबै चाहिँ डायस्पोरा संग सम्बन्ध राख्दैन। नेपालमा भने डायस्पोराको बहस वा चर्चा कहिले देखि हुँदै आएको भन्ने मा लेखक,समालोचकहरुको आ – आफ्नै दावी रहेको छ । प्रा.डा खगेन्द्र लुईटेलको अनुसार गैरआवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाद्वारा २०६४ असोज २७ गते काठमाडौ“मा आयोजित गोष्ठीमा ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, नामक कार्यपत्र प्रस्तुत पश्चात नेपाली साहित्यमा डायस्पोराको चर्चा हुन थालेको हो। अर्का प्रा.डा गोविन्दराज भट्टराईका अनुसार ‘उतर आधुनिक ऐना’ नामक आफ्नो किताबमा आफुले डायस्पोराको व्यापक चर्चा गरे पछि नेपाली साहित्यमा चर्चा हुन थालेको हो। प्रा.डा गोविन्दराज भट्टराईको उपन्यास ‘मुग्लान’लाई पहिलो डायस्पोरा किताब मानिदै आएको छ। प्रदेशीको कथा ब्यथामा लेखिएको कुनै कृतिलाई नै डायस्पोरिक मान्ने हो भने लक्ष्मी प्रसाद देवकोटाको ‘मुनामदन’ लाई डायस्पोरिक मान्ने कि नमान्ने? प्रदेशको कथा,ब्यथामा लेखिएको कुनै पनि साहित्यलाई डायस्पोरा भन्नू नै गलत हो। यहाँनेर नै समालोचक ज्युहरुले ठूलो भ्रम छरिरहेका छन। खैर, जस्ले जस्तो दावी गरेता पनि यो शब्द चाहिँ प्रा.डा हरुले नै भित्र्याएका हुन। प्रा.डा हरुले जुन नयाँ कुरा भित्र्याछन त्यसको अर्जुनालिटीलाई बिगारेर वा आफ्नो अनुकुल बनाएर व्याख्या गर्दै आएका छन यो सहि होइन।डायस्पोरा के हो? नेपाली डायस्पोरा कस्लाई भन्न सकिन्छ? त्यो उहाँहरुलाई राम्रोरी थाहा छ तर नेपाली साहित्यमा आफ्नो अनुकुल ब्याख्या गरेका छन । डायस्पोरालाई नेपाली साहित्यमा कोक्टेल बनाई सकेका छन। जुन सादा रक्सी भन्दा बहुत मात लाग्छ। अहिले बिध्यार्थी डायस्पोरा,कामदार वा मजदुर डायस्पोरा,सैनिक डायस्पोरा, बसाइँ सराई डायस्पोरा भनेर विभिन्न रुप दिएर व्याख्या गर्न समेत भ्याएका छन। डायस्पोरालाई एउटा साझा शब्दको रुपमा बिकास गर्न खोजिरहेका छन यो गलत हो। हातमा पासपोर्ट छ,निस्चित समयवधी को भिषा छ उनिहरुलाई कसरी डायस्पोरा भन्न सकिन्छ? यो कुरामा गम्भीर रुपले बहस गर्नु पर्ने देखिन्छ।
चर्चित कवि तथा साहित्यकार हाङयुग अज्ञात होङ्कोङ बाट चाउचाउ साहित्यको प्रस्तावनामा लेख्नु हुन्छ ‘हाम्रो बसोबास हङकङमा भएता पनि हामीसित नेपाली नागरिकता र पासपोर्ट छ । हाम्रो सम्बन्ध मातृभूमिसित टुटिसकेको छैन, हाम्रा आफन्त र थातथलो नेपालमै छन् । हामी भारत दार्जिलिङबाट आएका नेपालीहरू पनि छौं जो अझै पनि दार्जिलिङसितै गाँसिएका छौं । तेसो र हामी नेपाली डायस्पोरा होइनौं, हामी हङकङका नेपाली हौं र हामीले लेखेको साहित्य हङकङको नेपाली साहित्य हो । हामी तथाकथित नेपाली डायोस्पोरा अस्वीकार गर्छौं ।’कुरा स्पष्ट आएको छ। को हुन वास्तविक डायस्पोरा? के केहि समय बिदेश बस्दैमा हामी डायस्पोरीक भइ हाल्छौं त? लेखक तथा समालोचकहरुले जबरजस्त घुसाउन खोजिरहेका छन। त्यसको पछि कुद्नेहरुले पनि खास कुरा नबुझी लागिरहेका छन। हाल म बसेको देश(द.कोरिया) मा विभिन्न साहित्यिक संस्थाहरु स्थापित छन। ती संस्थाले आयोजना गरेको साहित्यिक कार्यक्रममा पनि प्रायः गर्वका साथ हामी डायस्पोरिक हौँ भनिरहेको देख्छु। ती साथिहरुलाई सोध्न मन लागेको छ नेपालको नागरिककता त्यागेको कति भयो? कोरियामा स्थायी बसोबासका लागि कोरियन नागरिकता कहिले लिनु भयो? तर खासमा उनीहरु संग मात्र तीन वर्षको भिषा छ आफुलाई गर्वका साथ डायस्पोरा भएको दावी गर्छ। हो यो नै सबै भन्दा ठुलो भ्रम हो । जस्ले देशलाई माया मारेर नागरिकता त्यागेको हुन्छ। स्थायी रुपमा अर्को देशमा बसोबास गरिरहेको हुन्छ। अर्को देशको नागरिकता लिएको हुन्छ । वास्तविक डायस्पोरा ती हुन। डायस्पोरा भन्नै पर्ने हो भने अमेरिकाको ग्रीन कार्ड लिएर स्थायी रुपमा बसेका नेपाली,अस्ट्रेलिया ,बेलायतमा स्थायी रुपमा आप्रवासन गरिरहेका नेपालीहरुलाई नेपाली डायस्पोरा भन्न सकिन्छ। तर अध्ययनका लागि ,रोजगारीको लागि,भ्रमणका लागि निस्चित समयको लागि भिषा लिएर बसेकालाई डायस्पोरा भन्नू पितल लाई जबरजस्ती सुन हो भने जस्तो मात्र हो। आफ्नो पुर्ख्यौली देश त्यागी दोश्रो मुलुकमा स्थायी रुपले बसाइँ सरेर जादा त्यो देशको समाज,संस्कृति संग घुलमिल हुनको लागि अनेक खालको समस्याहरु आई पर्छन । त्यति बेला अनुभुत गरेर लेखिएको साहित्यलाई डायस्पोरिक भन्न सकिन्छ। तर अहिले दावी गरिएको डायस्पोरिक साहित्य प्रदेशिको कथा ,ब्याथा लेखिएको सबै साहित्यलाई डायस्पोरिक भन्दै आएका छन त्यो गलत हो । कतिपय नेपाल मै बसेर लेखिएको साहित्यलाई समेत डायस्पोरिक साहित्य भन्ने गरेको पाईन्छ। प्रदेशको सुख,दुखमा लेखिएको साहित्यलाई नै डायस्पोरीक भन्ने हो भन्ने नेपालमा त्यस्तो साहित्य कति छन कति। त्यसो हो भने अब डायस्पोरीक गीत ,सिनेमापनि टन्नै हुने भयो।
डायस्पोरा आफैमा नेपाली मौलिक शब्द होइन। डायस्पोराको ठाउँमा हामी आफ्नै मौलिक शब्द पनि प्रयोग गर्न सक्छौ। किन भने डायस्पोराको आफ्नै खालको ईतिहास छ। जुन ईसाको छैटौं शताब्दिमा युद्द द्वारा विस्थापित शरणार्थी यहुदीहरुलाई सम्बोधन गरिएको शब्द हो। हामी डायस्पोराको ठाउँमा जस्तै अमेरिका नेपाली साहित्य,बेलायत नेपाली साहित्य ,कोरिया नेपाली साहित्य अथवा प्रवासी साहित्य त्यो पनि नभए प्रदेशी साहित्य भन्न सक्छौं । अमेरिकाबासी नेपाली,अस्ट्रेलियाबासी नेपाली भन्न सक्छौं ।हामी संग सम्बन्ध नै नभएको शब्दलाई किन हामीले जबरजस्त बोकि हिड्नु पर्ने? यो डायस्पोरा शब्दलाई व्यापक बनाउन सबै भन्दा धेर अनेसास (अन्तरास्ट्रिय नेपाली साहित्य समाज) ले भुमिका खेलीरहेको छ। हामी माथी जबरजस्त डायस्पोरा शब्द लादेर अन्याय गरिरहेका छन। नेपाललाई माया मारेर स्थायी रुपमा अन्यत्र देशमा बसोबास गर्नेलाई त सहि होला तर हामी जस्ता केही निस्चित समयका लागि बिदेश बस्नेहरुको लागि अन्याय नै हो। त्यसैले हामीले डायस्पोरा बोकी हिड्नुको कुनै तुक छैन। अहिले आएर आप्रवासी यहुदीले समेत यो डायस्पोरा शब्दलाई घृणा गर्छन। मनु बाज्राकी ले भने जस्तै डायस्पोरा ,यहुदीले फालेको थोत्रे बोरा भन्दा अरु केही होइन।