कोरियामा सोनाम ल्होछार मनाइयो , डम्फूरे, सेलो र म्हेन्दोमायामा झुमे सयौं दर्शक
तामाङ गाउँ बेसीमा गाइने सेलो जुहारी । अनि तामाङ समुदायमा मर्दा पर्दा मुख्य भुमिकामा देखिने ताम्बागान्बा । तामाङ बाजा टुङ्ना र डम्फु । घोइलोमा चटक्क परेका छारी ब्योन र मैच्याङहरु । सोमबार दक्षिण कोरियाको सउलको एडब्लु कन्भेन्सन सेन्टर लाग्थ्यो कुनै तामाङ गाउँ हो । अनि लाग्थ्यो कतै तामाङको बस्तिमा ठूलो चाड भैरहेको छ । गाउनेहरु गाउँदै थिए । नाच्नेहरु नाच्दै । कन्भेन्सन सेन्टरको गेटैमा तामाङ तागी चटक्क राखिएको थियो भने तामाङ पहिचानको किताब ताम्बा काइरन पनि । यो सबै अबसर थियो नेपाल तामाङ संघ दक्षिण कारियाको आयोजनामा २८५५ औं बृहत सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रमको ।
दक्षिण कोरियामा बस्ने धेरै तामाङ भेला भएका थिए । कार्यक्रममा भाग लिन टाढा टाढाबाट आएका थिए । यो हाम्रो चाड हो । हामीलाई अरु कुरा भन्दा पनि सलनालको पहिलो दिन हाम्रो ल्होछार हो भन्ने थाहा छ । जेजुदोबाट आएकी अमिरा तामाङले भनिन् । प्रत्येक बर्ष सलनालमा म उताबाट आउँछु । यहाँ आएर सबै दाजुभाइ भेटदाको मलाई गाउँको याद नै मेटाउँछ । उनले थपिन ।
कार्यक्रमका लागि नेपालबाट टिका बम्जन, दावावाङगेल माेक्तान, फूलकुमार बम्जन, जीवन बम्जन, जोगलाल लामा र म्हेन्दोमाया तथा सेलो गायिका विना घले लोप्चनको अाएका थिए । उनीहरूकाे गीत गाउँदा ल्होछारप्रेमीहरु झुमेका थिए । साथमा जापानबाट आएका परस्वती तामाङ स्थानीय कलाकारहरु कला ग्लान, मनिराज तामाङ, कमला थोकार, निरु तामाङ, कला ध्यान, डिलिमा तामाङ, अमन थिङ, भवश्वी बम्जन, ज्ञान लामा, राज लामा, रहर तामाङ, रमन पाख्रिन, डोमा योञ्जन, अञ्जु योञ्जन, सुजिता लामा, अनिता गुरुङ, सोनाम माम्बा लगायतको गायन तथा नृत्य बेजोड प्रस्तुति रहेको थियो ।
दिउँसो एक बजेबाट सुरु भएको कार्यक्रम बेलुकी आठ बजेसम्म निरन्तर चलेको थियो । नाचगान र आफ्ना पहिचान र अधिकारका कुरा गरेका थिए । कार्यक्रम संयोजक एवं नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघ वाईबा तामाङले नेपाल सरकारले समुदायलाई विभेद गर्दै ल्होछारलाई विदा कटौटी गरेकोमा आपती जनाउदै अबको दिनमा सोनाम ल्हाछारले विदा दिनैपर्ने बताए । उनले नेपाल विकेन्द्रीकृत राज्य संरचना प्रणालीमा गइसकेको बताए । ‘अबको दिनमा सम्पूर्ण समुदायको पर्वलाई विदा घोषणा गरेन भने हामी प्रवासमा रहेका युवाहरु स्वदेश फिर्ता भएर सडकबाट घोषणा गर्नेछौ’ उनले थपे ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महांसघ दक्षिण कोरिया कार्यवाहक अध्यक्ष मल्लिका थाकालीले ल्होछारको शुभकामना दिदै आदिवासीको आफ्नो हक अधिकारको शक्ति प्रर्दशन तथा पहिचानको लागि निरन्तर लागी रहनु पर्ने बताइन् । उनले आदिवासीको पहिचानको मुद्धालाई निरन्तर दबाब सहित अघि बढ्नु पर्ने बताइन् ।
सात जना उत्कृष्ट ब्यक्तित्वहरुलाई सम्मान
कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो कार्य मार्फत तामाङ समुदायको पहिचानमा योगदान दिए बापत दक्षिण कोरियामा रहेका सात जना ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । विगत बर्षमा नेपालका टिभीमा सामाचार प्रस्तोता, फोनज कोरियामा काम गर्दै आएकी र तामाङ पत्रकार संघ कोरिया शाखाका अध्यक्ष सिमा लामा, तामाङ संघ दक्षिण कोरियाले गरेको कोमेन्दो डाजाङ कन्सर्टमा राम्रो कार्य गरेका सरिता लोप्चन, स्नेह लामा, दक्षिण कोरियामा लामो समय आफ्नो गायन मार्फत तामाङ समुदायको पहिचानलाई सहयोग गरे बापत गायक अमन थिङ, आफ्नो नेतृत्वमा दक्षिण कोरियाको नेपाली माझमा सबै भन्दा ठूलो कन्सर्ट गरेका निर्वातमान अध्यक्ष उइनासिं वाइबा, तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानका अध्यक्ष विश्वास ब्लोन, दक्षिण कोरियामै लामो देखि रहेर चित्रकलाबाट तामाङ समुदायको गौरब बढाए बापत मनोज लामालाई सम्मान गरिएको थियो ।