हिउँ
कालिञ्चोकको डाँडोमा
सेताम्मे हिउँ झरे पछि
तिमी त्यता फर्किएर भन्थेउ
हिउँ कपास जस्तै हुन्छ ।
म सम्झन्थे
फुपुले आसामबाट ल्याएकी आसामे पुरानो सिरकको
मक्किएको खोल
छेउ छेउबाट निस्किएको मैलिएको कपास
म यसो छाम्थे
हिउँ नरम हुने रहेछ ।
…..
तिमी सम्झदै भन्थेउ
हिउँ फुर फुर झर्छ
तातो हत्केलामा पर्ने बितिक्कै
पग्लेर पानी बन्छ ।
…..
हिउँमा हिउँ मान्छेका पाइताला हुन्छन्
छपक छपक बसेको
ती कता जान्छन् कता घुम्छन् सबै देखिन्छन्
म अचम्मै पर्थे
म पनि आफ्नो पाइतालाको छाप
छपक छपक राखेर हेर्न चाहन्थे
हिउँ मान्छे झै ।
……..
धेरै पछि हिउँ नै हिउँ पर्ने ठाउँमा छु आमा
तिमीले सुनाए जस्तो हिउँ कतै भेटिन
यहाँको हिउँ नरम हुदैन
छेड्न खोज्छ मेरो एक बार जुनी
यो त तिखो पो हुन्छ सियो झै ।
फुर फुर झर्छ हिउँ झर्न त
तर पानी बन्दैन हत्केलामा
बरु हत्केला नै हिउँ बनाउँछ
एकै झट्कामा ।
हिउँमा छपक छपक पाइतालाको छाप बनाउने
मन मर्यो आमा
पाइतालाको छापमा अर्को पाइताले थिचे पछि
न पुरानो पाइताला बस्छ न नयाँ पाइताला नै बन्छ
बरु बन्दो रहेछ हिउँको पथ्थर
साह्रो, अप्ठ्यारो र चिप्लो ।
………
खै हिउँका कुरा के गर्नु ?
हिउँले नै पोलेको बेला ।