भाउ खाने केटी
शकुन जी कोरियामा केटीहरु किन भाउ खान्छन् ?
नजिकको अनि एकदमै प्रिय लाग्ने कविले प्रसङगबस् भन्नुभयो ।
त्यसो त हामी रेला गफ गर्नुमा पछि पर्दैनौँ । ११ र १२ बर्षबाट लेखनको बाटोमा छौँ । त्यो बेला उहाँ कवितामा पुरस्कार थाप्नुहुन्थ्यो म गजल लेख्न सिक्दैथेँ । संयोगबस् कोरियामा अहिले सङगै छौँ र कहिले कहि हुने कार्यक्रमतिर भेट हुन्छौँ र बिगतलाई कोट्याउँछौँ ।
लौ तपाई जस्तो मान्छेले यसो भन्न मिल्छ ? रेलामै अलिक गम्भीर हुँदै प्रतिप्रश्न गरेँ । हुन त “भाउ खाने केटि“ वाक्य नौलो थिएन सुन्नलाई । फेसबुकमा आईरहने शब्द हुन् यी । आफु केटि भएको नाताले धेरैले स्वयम् मलाई भनेका छन् यसरि, भनि माग्नुको कारण हुन आउँछ, (मसेजको रिप्लाई नदिनु, कलफोन रिसिभ नगर्नु, उनिहरुको पोष्टमा कमेन्ट नगरिदिनु, आदी ईत्यादी । मन लाग्छ प्रतिकृया दिन्छु लाग्दैन दिन्न । मान्छे आफु जे हो र जति छ तै त्यति नै अरुलाई दिन्छ भन्ने कुरा सँधै जीवित छ मसँग । क्रम यसरि हुँदै जाँदा कतिले ब्लक गरेर गए, कतिलाई मैले गरिदिएँ, यो ईतिहाँस यति नै अहिलेलाई ।
कवि ज्यू फिस्स हाँस्नुभो र भन्नुभयो हैन क्या, सुन्नुन आजको घटना संयोगले त्यो दिन आईतबार अर्थात् बिदाको दिन थिएछ । हजुर भन्नु, मैले अनुमति दिएँ ।
आज मार्टमा नेपाली दुई बैनीहरुथ्यो र बोलाउन खोजेको पर पर जान्छ लौ, अनि अरु बिदेशी केटाहरुसँग पो जान्छ हौ । अरु भन्नुहुन्थ्यो होला मैले यहिँ रोकेर भनेँ, हेर्नु त्यो बिदेशीहरु उनिहरुको बोयफ्रेन्ड हुन सक्छ, यदि हैन भने सङगै काम गर्ने साथी हुन सक्छ । अर्कोकुरा तपाई नेपाली हो भनेर नचिनेको हुन सक्छ । यसो भन्दैमा भाउ खायो भन्नु हुँदैन कवि ज्यू , उहाँलाई काम नलाग्ने सल्लाहकार बनेँ । हैन प्रायस केटिहरु तेस्तै भेटेको छु मैले तपाई बाहेक, आफ्नै ठानेर बोलाउन खोज्यो तर्किएर जान्छ । यहाँ मलाई जोडेर जिस्किनुभयो, दुवै हाँस्यौँ र फेरि मैले भने, हेर्नुस् कवि ज्यू यो संसारमा केटि मान्छे खास कस्तो भएर बाँच्नेहोला ? स्वतन्त्र भएर सबैसङग हाँसेर, खुलेर बोलेपनि चरित्रमा औँला ठडिने र चाँहिँदो र कम बोल्ने, अरुले बोलाउँदा हतपत् नबोल्ने केटिहरुलाई पनि ’भाउ खाने केटी’ भन्ने । अब भन्नुस् हामी केटीहरु कसरि बाँच्ने ?? सिरियस प्रश्न गरेँ, कुरैकुरामा दुखिसकेको रहेछु, मेरो अनुहारको हाउभाउमा फरक आएको देखेर होला उहाँ आत्तिनुभयो, लौ तपाई त रुन पो लाग्नुभो त मैले त जिस्केर भनेको हुँ, उहाँले फकाउन खोज्नुभयो तर म रिसाएको थिईन । र फेरि भनेँ कवि ज्यू, तपाई केटा मान्छे म केटी । हामीले जति नै जान्दछौँ भनेर ठोकुवा दिएपनि तपाईले केटीमान्छेको फिलिङस कम जान्नुहुन्छ र मैले केटामान्छेको फिलिङस कम । यो ’भाउ खाने केटि’ त बारबार सञ्जालतिर सुनिदै आएको हो सो नौलो भएन हामी फेबुकेलाई । तर केटिहरुले सबैलाई भन्नै नसकेको र प्राय केटाहरुले केटिहरुलाई भनिरहने नाङगो शब्दहरु पनि त मनग्यै छन् । सन्दर्भ कोरियाकै हो है फेरि, उहाँलाई ध्यानाकर्षण गराएँ । उम् भन्नु न शकुन जी, उहाँ जिज्ञासु हुनुभयो । म यसै उत्साहित भएँ । घटना म सङग घटेको हैन कि केहि साथीहरु र दिदीबैनीले भोगेको घटनाहरु हुन् । उहाँले नपत्याए झैँ गर्नुभयो, म हाँसे मात्रै र अगाडि बढेँ । दिदी बहिनीले पनि त कति गुणासो पोखेका छन् म सङग, कि बाहिर निस्किदा कति भल्गर शब्दहरु बोल्छन् केटाहरु हामी माथि । नेपाली हो भनेर बोल्न नै सकिन्न, तिनिहरुको बोलि सुनेर घिन लाग्छ, डर लाग्छ । उनिहरुले नेपाली भनेर चिनेर भनेको त पक्कै हैन तर आम केटिहरुलाई गर्ने ब्याबहार र बोल्ने तरिका सुन्दा नमज्जा लाग्छ । बिदेशी केटिहरु भनेर होला नेपालीमा सबसे नीच शब्दहरु बोल्छन् छि,, कसरि सुन्नु । पीडा यस्तो छ दिदीबैनीहरुको कवि ज्यू । उहाँले केहि बुझे झैँ गर्नुभयो र टाउको हल्लाउँदै सहमती जनाउनुभयो । म हाँसे र फेरि भनेँ केटा यस्तो, केटि यस्तो के भन्नु ब्यक्तिमा फरक पर्छ । सबै केटाहरु तपाईजस्तो हुँदैनन् र सबै केटिहरु म जस्तो पनि । हामी कुरैकुरामा अलि गरिहियौँ । ल शकुन जी, अब अरु कुरा गरौँ, उहाँले भन्नुभयो । उहाँले प्रसङग बदल्न चाहानुभयो र बदलिहाल्यौँ र फेरि पुरानो कुराहरु, लेखनिय कुराहरु बोलेर छुट्टियौँ अर्थात् फोनबाट डिस्कनेक्ट भयौँ ।
कोरिया आएको करिब ४ बर्षको अनुभव हो भन्दा फरक पर्दैन । यो बिचमा धेरै साथीहरुसङग उठबस गरियो । कामको हिसाबले केटिहरुसङग नै अलि बढि । र कामकै सिल्सिलामा गरिएको गफको संक्षिप्त तर सोचनिय कुराहरु म यहाँ फुकाउन चाहेँ । प्राय दिदीबैनीहरुले भनेका छन, बाहिर हिड्दा केटाहरुले जिस्काएको अनुभव । र त्यो जिस्काउने केटाहरु बिदेशी नभई नेपाली दाजुभाई हुन्छन् । प्रायजसो बाहिर हिँड्दा मेकअप र ड्रेसअप राम्रो गरेका नेपाली मङगोलियन दिदीबैनीहरुलाई झट्ट हेर्दा कोरियन देखिने भएकोले पनि नेपाली दाजुभाईले जिस्काएको हो । ट्रेन स्टेसन, बस टर्मिनल, सपिङ सेन्टर लगायत ठाउँतिर नाङगो अपाच्य शब्दहरु बोलिहिड्ने नेपाली दाजुभाईहरु प्रसस्तै छन्, कोरियाको हकमा केटीहरुलाई गरिने सम्मान छुट्टै छ । केटिमान्छे र उनिहरुको संवेदनशिलता प्रति यहाँको कानुन सचेत छ र यहाको जनमानिसबाट डराउनु जरुर छैन । तर नेपाल हाम्रै देश हो जहाँ केटिमान्छे र उनिहरुप्रति गरिने नीच ब्याबहार र कमजोर सोँच बोकिहिँड्ने नेपाली दाजुभाईहरुले जुन देश गएपनि यो कमजोर मानसिक्ता छोड्न सकेका छैनन् । आफ्नो सस्तो औकात देखाईरहेकै छन् कति घटना र दुर्घटना बनेर फैलिएका छन् कति गोप्यता । कोरिया बाहिरका देशतिर पनि कति काम नपाएर बिपदमा परेका र कति म्यानपावरको फन्दामा परेका दिदीबैनीहरु सहयोगको अपिल गर्दा मेरो गर्लफ्रेन्ड बन्छस् भनेमात्रै सहयोग गर्छु भन्ने दाजुभाईहरु अनि ईन्कार गर्यो भने उल्टै बद्नामीको पगरी गुथाउने पनि हुनुन्छ । दुख लाग्छ, कि एउटी आमाको कोखबाट जन्मिएर हुर्किएको एक छोरोले किन चेतना गुमाउँछन् देश छोडेपछि ? त्यसो त देशमै पनि कहाँ सुरक्षित् छन् र दिदीबैनीहरु । त्यसाे त देशमै पनि कहाँ सुरक्षित् छन् र दिदीबैनीहरु । यस्ता चेतनाहरुको बिकास नभईसकेको देशमा बस्नुभन्दा बिदेशमै सुरक्षित महसुस हुन्छ घरिघरि त जरुर देश फर्किनु त छँदैछ ।
मैले यसो भनिरहँदा भएजतिको गल्ती र कुकर्म केटाहरुले मात्रै गरेको छ भनेकी हुईन। संलग्नताको हिसाबले अौसतमा केटिहरु पनि छन्, अछुतो छैनन् । तर पनि केटाहरुबाट पीडित अाम केटिहरुले हतपत सञ्जालतिर बताएर हिँडेका छैनन्, हुँदैनन् । यो पछिल्लो समयमा सामाजिक सञ्जालतिर बढि भन्दा बढि अाईरहने वाक्य हुन् “भाउ खाने केटी” । जस्ले जसरी बोलायो तेसैगरि बोल्यो भने पनि चरित्रहिन् केटी भनेको छ र अाफ्नै तरिकाले जोगिएर हाँस्यो, बोल्यो भने पनि भाउ खायो भनेको छ । अब तपाईहरु नै बताईदिनुहोस् कि केटीहरुले कसरी बाँच्दा यो दुई नामबिना बाँच्न सकिन्छ ?? प्रश्न पुरुष महाशयहरुलाई ।