माम अर्थात हजुरआमा
सधै यस्तो हुँदैन । जब शब्दहरु खोज्छु मन अमिलो हुन्छ । सम्झना झन ताजा हुन्छ । चित्त दुख्छ । आँखा त्यस्सै रसाउँछ । लेखिनु पर्ने शब्दहरु त्यस्सै कता हराउँछ हराउँछ । घरि के सम्झन्छु घरि के ?
कुनै जमना थियो । गाउँमा गाडी जाँदैनथ्यो । अहिले पनि पानी झरी परेको बेलामा जाँदैन । काठमाडौ जिरी सडकमा पर्ने मुडे हाम्रो लागि नजिकको बजार हो । यो बजार पुग्न झन्डै २५ किलो मिटर हिड्न पर्छ । यति बाटो छिचोल्न अलि हिड्न सक्नेलाई आधा दिन लाग्छ । अलि ठीकै हिड्नेलाई दिन भरिकै बाटो भैगयो ।
मुडेमा अग्लो घर छ । पीच भएको सडक छ । छिन छिनमा कहिले सानो कहिले ठूलो गाडी हुइकिन्छ हर्न बजाउँदै । गाडी दौडिदा कालो धुँवा पनि फाल्छ । मलाई मुडे बजारको गन्ध नै अर्कै लाग्छ । फरक रमाइलो । म त्यहाँको घर हेरेरै दिन बिताउन सक्छु कि ? खानाका परिकार पनि कस्ता कस्ता छन् छन् । हामीले शैलुङ डाँडोको जात्रामा मात्रै खान पाईने छुर्पीको माला नै बनाएर राखेका छन् । तिहारमा खाने सेलरोटी सजिएका छन् । खाँदा खाँदा वाक्कै लाग्ने ‘आलुको चाना’ पनि पकाएर राखेका छन् । मलाई त्यस्सै उदेक लाग्छ मुडे बजार देखेर ।
बाआमासँग हुँदाको मज्जा छ । खान्छु भन्यो । सजाएर राखेको सेलरोटी किनिदिन्छन् ।
पसाल्नी दिदी सोध्छिन् आलुको चाना पनि खाने ?
आलु भात, आलु तिहुन, आलु खाजा । खाँदा खाँदा वाक्क भको म भन्छु नखाने । बा मेरो अनुहार हेर्छन् ।
अर्को सेल खान्छस् ?
म टाउको हल्लाउँछु ।
हो यही बजार भएर जानु पर्छ मेरो मामको घर । हामी तामाङ हजुरआमालाई माम भन्छौ । आमाको आमा । मुडेबाट जिरी तिर जाने गाडीमा चढ्यो । पाँच रुपैया तिर्यो । मामको घर पुगिन्छ । मामको घरमा बिजुली बति छ । बिजुलीबाट चल्ने दुई वटा स्पिकर भएको जम्बो क्यासेट प्लेर पनि । म मामको घर पुग्ने बितिक्कै झिलिमिली बति बालि दिन्छु । ठूलो स्वरमा क्यासेट घन्काउँछु । अम्बर बहादुर नेपालीको गीत बज्छ छोरीको कर्म के कर्म ? यता जाउँ उता जाउँ दोधारमा । मेरी आमाको र मामको फेवरेट गायक हुन अम्बरबहादुर । उनी सेलोदोहोरी गाउँछन् । मामको क्यासेटमा हाम्रो जस्तो टाइगर ब्यट्रि चाहिदैन । क्यासेट जति घन्काए पनि हुने । हामी माम, छाया(नाती) गीत सुन्छौ । आनन्द मान्छौ ।
मामले अघि देखि मुख मिठो बनाइ बनाइ केही चपाको चपाकै छिन् । मुडे छेउकै मान्छे । छुर्पी होला । मलाई यस्तै लाग्छ ।
माम मलाई पनि दिनु न ।
के ?
छुर्पी ?
कहाँ छ ?
तँपाईले खाँदै हुनुहुन्छ त ।
मेरो कुरा सुनेर उनी हासिन् । मुखबाट कालो कालो काठ जस्तो निकालिन खाने ?
के हो माम ?
बुढी माम हाँसिन् । खान नहुने चिज हो । खान छोड्नलाई आँटेको सक्दै सकिन । अब आज देखि खान्न ।
के हो ?
सुर्तीको डाँठ ।
पछि मैले खाएको देखिन ।
मामको घरसँगै ठूलो ढुंगा थियो । मामको घर भन्दा पनि ठूलो । हामी नातिनातिनीलाई त्यो ढुंगामा चढ्ने मन हुने । माम हुँदैन भन्ने । कुरा मिल्दैनथ्यो । उनी सुनाउँथिन गाउँका बच्चाहरु ढुंगा चढ्दा लडेको । अस्पताल लगेको । हात मर्केको । हामी उनको कुरा भनुन्जेल पत्याए जस्तै गरि टपल्यो । उनी काममा लागेको बेला चढ्यो । उनी आँतिदै आउँथिन् ।
चकलेट किन्न झिङान बजारमा जाने ओर्ली । उनी फकाउँथिन् ।
हामी चकलेट पाउने भए पछि को ढुंगाामा बस्छ । ओर्लियो । मामको पछि पछि झिङान बजार ।
झिङान बजार पनि के भन्नु ? चारवटा जति पसल थियो । कुनै टिन बारेको कुने फल्याकले । त्यता भेटिने मान्छेले मामसँग कुरा गर्थे । हामीलाई चिनाउँदा आमाका नाम भन्थिन् ।
मामले मेरो नाम केहिल्यै थाहा पाउनु भएन जस्तो लाग्छ । म मेरी आमाको नामबाट वा बाआमाको दोस्रो सन्तान वा माइलो भएकोले त्यही नामबाट चिनिएँ । कसैले नाति आको हो बज्यै भनेर सोधे । हो माइतीको छोरो म्हाइला भन्थिन । मेरी आमाको नाम माइती । माम माइतीमा हुदै आमा जन्मनु भएको रे । अनि तामाङहरुले माइलो भन्दैनन् वा त्यस्तो उच्चारण हुदैन । त्यसैले म्हाइला ।
माम, घर फर्कने बेलामा बिस पच्चिस रुपैया खुसुक्क दिन्थिन् । गाडी भाडा र बोटो खर्च । म दङदास हुन्थे । म जतिको धनि मान्छे को होला ? त्यस्तै लाग्थ्यो । बिहानको गाडीले नजिक नजिक कम उमेरकासँग ओर्लनेलाई पैसा लिदैनथे । बिद्यार्थीले पैसा नतिर्ने भएकोले होला । मागि हाले पनि बासँगै हुन्थे । बज्यैले दिएको पैसाले म स्कुलमा आधा महिनासम्म दालमोठ खाइदिन्थे ।
अलि बुझ्ने भए पछि मामसँग उहिलेका कुरा सोधि बस्थे । उनी सुनाउँथिन । हाट बजार गाको । दुःख गरेको । आखे(बाजे)सँग भेट भाको । म उनको कुरा सुनेर रमाइलो मान्थेँ । मेरा लागि ती कथा जस्तै थिए । रमाइला थिए ।
मेरो ब्यस्तता बढ्दै गयो । मामसँग भेटघाट निक्कै पातालियो । म चाडबाडमा पुग्थेँ । गफगाफ गरेर फकिन्थेँ ।
म बिदेश हिड्नु पहिले मामको घर पुगेकोथेँ ।
माम एउटा खुट्टा अलि खुम्च्याएर हिड्ने भइछिन् । अरु सबै ठीक थियो । अनुहार र ज्यान जस्ताको तस्तै । मैले देखे देखि । जीवन देखेर खुशी थिइन । मैले त पनाती पनि देख्न पाएँ । पनातीको पनि बिहे भैसक्यो । उनी सुनाउँथिन् ।
हिड्ने बेलामा खुसुक्क भनिन आज त पैसा छैन है । म हाँसे । उनी पनि हाँसिन । खै तँसँग भेट पनि होला कि नहोला म्हाइला । मामले कहिल्यै यस्तो भन्दिन थिइन । मैले सिरियसले लिइन । हामी सडकमा निस्कियौ । मामले हामीलाई हेरि बसिन् । मैले हात हल्लाएँ । उनले एउटा हात उठाएर हल्लाइन् । हामी गाडी नचढेसम्म घर बाहिरै बसेर हामीलाई हेर्दै थिइन् ।
हो रहेछ । हाम्रो अन्तिम भेट त्यही भयो । यो बिहीबार माम अर्थात हजुरआमा गईन । कहिल्यै नफर्कने गरि ।