लिबियाको युद्धग्रस्त क्षेत्रमा नेपाली, १५ जनाको उद्धार, ४ अझै बाँकी
युद्धग्रस्त लिबियामा फसेका १५ जना नेपालीलाई उद्धार गरेको छ भने ४ जना उद्धारको पर्खाईमा रहेको छ । उद्धार गरिएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को क्याम्पमा राखिएको लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरी आईएमओको त्रिपोलीस्थित क्याम्पमा ल्याएर राखिएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिवियाको द्वन्द्वमा फसेका छन्।
यसअघि गत मे ७ गते आईओएमको सहयोगमा लिबियाबाट ७ जना नेपालीको उद्धार गरी नेपाल पठाइएको थियो। जसमा अनुष लामा, किरण खड्का, सिरज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु र प्रेमलाल गौतम थिए। उनीहरूलाई इटाली पठाउने प्रलोभन देखाएर नेपाली एजेन्टहरूले लिबिया पुर्याई अलपत्र पारेका थिए।
लिबियामा अझै ४ जना नेपाली फसेका छन्। उनीहरू दूतावासको सम्पर्कमा नै रहेका छन्। दूतावासबाट आईओएमको क्षेत्रीय कार्यालय, इजिप्ट, लिबिया, त्रिपोलीमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति नियोगको नेपाली शान्ति सेनासँग समेत नियमित सम्पर्क र समन्वयमा रही नेपालीहरूको उद्धार कार्यमा पहल भइरहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसिआरसी)का अनुसार राजधानी त्रिपोली भरी मानवीय अवस्था बिग्रँदै गएको छ। ‘घना बस्ती भएका आवासीय क्षेत्रहरू युद्धमैदानमा परिणत भइरहेको छन्’ आईसिआरसीले भनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिवियाको द्वन्द्वमा फसेका छन्।