दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने
सउल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आगामी अगस्ट महिनामा संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । कोरियाली सेनाको युद्धकाल परिचालन नियंत्रण (ओपीसीओएन) को हस्तान्तरण सहज होस् भन्नका लागि संयुक्त अभ्यास गर्न लागेको यहाँको संचार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरियाली चार-तारे जनरलको नेतृत्वमा रहने उक्त अभ्यास युद्धको समयमा सउलको प्रारम्भिक परिचालन क्षमता (आईओसी) परीक्षण गर्नकालागी डिजाइन गरिएको जनाएको छ ।
कोरिया टाइमसका अनुसार यदि संयुक्त अभ्यास सफलता पुर्वक सम्पन्न भएमा ओपीसीओएन को हस्तान्तरणकाको योजनाले गति लिने अपेक्षा गरिएको छ । कोरियाले बिश्वास गरेको छ कि २०२२ मा राष्ट्रपति मुन जे इनको कार्यकाल सकिनु अघि नै हस्तान्तरणको प्रक्रिया पूरा हुनेछ ।
पछिल्लो समय दुई कोरियाको सम्बन्ध सुधारको क्षेत्रमा उल्लेख्य कार्य भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किमजोङ उनको समेत दुईपटक सम्म वार्ता भैसकेको छ । पहिलो वार्तामा दुई राष्ट्रपति विच निशस्त्रीकरण र कोरियाली प्रायद्धीपमा शान्ति स्थापना गर्ने सम्झौताले बिश्वलाई नै सकारात्मक सन्देश दिएको थियो । तर पछिल्लो वार्ता विना निष्कर्ष टुंगिएपछी फेरि अन्योलता बढेको छ भने उत्तर कोरियाले केही हप्ता अगाडि मात्र छोटो धुरीको क्षेप्यास्त्र परिक्षण गरेको छ ।
यस्तो अबस्थामा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास हुने समाचारले कतै कोरियाली प्रायद्धीपमा फेरि पनि तनावको आशंका त बढेको छैन ?