बाजे नाति
आखे (बाजे) तँपाईको पालोमा रमाइलो के गरेर गर्नु हुन्थ्यो ?
बुढा यसो गम खान्छन् । फिस्स हास्छन् । सेतै फुलेको कपाल छाम्छन् । चाउरीदै गएको गालामा हासोको लाली देखिन्छ । ती पुराना दिन सम्झन समय लाउँछन् । मानौ उनी कुनै लाइबेरीमा त्यो पुस्तक खोज्दैछन् जहाँ उनको जिन्दगीकाे रमाइलो गरेको च्याप्टर छ । रंगीन जीवनको एक पाटो शब्द मिलाइ मिलाइ लेखिएको छ । उनी त्यही पढेर मलाई सुनाउन चाहान्छन् । कुनै चर्चित लेखकले आफ्नो पुस्तकको च्याप्टर पढेर सुनाए जस्तै ।
हाम्रो बेलामा रमाइलो गर्ने तरिका तिमीहरुको जस्तो थिएन । रेडियो, टिभी, फिल्म केही थिएन । बजार भनेको लामोसाँघु थियो । त्यो पनि नाम मात्रैको । दुई चारवटा मात्रै घर थिए । हामी नुन र मट्टितेल लिन बजार जान्थ्यो । सहरमा अहिले जस्तो रमाइलो गर्ने अनेक तरिका थिएन । हाम्रा लागि रमाइलो गर्ने भनेकै आफैले गीत गाउनु थियो । हाम्रो बेलामा जात्रा हुन्थ्यो । हामी गएर गीत गाउँथ्यो । हाट लाग्थ्यो । त्यहाँ पनि गीतै गाउँथ्यो । दुईचार भाइ जम्मा भयो कि दुःख सुखका गीत गायो । दोस्ति भन्ने हुन्थ्यो । यति रमाइलो हुन्थ्यो कि हामी दुई तीन दिनसम्म गीत गाको गाकै गर्न सक्थ्यो । मान्छेहरु फुर्सदिला थिए । हाम्रो गीत सुन्ने मान्छे पनि दुई तीन दिनसम्म हाटजात्रा सके पनि बस्थे । अलि अलि निंगु(निगार, जाँडको पानी) अलि अलि आइरख(रक्सी) खायो । थोरै चिजमा धेरै रमाइलो हुन्थ्यो ।
भारी बोकेर हिड्दा पनि हामी त गीत गाएर रमाइलो गर्थ्यौँ । भारीले जिउ पो थिच्थ्यो त मन कहा थिचिन्थ्यो र ? हो पनि मान्छेको मन हो । सोच्यो सोच्न फुर्सत छ । जीउ भारीले थिचेर लखतरान भए पनि मनमा चन्चल हुँदो हो । कता कता आफ्नो दोस्तीको पछ्योरी समाउन पुग्दो हो । कहिले कही दुःखी जीवनका गीत पनि मनमा बन्दो हो । अनि आफ्नो अनुभवलाई स्वरमा गाउँथे होलान् शैलुङको पाडा म्हेन्दो (गुराँस फूल) जंगलै घन्किने गरि ।
आखेले भनेको गीत फाबरे गीत हो । तामाङ समुदायमा खुबै चल्थ्यो । गीतको ‘बिट’ चाहि स्लो हुने । कुनै बाजा बजाउन नपर्ने । केटा केटी दोहारी गाए पनि हुने एक्लै गाए पनि हुने । रस बस्नलाई ‘प्यासन’ले सुन्नु पर्ने । जब रस बस्यो त्यस पछि ‘स्लो’ गीत नै फास्ट जस्तो । सुनेको सुन्यै । आफ्नै जीवन भोगाइलाई उन्दै गाइने गीत ।
जताको जात्रामा पनि पुग्नु हुन्थ्यो आखे ?
म पत्रकार भैखाको नाती परेँ । उनले आफ्नो कथा भन्दै गर्दा ‘क्रस कोइसन्स’ ठोक दिएँ । बुढाको गफको लय ‘ब्रेक’ भएछ क्यारे झनक्क रिसाए ।
ङा पाङबान मुला नी । थायोले । (म भन्दैछु सुन न ।) उनी झर्किए ।
हाम्रो बा ध्याङबाट पाँडेखानी आएका रे । म अलि अलि मात्रै सम्झन्छु । बा ध्याङबाट आएकोले हामी सबै ध्याङाली थियौ । म काँइला (पाँचो छोरा) । दाजुभाइ सबै हामी गाई भैसीलाई घाँस दाउरा काट्दा काट्दै गीत गाउन जान्ने भयौ । तिमीहरुले टिभीमा हिरो हिरोनी चिने जस्तै होला नी । दाजुभाइ मध्ये म अलि राम्रो गीत गाउन जान्ने थिएँ । यो गीत भनेको जति गाउँदै गयो त्यति नै तुक्का बनाउन जान्ने रहेछ । मेरो र कान्छा भाइको उमेर उस्तै थियो । हामी दुइ भाइ जता गए पनि नछुट्ने । साथी नै भयौ । दौतरी भन्थे हामीलाई ।
युवा हुँदै गए पछि मैले काठको काम सिकेँ । मैले बनाएको झ्याल ढोका गाउँ भरि चिर्चित हुँदै गयो । त्यो भन्दा बढि चर्चा त हामी दुई भाइले गाएको गीतका पो हुन थाल्यो । कुनै जात्रा आउन लागे पछि पहिला नै मान्छेहरु सोध्थे हाम्रो बारेमा । ध्याङालीका दुई भाइ आउँछ कि आउँदैन ? केही मान्छे हामी जात्रामा जाने भए आउँछौ नत्र आउँदैन पो भन्थे ।
बुढाका फ्यान । जमनाका साना तिना स्टार नै रहेछन् नी । हुन त नाती पुस्ता मलाई बुढाले थपथाप गरेर गफ दिएका पनि हुन सक्छन् नि ? धेरैका गफ सुन्दा सुन्दा बाजेका कुरामा पनि शंका लाग्छ । मुखै खोलेर केही भन्दिन । बुढा आफ्नै ‘फ्लो’मा छन् ।
मान्छेहरु जात्राकै लागि तीन चार दिन हिडेर आउँथे । अहिले जस्तो सुबिधा कहाँ थियो र ?
बाजेले अहिलेलाई सुबिधा भने पनि मलाई चाहि असुबिधा नै लाग्छ । हाम्रो गाउँसम्म जाने पक्कि रोड छैन । भनेको बेलामा गाडी आउँदैन । बिजुलीको तार र खम्बा छ तर नियमित बति छैन । मेरो लाख गुनासो छ । बाजेका लागि यही कुरा सुबिधा नै सुबिधा छ । बाजे पुस्ताले नाति पुस्तालाई हेर्ने धारणा पनि यस्तै होला कि ?
भदोको शैलुङ जात्रा त यो एरियाकै ठूलो हुन्थ्यो । हामी गीत गाउँथ्यो । हाम्रा गीत सुन्ने मान्छेहरु हुन्थे । कसैले छ्युर्पी दिन्थे । कसैले सेरगेम दिन्थे । खाजामा उसिनोको आलु हुन्थ्यो । आलुकै चाना हुन्थ्यो । हामी गीत गाएका गाएकै छौ । मान्छेहरु हामीलाई खुवाएको खुवाएकै छन् । हाम्रो गीतमा ती हाँस्छन् । भाबुक हुन्छन् । रिसाउँछन् । रौसिन्छन् ।
शैलुङ लाला पाडा म्होन्दो
छार्छिम रिनुन उर ताना
य पापीदा माया लासि
दुःख याङजी काइला से
दुःख याङजी च्याङबा से
यसे ङादा माया लासाम
जन्दि लागे चु पाल्छे
स्याला दुनिया सेम ताना ।
(शैलुङ लेखको गुराँसे फूल
कति राम्रो फुलेको वन भरि
निष्ठुरी तिम्रो मायाले
दुःख पाइयो काइलाले
दुःख पाइयो कान्छाले
सत्य माया हो भने
बिहे गरम यो सालमा
दुनिया नाच्छ खुशीमा ।)
यस्तै गीत गाउँथ्यो हामी । अचेल त मान्छेलाई एक छिन फुर्सत छैन । हामीलाई जस्तो गीत गाउन तँलाई आउँछ ? तेरो माम(हजुरआमा) मेरो गीतै सुनेर मसँग विहे गरेको त हो ।
बाजे गम्क्क परे । हो मलाई गीत गाउन आउँदैन । नाति पुस्ताको हालत खराब छ । मलाई दुनियाँको अनेक थरि कुरा गर्न आउँछ । बाजेले जस्तो गीत गाएर अरुलाई रमाइलो गराउन आउँदैन । बाजेको कला बा पुस्तालेसम्म जाने हामी नाति पुस्तालाई आउँदैन ।
…………..
हामी यसरी नै अनेक बिषयमा गफिन्थ्यौ । बाजे पुस्ताका गफ म सुन्थे नाति पुस्ताका कुरा बाजे । मेरो मनको पुस्तकको लाइबेरीमा बाजेका कुरा छापिएर बसेका छन् । म मेरो नातिलाई सुनाउँछु जसरी बाजेले मलाई सुनाएका थिए । यी कथाका लाइनहरु । यी जीवन भोगाईका कथाहरु ।
अब बाजेसँग यसरी फेरी गफ हुने छैन । न मेराे कुरा नै बाजेले सुन्ने छन् । बस सम्झनामा मात्र बस्ने छन् ।