फर्किदै छु जन्मघर
बाँकी
रगत र आँशुहरु
अबदेखी यिनै खोलाहरुमा बग्ने ईशारा गर्दै,
बाँकी
मुस्कान र सपनाहरु
अबदेखी यिनै फूलपातहरुमा बाँंच्ने आशा गर्दै-
यो पर्यटक जिन्दगी
फर्की जाँदैछु !
बाँकी
धुन र आलापहरु
ठूलो पहाड, नदि, जंगल र समुन्द्रद्वारा बोलिरहने बाचा गर्दै,
बाँकी
श्वास र परेलाहरु
यिनै छितिजको आँखामा पवनबाट
झिम्क्याई रहने प्रण गर्दै
यो घुमन्ते जिन्दगी
फर्की जाँदैछु !!
~
नाँच्दाखेरी
कतिचोटी साथीसंङ्गिको खुट्टा कुल्चिएर
हिड्दाखेरी
आफैलाई हुर्काउने हिमाललाई टेकेर
फूल्दाखेरी
गमला नै ढाकिदिएर
बोल्दाखेरी
अरुले नबुझ्ने बोलिदिएर
घुम्दाखेरी
ब्रह्माण्ड नै घुमेजस्तो सोचेर
आफैसहित
जोजोसित गल्ती गरेँ,एकमुस्ट माफी मागेर
फर्की जाँदैछु !
एक टुक्रा लय
जो अजम्बर छैन-लाई यतै छोडेर
अर्को टुक्र लय
फेरि बोकेर आउने प्रतिज्ञासहित,
केही अंसहरु
कोइली बनेर
केही हंसहरु
मजुर बनेर
गाईरहने,नाचिरहने बिस्वास दिएर
फर्की जाँदैछु !!
~
फर्की जाँदैछु-बेदुर दुर
फर्की जाँदैछु,आफ्नै जन्मघर-
एकैछिनको
पानीफोका इन्द्रेणी ‘सर्कस’मा रमेर,
खुसी छु धेरै कि-
आफ्नै जन्मघर फर्किदैछु,
मलाई जन्मघर प्यारो लाग्छ;
किनभने
यो माटो हो,म जस्तै-
जो रोपिन्छ,उमृन्छ,फल्छ र फेरि रोपिन्छ !!
*