कोरियाको स्वास्थ्य बिमामा नयाँ नियम, करिब ४ लाख प्रवासी प्रभावित हुने
६ महिना वा सो भन्दा बढी समय दक्षिण कोरियामा रहने सबै विदेशीहरूले अब देखि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने तर बिमा शुल्क नतिरी जाने क्रमलाई रोक्न सबैलाई बिमा योजनामा अनिवार्य गर्न लागिएको समाचार राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै योनहपले लेखेको छ ।
राष्ट्रिय स्वास्थ्य बीमा सेवा(एनएचआईएस-NHIS)का अनुसार १६ जुलाई देखि उक्त नियम लागू हुनेछ । जस अनुसार कोरियामा बसोबास गरिरहेका प्रवासी कोरियन लगायत सम्पुर्ण विदेशीहरुले प्रतिमहिना ११०००० वन($93) भन्दा बढी रकम तिर्नुपर्ने छ ।
हाल यहाँ कामदार भिसामा आउने विदेशीलाई मात्र स्वस्थ्य बिमा अनिवार्य गरिएको छ भने अन्यलाई वैकल्पिक सुबिधाको रुपमा रहेका थिए । एनएचआईएसले भनेका छन् “सबै विदेशी विद्यार्थी र दक्षिण कोरियाली नागरिकसँग विवाह गर्ने सबै विदेशीहरुले पनि राज्य बीमा योजनामा सामेल हुन आवश्यक छ ।”
यस नयाँ अनिवार्य बीमा कार्यक्रमले करिब ४ लाख विदेशीहरूलाई असर गर्ने सम्भव देखिन्छ ।
कोरियाको समाचार एजेन्सी योङहपका अनुसार २०१९ मा दक्षिण कोरियामा रहेका विदेशीहरूको संख्या गत वर्ष करिब २३ लाख ७० हजार(2.37 मिलियन) पुगेका थिए । जुन पछिल्लो वर्ष भन्दा ८.६ प्रतिशतले बढी हो ।