कोरियामा "परदेशी" ले ईतिहास रच्यो ।
सौल – शुब्बा राना मगर
नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको मौलिक नेपाली कथानक चलचित्र परदेशी प्रदर्शनी कार्यक्रम दोङ्देमुन स्थित चुङ्गु खुमिन ह्वेग्वानमा गत आइतबार (२०१५ डिसेम्बर ६ तारिख ) भब्यताका साथ सम्पन्न भएको छ ।
बहुप्रतिभाशालि कलाकार नारायण रायमाझी द्वारा निर्मित तथा निर्देशित चलचित्र परदेशी चलचित्रको प्रिमियम शो का लागि रायमाझी पनि कोरिया आएका थिए | निर्माता/ निर्देशक नारायण रायमाझी संगै बसेर करिब ८०० जनाले चलचित्र हेरेका थिए | हलमा नरुने कोहि थिएनन् नरोएर पनि मन थाम्न सक्ने कोहि भएनन् परदेशी चलचित्र हेरेर सायद सबै प्रबासी परदेशीको कथा ब्यथा,अनि आरोह-अवरोह दुख-कष्ट,भोगाइ अझै ती साना लालाबाला नानिहरुलाई परेको मनोबैज्ञानिक असर आमाबाबु ,घर परिवार साथीभाइ ,आफ्नो गाउँबेशी , पानी पँधेरो अनि प्रबासी जीवनको यथार्थ चित्रण गरेको उक्त चलचित्रले बास्तबमा नै सबै उमेर समुहका मानिसहरुलाइ सजिलै प्रभाब पारेको देखिन्थ्यो । चलचित्रको समय समयमा भएको हास्यब्यँग्य अनि तिता मिठा समय हरुको मिश्रण भएको उक्त अत्यन्त मौलिक अनि यथार्थपरक रहेको कुरा दर्शकहरुको प्रतिक्रियाले प्रष्ट पारेको थियो । चलचित्रले बास्तविकता नबुझी विदेश नजान समेत संदेश दिएको थियो |
चलचित्र प्रदर्शनको पुर्ब सन्ध्यामा नेपालबाट परदेशी चलचित्रको प्रिमियर शोका लागि आएका बहुप्रतिभाशालि कलाकार तथा परदेशी चलचित्रका निर्माता/ निर्देशक नारायण रायमाझीको अत्यन्त लोकप्रिय आधुनिक तथा लोकगीतको अनुपम प्रस्तुतीले चिसो मौसमको माहोललाइ दर्शकहरुले छमछमी नाचेर भुलाइदिएका थिए । नमुछे आमा दहिमा टीका.., भन्थ्यौ आमा.. फुलबुट्टे चोलिमा ..लाइछ्यौ बेसन…., सान्नानिले झुक्क्यायो मलाइ… जस्ता आधि दर्जन भन्दा बढी गीत हरुको प्रस्तुतीले चलचित्र हल सँगीतमय भएको थियो ।
नेपाल मगर संघ कोरियाका अध्यक्ष श्री खड्ग थापा मगरको सभापतित्वमा, दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदुत श्री कमान सिंह लामा ज्युको प्रमुख आतिथ्यतामा कोरियामा रहेका बिशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको परदेशी चलचित्र प्रदर्शनी कार्यक्रममा करिब ८०० जना दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल मगर संघका महासचिब सुब्बा रानामगर र सदस्य स्नीका थापा मगरले सन्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपाल आदीबासी जनजाति महासङ्घ कोरिया द्वारा पोखरामा अध्ययन गराइरहेका सिमान्तकृत डोल्पाका ३ जना बालबालिकाहरुलाई नेपाल मगर सङ्घ दक्षिण कोरियाले प्रमुख अतिथी महामहिम राजदुत कमानसिंह लामा ज्युको बाहुलीबाट (१,000,000 won) दस लाख कोरियन ओनको चेक जनजाती महासङ्घका अध्यक्ष चित्र बहादुर मोक्तानलाइ हस्तान्तरण गरिएको थियो । सन २०१२ मा पनि नेपाल मगर सङ्घ दक्षिण कोरियाले १६ 00,000 (सोह्र लाख कोरियन वोन) सहयोग गरेको थियो ।
नेपाल मगर संघ दक्षिण कोरियाले उक्त चलचित्र प्रदर्शनबाट भएको आम्दानी नेपालको अनाथ तथा असाहय बालबालिकाहरुको हितमा खर्च गर्ने घोषणा गरिसकेको छ । साथै चलचित्र प्रदर्शन कार्यक्रम अत्यन्त सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने संघ सस्थाका प्रतिनिधिज्यु हरु बिद्यार्थी, पत्रकार,समाजसेवी, ब्यक्ति विशेष ज्युहरुमा नेपाल मगर संघ दक्षिण कोरियाले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।