ओ! प्रीय राष्ट्रियता!

समयको ज्वारभाटाले छाती पोलेपछि
आनन्दपूर्वक बाँच्न छोडेको छु अचेल,
हरेक स्वप्नहरु दूर भन्दा दूर भागिरहेका छन्।
गिदि दौडन खोज्छ सडकहरुमा,
ओ! प्रीय राष्ट्रियता
तिमी चाहिँ गुराँसको फुलमा झुन्डेको शितको वुँद
भएर बसिरहेका छौ ।
चन्द्र र सूर्य कहिले झुल्केन यो पाटे बस्तिमा
जसरी राष्ट्रिय झण्डामा झुल्किन्छन्,
आनन्दको धून कहिले बजेन यो सुदूर गाउँमा
जसरी बज्छ राष्ट्रिय गीतमा,
वैशको सौर्न्दर्य लिएर फुलेन गुराँस यो अभेग भीर पहरामा
जसरी शिरमा सिउरेर हिड्छन राष्ट्रवादिहरु !
कहिले न्याय पाएनन् अन्यायमा परेकाहरुले
जसरी न्याय पाउँछन् राष्ट्रिय जनावरहरुले ।
ओ! प्रीय राष्ट्रियता,
कसरी म गर्व गरुँ राष्ट्रिय झण्डा संग?
जस्ले मेरो नाङ्गो आङ कहिले छोपेन
सपनामा समेत नाङ्गो -नाङ्गो दौडिरहेको हुन्छु।
कि म कसरी रमाउन सक्छु राष्ट्रिय धूनमा?
मेरो च्याब्रुङको धून कहिले बज्दै बजेन!
ओ! प्रीय राष्ट्रियता,
म तिम्रो प्रीय कहिले बन्न सक्छु?
पाँचथर, हाल दक्षिण कोरिया