ढाकर

जन्मजात भरिया मेरो आप्पा
राम्ररी थाहा छ उसलाई
हेर्दा गगनचुम्बि र
आकर्षक भारी कसरी मिलाउने
त्यो ढाकरमा‚
जसरी एउटा चित्रकारले
रङग्याउँछ एउटा आकर्षक चित्र ।
जब यो धर्तीमा आफ्नो बलबुतोले
चार धार्नी भार धान्न सक्ने हुनुभयो
मेरो आपा
त्यही दिनबाट सुरु भयो रे
उहाँको यो दैनिकी ।
हो‚ त्यही बेलाबाट सुरु गर्नुभयो रे
गोदार‚ चिसापानी हुदै मैनी बजार खेप्न ।
दासता र गरीबिको मुक्तिको आशामा
खाली पाईताला‚ ढाकर‚ नाम्लो‚
खकन र तोक्माको साथमा
हजारौ पटक
त्यो गढीको किल्ला छिचोलेको
मेरो आप्पालाई सम्झनै छैन
न त सम्झना छ
कटारी घुर्मीको यात्रामा
सुनकोशी बगरको
तातो बालुवाले पाईताला पिल्छेको ।
मेरो आख्खेकै पालामा
बन्धकी राखेको रे मुखियाले
र अझैसम्म चुक्ता भएको छैन
त्यो बन्धकी ।
आप्पाको यो महान यात्रामा
बिगत केहि बर्षदेखि म
आप्पाको भारी टेकाउने तोक्मा झै
एक साहारा बन्दै आएको छु
र एक ईतिहासको साक्षी पनि ।
नाम्चेको हिउँ
सल्लेरीको चिसो स्याँट
लाप्चाने ठोसेको उकालो र ओरालो
गोलुको भीर
र
टाउकै माथिझै लाग्ने त्यो तातो घाम
यो त दैनिकि हो मेरो आप्पाको
र कहिलेकाहि मेरो पनि ।
यहि क्रममा
एक दिन‚
सदाको बिसौनिमा
“ढाकर” बिसाएर
कुनै युद्धको चपेटामा परेर
गुहार माग्दै सुरक्षित आडमा
ल्याप्प टांसिन आइपुगेको बस्तिझै
तालु र नाम्लोको युद्धले आजित
हुलका हुल मयलहरुले ल्याप्प लिपेको टोपिमा
एक टोपि पानी थापेर
चिउंडोको रिस गरेझै बाहिर निस्किरहेको
बूढो किलकिले हड्डिलाइ
केही पटक उठबस गराउदै
ठाडो घाँटीले सिध्याएपछि‚
शोषणले सकिएको जवानी
चाउरी परेको अनुहार
चिम्सो आँखा
झुस्स फुलेको दारी
हार स्विकारेर
आत्मसमर्पणको लागि ओरालो झरिरहेको सिपाही झै
खुईलिएको तालु हुँदै
कानको फेदसम्म आइपुगेको
कालो पसिनाको फर्मेशनहरुलाइ
त्यहि टोपिले पुछ्दै
नाम्लोले थेप्चिएको तालु
खकनले डामेर बनाएको डोब
र खिईएका पाईताला देखाउँदै
भन्दै हुनुहुन्थ्यो‚
“च्याङबा”
दारेम एसे ङाला ह्राङबा ल्हुई थासोगो या !
(“कान्छा” अबदेखी तैले मेरो जस्तै जिन्दगी नबाच्नु है)
हो त्यहि दिन
मैले मेरो आप्पालाई
बिश्वस्त पारेको छु
हो आप्पा‚
हामी
बनाईएको जन्मजात भरिया
हामीले
भारी त बोक्नु नै छ
तर अब बोकिने भारीहरु
मुखियाको आदेशमा हुनेछैन
महाजनहरुको बिलासिताको लागि पनि हुनेछैन
न त हुनेछ
पुस्तौ देखिको बन्धकी चुक्ता गराउन
केवल आफ्नो लागि बोकिनेछ
आफ्नो अस्तित्वको लागि बोकिनेछ
आफ्नो हक‚ स्वतन्त्रता र
अधिकारको लागि बोकिनेछ
र अब बोकिने भारिहरु
कुनै मुखिया महाजनको महत्वकाङक्षा र
बिलासिताको भोक मेटाउने साधन नभै
हुनेछ एक गहकिलो बिचारको भारी
जसले सम्याउनेछ
युगौ युग देखिको
शोषण‚ दमन र उत्पिडनका
असमान डिल र खाडलहरु ।
हो म यहि बिचारको
एक भारी हाल्नेछु
र बोक्नेछु त्यहि “ढाकर” मा
ठड्याउछु एम16 को ब्यारोल
त्यसैमाथी तेर्स्याउछु एउटा कलम
बनाउछु एउटा भरपर्दो तोक्मा
र
टेकाउछु त्यो मुखियाको काँधमा
हेर्न लगाउँछु दुनियालाई
थाम्न सक्छ कि सक्दैन
शासकको त्यो काँधले
यो बिचारको भार
जसरी
मेरो आप्पाको काँधले थामेको थियो
एउटा कहाली लाग्दो युगको भार
अनि लेखिने छ
अर्को एउटा युगको ईतिहास ।
२०७३/५/२३ काठ्माण्डौ