गर्मी
यति चर्को घामले तँलाई पोल्दैन ?
पोल्थ्यो
जब म बाको काँधमा चढेर
मामा घर जाँदै हुन्थेँ
र बा मलाई गर्मी भयो कि भनेर
स्याउला हम्काउँथे
पोल्थ्यो
म कतै डुल्न निस्किएर आउँदा
आमा, घैटोमा राखेको चिसो पानीमा
पोहोर पोहारै बनाको चुक र लाउरे दाइले
बजारबाट ल्याइदेको चिनी घोलेर सर्वत बनाउँथिन
हो मलाई गर्मी लाग्थ्यो ।
घाम टाउकै माथिबाट जान्छ
म वास्तै नगरि काम गरिरहन्छु
बग्नै पर्ने होला पसिना बगिरहन्छ
आँखामा पसेर पिरो नहुन्जेल वास्तै गर्ने फुर्सत हुँदैन ।
मान्छेहरुलाई लाग्दो हो
जब्बर रहेछ
म अरु जस्तै हुँ
जब्बर त समय हो ।
यताको थोपा थोपा पसिनाले
उता घरमा शितल हावा चल्छ
त्यही शितलताको कल्पनाले
टाउकै माथिको घामलाई
वास्तै नगरि काम गरि रहन्छु ।
हो मलाई टाउकै माथिबाट
जाने घामले पनि पोल्दैन ।
गर्मी लाग्दैन ।