दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु
दुबइमा भएको बस दुर्घटनामा आठजनाको मृत्यु भएकोमा छजना नेपाली रहेका छन् । सोमबार बिहान भएको दुर्घटनामा ६ जना गम्भीर घाइते भएको गल्फ न्यूजले जनाएको छ ।
दुबइको मोहमेद बिन जायद रोडमा भएको मिनिबस दुर्घटनामा आठजनाको मृत्यु भएको हो । दुबइ प्रहरी निर्देशक ब्रिगेडर सैफ मुहेयर अल मजरुइले मिनि बस र ट्रक ठोक्किँदा दुर्घटना भएको पुष्टि गरेका छन् । उक्त बसमा चालकसहित १३ जना यात्रु रहेको बताइएको छ ।
मृत्यु भएका आठैजनाको शव रासिद अस्पतालमा राखिएको छ । मृत्यु हुनेमा ६ नेपाली, एक भारतीय र एक पाकिस्तानी नागरिक रहेको जनाइएको छ । मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोख्रेल, दिपक विक र नयराम साउँद रहेको छ। दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ।
त्यसैगरी घाइतेहरुमा एक बंगलादेशी र पाँच जना भारतीय रहेका छन् । घाइतेहरुको उपचार भइरहेको छ । जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।