१२ वर्षमै बार्सिलोनासँग मेसीले गरेका थिए, ‘न्याप्किन पेपर’मा सम्झौता
बार्सिलोनाका पूर्वखेलाडी तथा अफिसियल चार्ली रेक्साचले हालका कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीलाई १२ वर्षमै अनुबन्ध गरेको बताएका छन्।
विश्व फुटबलका पर्याय झैँ बनेका मेसीलाई खोजेर दुनियासामु चिनाउने टोलीको सदस्यसमेत रहेका रेक्साचले मेसी एकदमै क्षमता भएका खेलाडी गुम्न सक्ने खतरा भएकाले मेसी १२ वर्षको हुँदा ‘न्यापकिन पेपर’मा हस्ताक्षर गराएको बताएका हुन्।
१९६६—८१ मा बार्सिलोनाबाट खेलेका रेक्साच २००० मा क्लबका कार्यकारी थिए।
‘मेसीका बुवाले क्लबसँग सबै कुरा स्पष्ट नभएकाले हामी जानसक्छौँ भनेका थिए,’ इएसपिएनसँग उनले भने, ‘त्यसै बेला मैले निर्णय गरेर ‘फ्लाइट’मै वेटरले दिएको ‘न्यापकिन पेपर’मा हस्ताक्षर गराएको थिएँ।’
‘किनकी म उनी जस्तो क्षमतावान् खेलाडीलाई गुमाउन चाहन्न थिएँ,’ रेक्साचले भने।
अक्टोबर १६, २००४ मा बार्सिलोनाको सिनियर फुटबल टोलीमा ‘डेब्यू’ गरेर हालसम्म पाँच पटक बालन डी’अर जितेका मेसीले १५औं वार्षिकोत्सवमा बुधबार मात्रै ‘युरोपियन गोल्डेन बुट’ हासिल गरेका छन्।