गरे के हुन्न र? स्वअध्ययनबाट नै कम्प्युटर डिजाइनर बनेका समाजसेबि सुरज गुरुङ
सुन्दर भबिस्य निर्माण गर्नको लागि लाखौ नेपाली युवाहरु बिदेशमा पसिना बगाउन जाने कुरा कुनै नौलो भएन। यो बर्षौ देखि चलिआएको नेपालीको संस्कृति नै हाे। कयौं युवाहरुले आफ्नो भबिस्य निर्माण गर्न कडा मेहेनतका साथ सिप र पुँजी पनि संकलन गरेका छन् भने कति युवाहरु बिदेशमै ज्यान गुमाउन पुगेका छन्।कतिपय युवाहरु औधोगिक दुर्घटनामा परेर अङ्गभङ्ग घाइते भएका छन्।कतिपय डिप्रेशनमा परि मानसिक सन्तुलन गुमाउन पनि पुगेका छन्। यी सबै खालका समस्यासंग जुधेर केहि सिप,केहि पुँजी आर्जन गरेर स्वदेश फर्किनु सबै भन्दा ठुलो सौभाग्यको कुरा हो।
यस्तै क्रममा नेपाल फर्किने युवा हुन कास्की अन्नपुर्ण गाउपालिका भदौरे ४ का सुरज गुरुङ्ग। सबै युवाका सपना एउटै हो। सबैको कथा,अनुभव,अनुभुति एउटै होला तर सबैका कथा लेखिदैन। जस्ले नितान्त आफ्नो ब्यक्तिगत स्वार्थ बाहेक समाज देश र दुनियाका लागि पनि केही योगदान दिएका हुन्छन्। उनैका कथा,प्रेरणा लेख्ने गरिन्छ।
सन १९९८ को अन्तिम अर्थात कोरियाको मौसम अनुसार जाडो महिनाकै शुरुवाट भएको महिना डिसेम्बर। १९ बर्षे जवान युवा सुरज गुरुङ्ग बिजनेस भिसामा कोरिया प्रबेश गरेका थिए। भर्खर एस एल सि सकेर क्याम्पस पढ्ने बेलामा धन कमाउन कोरिया प्रबेश गरेका थिए सुरज । नौलो ठाउ, नौलो परिबेश, नौलो भाषा, संस्कृति चालचलन। शुरुका दिनमा सबैकुरा नौला भए। तर पनि बिस्तारै सबै कुरा संग जुध्दै सघर्ष गर्दै कोरियाली जिबन संग समायोजन भएर नै छोडे। अहिले २१ बर्षकै लामो कोरिया बसाइ अवधिलाई बिट मारेर यहि डिसेम्बरमा नेपाल फर्किदै छन् उनी।
१९ बर्षे ठिटो एक साथीकाे बिजनेस पार्टनर बनेर बिजनेस भिजामा कोरियामा प्रबेश त गरे तर यो बिजनेश भिजामा मुस्किलले २ बर्ष टिक्न सके। तत् पश्चात भिजा हापेर पैसा कमाउन कम्पनि तिरै लागे। सुरुमा उइजङ्गबु एरियामा जिन्स प्यान्ट कम्पनिमा ६ महिना जति काम गरे । त्यस पछि सौल कुरिसिमा १५ बर्ष सम्म लगातार एउटै गार्मेन्ट कम्पनिमा काम गरे। गार्मेन्ट कम्पनिका सबै काम कटिङ, सिलाइ सबै काममा पोख्त भएको छु, भन्छन्। नेपालमा गएर पनि यो पेशामा राम्रो गर्न सकिन्छ भन्छन्। आउदा ताका १२ घन्टा काम गरेर महिनाको ७ लाख वन सम्म तलब थापेका थिए भने अहिले महिनाकै ३० लाख वन करिब ३ लाख रुपैया थाप्छन् । यो कमाइले उनले भाइहरू र दिदिसंग मिलेर पोखरा लेखसाइडमा करोडौ पर्ने घर बनाएका छन् भने सोहि घरमा २ भाइ र आफुले आफ्नै ब्यवसाय प्रराइम होटल पनि संचालन गरेका छन्। कोरियाले उनको जिबनलाइ सफल बनाईदिएकोछ। कोरियामै लगनगाठो कसेका दुबैको कमाइले उनको जिबनलाइ थप सफल र सहजता बनाइदिएकोछ। ब्यक्तिगत धन सम्पत्ति बाहेक सुरजले कोरियामा थुप्रै सामाजिक संघ संस्थामा योगदान पनि गरेका छन्। जुन योगदानले उनलाई सामाजिक ब्यक्तित्व, पत्रकार र कम्प्युटर डिजाइनरको रुपमा समेत परिचित बनाएकोछ।
सन १९९८ मा कोरिया प्रबेश गरेपछि सन १९९९ देखिनै तमुधिं दक्षिण कोरियाको साधारण सदस्यमा आवद्ध भएका थिए। सन २००२ देखि २००७ सम्म तमुधिंको कार्य समिति सदस्यमा रहेर काम गरे। सन २००७ देखि २०१३ सम्म कोषाध्यक्ष पदमा काम गरे भने २०१३ देखि २०१५ सम्म तमुधिंको अध्यक्ष पदमा सर्ब सम्मत चयन भइ काम गरे। २०१५ देखि हाल सम्म सल्लाहकारको भुमिकामा सक्रिय रहेका छन्। उनको नेतृत्वमा एक रोधि सांगितिक सौगात भाग ३ सांस्कृतिक कायृक्रम आयोजना गरे।जसको उद्देश्य अनुसार सौल थापसिलमा तमुधिं कार्यालय र सेल्टर स्थापना गरेका थिए। त्यस्तै अर्को महत्वपुर्ण कार्य भनेको तमुधि कोरियाले नेपालमा रु २३ लाख रुपैयाको लागतमा एक आधुनिक दाहसंस्कार भवन निर्माण गरेको थियाे। २०११ देखि निर्माण सुरु गरेको उक्त भवन सुरुज गुरुङको नेतृत्वमा २०१५मा सम्पन्न भएको थियो। काठमाण्डौ जोरपाटी स्थित जम्बुडाडामा निर्माण भएको उक्त भवनले निशुक्ल रुपमा अन्तिम दाहसंस्कार गर्ने सेवा दिदै आएकोछ। यो बाहेक तमुधिंले अनेकौ कार्यहरु गरेको छ त्यसमा उनको आर्थिक भौतिक नैतिक सहयोगको साथै उत्तिकै नेतृत्वदायी भुमिका पनि रहेकोछ।
काठमाण्डौ जोरपाटी स्थित जम्बुडाडामा निर्माण भएको दाहसंस्कार भवन
उनी २००२ देखि नै नेपाल बौद्ध परिवार दक्षिण कोरियामा पनि आवद्ध छन्। नेपाल र बौद्ध धर्मको ज्ञान प्रचार प्रसार गर्न , बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश दिने बिभिन्न अभियानहरुमा उनी उत्तिकै सहभागी हुन्छन्। बुद्ध जयन्तीको अवसरमा सौलमा हुने लोटस लालटिन फेस्टीवलमा पनि हरेक बर्ष सहभागीता जनाउदै आएका छन्।बुद्ध प्रतिमा स्थापना अभियान २०१८मा पनि आर्थिक सहयोग गरेका थिए। नेपाल बौद्ध परिवारले प्रकाशन गरेको मुखपत्र शान्तिमार्गको सम्पादकको भुमिकामा रहि काम गरेका थिए भने पछि संचार बिभाग प्रमुखको समेत काम गरेका थिए।
सन २००८ मा नेपाल आदिवासी जनजाति महासंघ कोरियाको स्थापना भएको थियो। स्थापना काल देखिनै नेपाली आदिवासी जनजातीहरुको हक हित र अधिकारको आवाज उठाउने संस्थामा आवद्ध थिए। महासंघको दोश्रो र तेश्रो कार्यकालमा सचिब पदमा कार्य गरे। हाल सल्लाहकार रहेका छन्।महासंघले आयोजना गर्ने हरेक क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउछन् भने महासंघका हरेक क्रियाकलापका चिठ्ठी पत्र,ब्यानर,पोस्टर,टिकट लगायतका डिजाइन पनि गर्दै आएका छन्।
सन २००८ देखि कास्की परिवारमा आवद्ध रहेका थिए। २०१२ देखि सल्लाहकारमा चयन भएका थिए भने सन २०१८ मा अध्यक्ष पदमा सर्बसम्मत चयन भइ कार्य गरेका छन्। हालै आफु नेपाल जानु पर्ने भएकोले बिशेष अधिबेशन गरि नेतृत्व र जिम्मेवारी हस्तान्तरण गरेका छन् र पनि सल्लाहकारमा पुन चयन भएका छन्।
सन २०१३मा स्थापना भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कोरिया शाखा फोनीजको सस्थापक कोषाध्यक्ष तथा हाल सल्लाहकारको रुपमा काम गर्दै आएका छन्। फोनीज कोरिया शाखाले संचालन गरेको अनलाइन न्युज पोर्टल फोनिज कोरिया डट नेटमा डिजाइनरको भुमिकामा काम पनि गर्दै आएका छन्। त्यसै गरि नेपाल पत्रकार महासंघ कोरियामा पनि हाल सम्म आवद्ध हुदै आएका छन्। यसरी बिभिन्न संघ संस्थामा इमान्दार रुपमा लगनशिल भएर काम गरेका उनको योगदान अतुलनिय छ। उनको यीनै योगदानले उनलाई एक इमान्दार लिडर, समाजसेबि, पत्रकार र कम्प्युटर डिजाइनर सम्मको परिचय दिलाएकोछ।
उनीबाट सिक्ने एउटा प्रेरणा छ। गरे के हुन्न र? उनी जस्ट एस एल सि सकेर कोरिया प्रबेश गरेका थिए। उनले नेपालमा कम्प्युरको कुनै औपचारिक प्रशिक्षण लिएका थिएनन्। कोरिया जस्तो ब्यस्त जीबन शैली भएको देशमा पनि कम्प्युटरको औपचारिक प्रशिक्षण लिने कुनै मौका मिलेन। तर इच्छाशक्ति भए के हुदैन र? उनी अहिले कम्प्युरमा स्वअध्ययन गरेर डिजाइनमा निपुर्ण भएका छन्। त्यो पनि अंग्रजीमा होइन कोरियन भाषाकै भर्सनमा। सन २००१ मै कम्प्युर किनेर सिक्न थाले। अनलाइन बाट नै कम्प्युटरका कलासहरु सिक्दै गए। २००७ बाट संस्थाका सामान्य चिठ्ठि पत्र तयार गर्न सक्ने भए। अझै हौसला बढ्दै गयो। त्यसपछि सन २०१० मा तमुधिं कोरियाले गरेको नेपथ्य कन्सर्टको पोस्टर, टिकट, ब्यानर, निमन्त्रणा कार्ड चिठ्ठीपत्र सम्पुर्ण डिजाइनको काम गर्न थाले। त्यस पछि डिजाइनिङमा ब्यवसायीकता अगाडि बढ्यो। कोरियामा भएका संस्थाहरु मध्य आधा संस्थाहरुको लोगो सायद मैले बनाए हौंला उनी भन्छन्।
सुरजले डिजाइन गरेका पाेस्टरहरू
हरेक दिन कम्पनिको १२ घन्टा काम सक्दा रातीको १० बज्छ। रुममा आइ राती १ बजे सम्म डिजाइनिङको काम गर्छु। यो अतिरिक्त पेशा हो। केहि रकम पनि कमाए। उनी थप्छन्। उनले अहिले सम्म यी डिजाइनहरु गर्न इलुस्ट्राटोर, फोटोसप,कोरल, भिडियो एडिट प्रिमियम प्रो,एफेक्ट आदि प्रोग्रामहरु चलाउछन्। उनले भिडियो रेकर्डिङ र इडिटिङ पनि स्वअध्ययनमै सिकेका छन्। कार्यक्रमका भिडियो, प्रोमो पनि बनाएका छन्।
कुनै संघ संस्थाले सांस्कृतिक कार्यक्रम वा अन्य कार्यक्रम गर्दा उनलाइ कम्प्युटर प्राबिधिकको रुपमा पनि बोलाउने गर्छन। कम बोल्ने पर्दा अघि बाट अथवा पर्दा पछि बाट काम निरन्तर गरिरहेका हुन्छन्।
उनको कोरियन भाषा पनि राम्रै छ। केहि कोरियन संस्थाहरु संग राम्रो सम्बन्ध भएकोले हल ब्यवस्थापन गर्ने कार्य पनि गर्छन्।
करिब ३ महिना अघि भिजा नभएका कारण काम गर्दै गर्दा कम्पनि बाट धरपकडमा परि पक्राउ परेका थिए। केहि समयको हिसासत बसाइ पछि केहि रकम डिपोजिट राखेर सर्त सहित उनि रिहा भएका थिए। उक्त सर्त अनुसार नै यहि डिसेम्बर महिनाको तेश्रो हप्ता नेपाल जाने भएका छन्। जाने बेलामा उनि बैधानिक भएका छन्। नेपाल गए पनि चाहेमा तुरुन्तै कोरिया पनि आउन सक्नेछु। उनी भन्छन्।
उनको योगदानलाई अवस्य पनि कोरियाबासी नेपालीले सम्झिने छन्। उनको अभाव सधै खड्किनेछ। नेपाल जाने बेलामा उनलाइ तमुधिं, नेपाल आदिवासी जनजाति महासंघ, कास्की परिवार, स्याङजा परिवार, फोनिज कोरिया, नेपाल पत्रकार महासंघ कोरिया शाखा, ललितकला मञ्च लगायत बिभिन्न संघ सस्थाले गत सनिबार र आइतबार बिदाइ तथा सम्मान गरेका थिए।
फाेनिज काेरियाद्वारा सम्मान
आगामि दिन शुभ रहोस शुभयात्रा शुरज जी।