बैँश र पकन्दी (कविता)

बज्यै भन्नुहुन्थ्यो..
कोरी-कोरी साल सम्बत बितेपछि
खोला त उकालो फर्किन्छ
स्याब्बास हाड.बीरे
आज थुप्रो बर्षकालपछि
मलाई सम्छ्यौ र फोन गर्यौ!!
तिमीलाई सम्झना छ है यो खोलानाला,देउराली,
फक्तांलुड.,मुकुमलुंड.सबै सबैको!!!
खै मैले त सोचेथें,
सात समुन्द्र पर… बिरानो मानिसहरुसंग
पैँठेजोरी खेल्दाखेल्दै उत्तै सोघामुरिक भयौकी,
कि त, त्यत्तैको मेजमानी खान्कीले
यहाँको यांबेन र किनिमाको स्वाद पो भूल्यौ की,
मैले त सोचेथें,
बारमासे वाईन र ह्विस्कीको चुस्कीमा
यहाँको निखुर कोदोको तोँबा र तीनपाने पो भुल्यौ की,
कि त, त्यहाँको रंगीचंगी फेशन पहिरनले
ताघा-मेख्ली र सिलाम साक्मा पो भुल्यौ की,,
खै आज पश्चिमबाट घाम उदायो क्याहौ
थुप्रो बर्षकाल पछि मलाई सम्झ्यौ
तिमीलाई स्वागत छ है मेरो स्पन्दनबाट!!
तर हाड.बीरे….
तिमी त पर…को देशमा पराई पो भईसकेछौ
पत्थरबाट अभ्रक बनेजस्तो
बादल मडारिएर बर्सात भएजस्तो…
आफ्नै बिरासत भुलेर
अर्कै ग्रहको एलियन जस्तो….
म निखुर याक्थुंड.लयमा बोलुंना हौ भन्छु
तिमी अघि ठुटे अंग्रेज़ी मिसाइपठाउछौ,,
म तिमीलाई यो जगतभरीको मायामुन्धुम सुनाउछु,,
तिमी नसुने नसुने जस्तो गर्छौ
म तिमीलाई हाक्पारे र पालामको लय सुनाउछु,
तिमी पश्चिमे र्याप र फ्याउरे गीत सुनाउछौ,
म च्याब्रुड.को तालमा नाच्नुपर्छ है भन्छु
तिमी चैं बेली डान्स र काभ्रे डान्स दिनुपर्छ भन्छौ,
एसोरी त हाम्रो गफ सुनेर
घरको कुल देवता रिसाउला जस्तो छ!!
मेरो दौतरी पाहाङबीरे भन्छ कि !
हौ हांगबीरे…….
सेक्मूरी फूल जस्तो हाम्रो बैँश र
तम्बर भन्दा लामो हाम्रो जीवनी
सर्लक्कै बिर्सेछौ क्याहौ…
हाम्रो जुगको पुरानो मेमोरी टेप
मथिंगलमा घुसाएर एकचोटी सम्झिहेर त…..
आहा….
उभिएर देउरालीको डाँडामाथि बिरहको सुसेली खेल्दा
फक्ताड.लुड.बाट सरररर बतास आउथ्यो!!
हाट बजार मेलापातमा पकन्दी खेल्दा
तरुनीहरुले हामीलाई नै खोज्दै आउथे..
आहा..
सोल्तिनीहरुको पैकारी जाँडको सुरमा
हामीले पालाम गाउदा
सिंगो रात एकै मिलिकमा छ्यांगै हुन्थ्यो,,
तिम्रो मीठो पालामको लयमा लठ्ठै नहुने को थ्यो र
राम्री राम्री तरुनी जति सबै तिम्रै मात्र हुने
ए हांड.बीरे…
पर.. भारापे माईलीसंग ३ दिन ३ रात धान नाचेको चैं
बिर्से नभन ल??
तिमी पनि अजीबको मुला…
ढाकरभरी नुनको भारी बोकेर
बाटोभरी पकन्दी लगाईहाल्थ्यौ!!
त्यसपछि बटुवा तिम्रै साथी
सड़क तिम्रै साथी
देउराली भन्ज्याड. तिम्रै साथी
बाटो छेउमा बाँसको बोट त देख्नै नहुने
तिमी आफ्नो नाम र ठेगाना लेखीहाल्थ्यौ
तिम्रो तरुनीहरुको चिट्ठी मात्रै जोख्योभने ५ धार्नी पुग्थ्योहोला,,
त्यतिमात्र कहाँ होर
पर्बते बोल्नु नजानेर गीता मीसले
तिम्रो कट्टु भिज्नेगरी गोदेको मेरो अाँखै अघि छ
म त लाहुरे हुँ भनेर भैशीको पुच्छरमा झुण्डिन्दा भैँशीले टाउकोमा मुतेको हिजो जस्तै लाग्छ..
तरुनीहरु अघि हिरोको एक्टिंग गर्दा
तिम्रो पाइन्ट फाटेको बिर्स्यौ क्याहौ…
छ्या लु छोडिदिऊ हौ यस्ता झ्याऊ कुराहरु…
तिमीलाई द्वापर युगको कथा जस्तो लाग्न सक्छ!!
तर हाड.बीरे..
अचेल गाउबस्तीमा च्याब्रुड.बज्दैन
बस्तीबरुमा उहिले जस्तो हाट बजार लाग्दैन
उजाड उजाड इक्साखाम्बेक देखेर
तागेराफूड.रोईरहेछ!!
मेरो बिन्ती छ हांगबीरे….
त्यो उतरआधुनिक कंक्रीटको शहर त्यागेर
हाम्रै अर्ग्यानिक बस्तीमा आऊ
पन: आफ्नै सभ्यतामा बाचौं
पुन: आफ्नै बिरासतमा रमाऔँ
फेरिएकचोटी देउराली डांडामा उभिएर
धीतमरीन्जेल पकन्दी खेलौँ….
र पुन: इक्साखाम्बेक को शीर उठाऔँ!!!
कवि इतर आवाज साहित्य समाज दक्षिण कोरियाका अभियान्ता हुनुहुन्छ।