मेन्स रुम रिलोडेड कोरियाद्वारा टोपी दिवस मनाउने तैयारी पूरा
मेन्स रुम रिलोडेडको संयोजकत्वमा टोपी दिवस मनाउने तैयारी पूरा
दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रम सफल बनाउने योजनाको साथ तयारी गरीएको कार्यक्रम आयोजकका एक सदस्य नवीन बास्कोटले बताए।
उक्त कार्यक्रम सौल स्टेसनबाट नामसान टावर(सउल टावर) सम्म पदयात्रा गरि समापन हुने आयोजकले जानकारी गराएको छ भने पदयात्रामा ढाका टोपी लगाइने छ। नेपालका बिभिन्न सुन्दर तथा मनोरम पर्यटकिय क्षेत्रहरुको बारेमा जानकारी गराईएको पर्चा, पम्लेट साथै ब्रोसरहरु पनि बितरण गरिनेछ। साथै, उक्त कार्यक्रममा राष्ट्रिय पहिचान झल्किने खालका पोसाक तथा सामाग्रीहरू सहित उपस्थित भईदिनु हुन कोरियाबासी सम्पुर्ण नेपालीलाई एम.आर.आर कोरियाले आह्वान गरेको छ।