नेपाल गएर के गर्ने ?
निश्चल काउचा
मसंग नेपालमा हुने र अरु देशमा हुने साथीभाईहरुले फोनमा र सामाजिक संजालमा कुराकानी हुदा प्राय सबैले सोध्छन घर घडेरी कता जोडियो ? मैले हास्दै भन्छु ” कतै जोडेको छैन र जोडने सोचाई पनि छैन |” फेरी सोध्छन ”माथिल्लो घरको त्यसले त पोखरामा घर बनायो रे | तल्लो घरको यसले त काठमाडौँमा घडेरी जोड्यो रे तैले चाहि किन नजोडेको ? सायद उनीहरुले सोच्दा हुन् | जाडरक्सी , जुवातास या कुनै परस्त्रीसंग लागेर पैसा सक्दै त छैन |
हाम्रो समाजको मनस्थिति नै यस्तो छ कि घर खडेरी जोडेर शहरमा बस्नेहरु सुखी र धनी हुन्छन | मेरो व्यक्तिगत भन्नु पर्दा केही रकम सेयरमा लगानी छ केही रकम ६ /६ महिनामा जीवन बिमा गरे बापत तिर्छु ताकि त्यो रकम बुढेसकाल लागे पछि केही गर्न सकियोस | केही रकम बैकमा जम्मा गरेको छु | नेपाल फर्के पछि सानो तिनो ब्यापार गर्नलाई |
अब कोरियाबाट फर्किन १८ महिना जति बाँकी छ | घर फर्किन लागेको साथीहरुलाई सोध्छु ”अब नेपाल फर्केर के गर्नु हुन्छ ? १०० प्रतिशतमा ९५ प्रतिशत साथीहरुको जवाफ एउटै हुन्छ नेपाल गएर के गर्नु फेरी परिक्षा दिएर कोरिया नै आउने हो | यहाँ आए पछि कमसेकम महिनाको १ लाख त कमाईन्छ | ५ प्रतिशत साथीहरुले चाहि अब कोरिया नफर्कने नेपालमै केही गरेर बस्ने भन्नु हुन्छ | केही गर्ने भन्नाले अब हामी नेपाल फर्के पछि के-के गर्न सकिएला त ?
सामुहिक या एकल लगानीमा
(क) तरकारी खेती
(ख) बाख्रा , गाई , बंगुर , कुखुरा , अस्ट्रीच पालन
(ग) माछा पालन
(घ) किवी , ग्राउण्ड एप्पल , च्याउ , कफी , सुन्तला लगायत अन्य फलफुल खेती
(ङ) मौरी पालन
यसको अलावा स्वास्थ्य , शिक्षा , हाईड्रो लगायतमा पनि लगानी गर्न सकिन्छ |
अहिले म पलाष्टिकको दाना बनाउने कम्पनीमा दिनमा ११ घण्टा रातमा १३ घण्टा काम गर्छु | काम बदि हुदा १५ / १६ घण्टा पनि काम गर्नु पर्छ | कोरियाको गाह्रो काम त्यस माथि कहिलेकाही सामान बिग्रिदा अनाहकमा गाली खानु पर्दा साह्रै दु:ख लागेर आउछ | १२ / १४ घण्टा काम गरेर खाना खान लाग्दा अमिलो किम्चेचिगे र गन्हाउने थेन्जाङचिगेको झोलसंग भात खानु पर्दा नेपालमा दाल र भात खाएको झल्झली याद आउछ | सोच्छु यस्तै खटेर नेपालमा पनि काम गर्यो भने महिनामा ३०/४० हजार कसो कमाउन नसकिएला र ? अहिले हामीले शुरुवात गर्दिए सन्ततिलाई धेरै हदसम्म सजिलो हुनेछ | अर्काको काम गरेर कोहि मान्छे पनि धनी भएको छैन यो संसारमा अर्काको काम केवल घर गृहस्थी चलाउन ठिक्क हुदो रहेछ | सुरुमै लाख कमाएको सपना देख्नु हुदैन हजारमै चित्त बुझाउदै खटेर कर्म गर्दै गयौ भने भोलिको दिनमा लाख होईन करोड पनि कमाउन सकिन्छ |
अहिले ईलेक्ट्रोनिक दुनियामा तहल्का मच्चाईरहेको सामसुङ कम्पनी सन् १९३८ मा ली ब्युङ चुलले ३०००० वन ( नेपाली करिब तीन हजार) मा स्थापना गर्दा सायदै सोचेका थिए होला | कुनै दिन सामसुङ कम्पनी ईलेक्ट्रोनिक विश्व बजार यसरी चम्केला भनेर | अब त हाम्रो देशमा पनि जसोतसो संबिधान बन्ने निश्चित प्राय भयो | आसा राखौ संबिधान भने पछि बिकासले गति लिनेछ | विनासकारी भुकम्पले देशमा बिनास निम्त्याएको भए पनि यसबाट पाठ सिक्दै हामी अब बिकासको बाटो लम्किने छौ |