मजदुरको देश
यो अनन्त समयलाइ खण्ड खण्ड पारेर
रात र दिनमा भाग लगाएको यो २४ घण्टामा
कती घण्टासम्म मानवयन्त्र बनें
मलाइ त्यति होस छैन
तर
आजको दिनले अलिकती समय
मेरो भागमा दया गरिदिएको छ
र त एकोहोरो सोचिरहेको छु
म यो दुर्लभ दुर्सदको समयमा
एउटा मजदुरको बारेमा
अर्थात मेरो आफ्नै बारेमा ।
आदिम साम्यबादबाट सुरु भएको
मानव सभ्यताको त्यो यात्रा
दास युग संगै थुप्रै चरणलाइ चिहानमा पुर्याएर
यतिबेला उभिएको छ
आधुनिक दास-मालिक ब्यबस्थामा
यो आधुनिक बिश्वको निर्माता को हो?
आदिम युगदेखी मानव सभ्यतालाइ
डोहोर्याउदै यहासम्म ल्याउने को थियो?
र कसले थाम्यो त्यो क्रुर समयको भार?
इतिहासको कहाली लाग्दो यी
अनुत्तरित प्रशनहरुमाथि
न्यायोचित जवाफको
ब्यग्रताको यो क्षण
लाग्छ,भङ्ग गरिदिउं
र
भनिदिउं यो सबका सब मैले गरेको हुं
सुनाइदिउं फैसला आफ्नै पक्षमा
म जस्तै म हरुको पक्षमा
अर्थात मजदुरहरुको पक्षमा ।
प्रीय स्पार्टाकस
यतिबेला म आफैभित्र जलिरहेको छु
उकुसमुकुसमा बांचिरहेको छु
आत्मग्लानिले गिजोलिरहेको छ
मैले किन उठाउन सकिन तिम्रो विरासत
यो आधुनिक दास मालिक ब्यबस्थाको सामु
किन निरीह छु म?
समयको यो प्रश्नै प्रश्नहरुको जुलुसले
घेरिएको छु म
थलिएको छु म
बांधिएको छु म
प्रीय स्पार्टाकस
तिमिसंग क्षमा त माग्दिन
बरु अलिकती साहस थपिदेउ ममा
किनकी,
म अन्तिम प्रयास गर्ने योजनामा छु
तिम्रो विरासत दुरुस्तै उठाउन
र
तिम्रो सन्तानहरुलाइ जस्ताको तस्तै
तिम्रो ईतिहास बुझाउन ।
मेरै जस्तो धरातलमा उभिएका
यो बिश्वको खरबौ खरब म जस्ताहरु
कहाँ कहाँ जन्मिएर
समयको कस्तो कस्तो
अवयबहरुको सामना गर्दै
यतिबेला
कहाँ कहाँबाट के के सोचिरहेका होलान?
के उनिहरु पनी म जस्तै
आफ्नै बारेमा सोचिरहेका होलान?
अर्थात,
आधुनिक दासहरुको बारेमा सोचिरहेका होलान?
के उनिहरु पनि त्यहि सोचिरहेका होलान?
त्यि अनुत्तरित प्रशनहरुको मुद्दालाई
सुनाइदिउं फैसला मजदुरहरुको पक्षमा
यदि त्यसो सोचिरहेको छ भने
म आह्वान गर्न चाहन्छु
आउनुस सहमतिमा हस्ताक्षर गरौं ।
के यत्ती सोच्नको लागि देश चाहिन्छ र?
देश त त्यसलाइ चाहिन्छ
जसलाइ शोषणको नशाले
उठ्नै नसक्ने गरि गांजेको छ
आखिर कहाँ छ मजदुरको देश?
मजदुरको लागि यो सिङ्गो विश्व आफ्नो देश हो ।