दक्षिण कोरियामा करिब १ महिना पछि एकै दिनमा ३४ कोरोना संक्रमित फेला
दक्षिण कोरियामा केही समय देखि कोरोनाको नयाँ संक्रमित एकदमै न्यून मात्रा देखा पर्न थालेको थियो । तर करिब एक महिना पछि आइतबार ३४ जना नयाँ संक्रमित फेला परेको छ । यो संख्या अप्रिल ९ यताको सबै भन्दा बढी हो । सउलको इतेवोनका बहुसांस्कृतिक जिल्लाका क्लबहरूमा उक्त संक्रमितहरु फेला परेको हो ।
यस संगै कोरियामा कोभिड १९ को संक्रमित संख्या जम्मा १० हजार ८ सय ७४ जना पुगेको छ । रोग नियन्त्रण र रोकथाम केन्द्र कोरिया (केसीडीसी)का अनुसार आइतबार थप मृत्यु भने नभएको जनाएको छ । शनिबार सम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ६६ जना पुगेको थियो ।
समाचार एजेन्सी योन्हापका अनुसार २९ वर्षीया एक बिरामीलाई इतेवोन क्षेत्रमा कोरोना भाइरस फैलाउने पहिलो ब्यक्तिको रुपमा लिएको जनाएको छ । उक्त ब्यक्ति मे १ यता विभिन्न ५ क्लबहरुमा घुमेको बताएको छ ।