क्याकटस फूल
हरियालीमा फुल्ने फूल हूँ म
फरक यति मरुभूमिको बालुवामा सरेको छु
डाली डाली सम्झनाहरुमा ऊनिएर
सजाएकी छु मनको क्यानभाषमा ,
कहिलेकाहीँ
हावाको एक झोकाले झस्काई दिन्छ
सुषुप्त हुन्छु रोकिन्छ पादचाप …
अपसोच!
कतै ढलिगए मनको धरहरा
एउटा सिंड्गो जीवनचक्र ढल्नेछ
मसँग रहेका सम्झनाहरु छुट्नेछन्
क्यानभाषमा सजिएका सुन्दर आकृती टुट्नेछ
अनि म हुनेछु शून्य,
उजाड रेगिस्तानमा हराई रहेको लामबद्ध पैतालाका छाप जस्तै.
एऊटा धमिलो सम्झना
भोकको लय,जीवनको शिली
हाय!
कति पट्यारलाग्दो कठोर निर्वासन ?
जीन्दगी कठोर छ-र त
आहा!
जीन्दगी कति रमाइलो पनि छ,,,
कहिले-काहि
जीन्दगी नोष्टालिज बन्छ
बाल्यकालका सम्झनाहरू
साथी संगीको याद
बाबा,आमाको स्नेह
प्रियतमको प्रेमिल साथ
जीवनको अकरे बाटोहरू
र खुशीका पलहरु
सजिन्छ मानसपटालको क्यानभाष भरिका भरि…
त्यसैले त फूल्न सकेको छु
सुख्खा बगरहरूमा
मनको घाँसे मैदानहरूमा
रेगिस्तानी क्याकटस फूल बनेर ।
ए बतास!
बिस्तारै आउनु तिमी
मलाई मन्दमन्द स्पर्श गरेर जानू
मैले फूल्नु छ,फल्नु छ
ब्रह्माण्डको जीवनचक्र चलाऊनु छ-
त्यसैले त
रेगिस्तानको वगर उताउतासम्म फूलेको
तिम्रै प्रिय क्याकट्स फूल हूँ म।