बुख्याँचा बादशाह
एकाएक दृष्टि घुमाउदै
सत्य कुटिल मुस्कानमा
मुश्किलले छोप्दै,
केही थान प्रश्नका विरुद्ध
दुई थान प्रश्न निगाह हुन्छ ,
‘नक्शा चाहिएको कि भूमि ?’
‘जीवन चाहिएको कि स्वतन्त्रता ?’
मानौं, जे जति यहाँ सबै छ
उनै दाताको गोजीबाट बकस भएको छ
मैले सोधेँ भने –
महाराज ,
सास र शरीर मध्ये
कुनचाहिँ टक्रयाँउ हजुरलाई?,
माटो र मुटु मध्ये
कुनथोक बक्सिउँ हजुरलाई?,
जवाफ छ?
होइन भने , प्रश्न होइन जवाफ नै चाहिन्छ ,
यतिबेला, आदेश होइन देश नै चाहिन्छ
अन्ततः त्यही भयो ,जस्तो कि –
टुक्के महाराजको जय-जयगानले
देशलाई यहीँ पुर्याउँछ,
अक्कल बिनाको अहंकारले
देशलाई यहीँ पुर्याउँछ,
जसरी बुख्याँचाको भरमा
बाली सखाप हुन्छ ,
बुख्याँचालाई जिम्मा लाएपछि
देश सखाप भएको छ
प्रश्न त मेरो छ –
लम्पसार पर्नुको पनि हद हुन्छ ?
लाचारीको पनि सीमा हुन्छ ?
हुन्छ भने ,
यिनीहरूले पनि सीमा मिचेका छन् ,
आशा र आस्थाको डोरी किचेका छन् ,
टोपीले मालिकको पाउ पुछ्दै,
एक इन्च स्वार्थ व्यापारमा,
देशको स्वाभिमान बेचेका छन् ,
बुख्याँचाहरु,
कि त कालो कारोबारमा छन् ,
कि त प्रभुको इशारामा छन् ।
नत्र ता,
आलीहरु भत्किइएका छन् ,
बालीहरु कुल्चिइएका छन् ,
छाडौँ उहिले उहिलेका कुरा
१२/१२ बर्ष बुख्याँचा निदाउन मिल्छ?
बुख्याँचाले धर्म छाडेको छ,
बुख्याँचाले कर्म छाडेको छ।
निकम्मा बुख्याँचा अब कसिङ्गर न रह्यो,
जो बारीमा बाल्नुपर्छ,
बस्ती बाहिर फाल्नुपर्छ,
सकिन्छ भने ,
भिरबाट तल खसाल्नुपर्छ,
प्रेतात्मा फेरि जाग्न सक्छ,
दोबाटोमा लगि मन्साउनुपर्छ,
तब न बिमारी देशको
सातो फिर्छ, माङ्गेना उठ्छ,
श्री स्वस्ति शान्ति हुन्छ ।