तमाम जातीय विभेद तथा छुवाछूतको जननी हिन्दु धर्म ! समाधान- जात व्यवस्था खारेज (विकल्प सहित)
नेपाल भारत लगायत विषेशगरी हिन्दु समाजमा वेद, रामायण, महाभारत, मनुस्मृती तथा हिन्दु धर्मका विभिन्न शास्त्र एवम् पुराणहरुको नाम नसुन्ने मानिस सायद कमै मात्र होलान् । यस् लेखको सुरु मै धर्म शास्त्रको उठान् किन भयो भन्दा हिन्दु धर्मबाट प्रभावित देश र समाजमा मानव-मानव बीचको भेदभाव र असमानताको जन्मदाता यिनै शास्त्र हुन्।
उदाहरण: ब्राम्हणोस्य मुखमासित बाहू राजन्य कृतः।।
उरु तदस्य यद् वैश्य पद्भ्याम शुद्रो अजायत ।।
ऋग्वेद १०।९०।१२
अर्थ:ब्राम्हण ब्रम्हाको मुखबाट,क्षेत्री पाखुरा बाट,वैश्य जाँघबाट र शुद्र ( आजका दलित समुदाय ) ब्रम्हाको पैतालाबाट उत्पन्न भयो ।। यसरी ऋगवेदको वर्णभेद र उत्पत्तिभेद बाट सुरु हुन्छ मानव-मानव बिच भेदभावको शृङ्खला ।। माथिको श्लोक एक दृष्टान्त मात्र हो,यस्ता श्लोक शास्त्रमा अनेकौं छन्।जहाँ शुद्रलाई शब्दै पिच्छे गाली र अपमान गरिएको छ । घृणा गरिएको छ,निच देखाइएको छ । ऋगवेदले प्रतिपादन गरेको अवधारणा नै वर्ण व्यवस्था हो । जहाँ उत्पत्तिको आधारमा वर्ण छुट्याइएको छ।वर्ण अनुसार श्रम विभाजन गरिएको छ।जसमा ब्राह्मणले शिक्षा लिनेदिने, पुजापाठ, यज्ञ गराउने, दान लिने देखी लिएर राजा लाई सल्लाह, सुझाव दिने सबैभन्दा सम्मानित उच्च कार्य तोकेको छ।क्षत्रीलाई राजकाज, सुरक्षा, सेना,प्रशासनको काम निर्धारण गरेको छ।यसैगरी वैश्य लाई व्यापार, व्यवसाय, खेतिपाती, उत्पादनको काम दिएको छ र शुद्रलाई आफुभन्दा माथील्लो तिन वर्णको बिना पारिश्रमिक सेवा गर्नुपर्ने बताइएको छ। सोही व्यवस्था अन्तर्गत आजपनी गाउघरमा बालिघरे प्रथामा दलितले काम गरेको देख्न सकिन्छ ।
त्यतिबेला ऋग्वेद द्वारा स्थापना गरिएको चातुर्वर्ण व्यवस्था लाई शास्त्र, स्मृति, पुराण द्वारा अझै सुव्यवस्थित गरि छल र बलपूर्वक लागु गरी बनाइएको नेपाली समाज हो। विभेद र असमानताको खाडल त्यतिबेला देखी स्थापित गरिएको हो । र आजको जातप्रथाको मूल आधार तिनै शास्त्रहरु हुन् ।। यि शास्त्रको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाल र भारतका हरेक समाज,हरेक गाउँ र प्रत्येक व्यक्ति व्यक्तिमा छ।देशव्यापी रुपमा छ। मुख्यतः हिन्दु शास्त्र अनुसार नै नेपाल र भारतको सामाजिक बनावट निर्माण गरिएको छ। सोहि अनुसारको सामाजिक संरचना छ । सामाजिक अर्थ व्यवस्था र वर्ग निर्माण समेत शास्त्र बमोजिम गरिएको छ। हिजो शास्त्रले जसलाई सर्वाअधिकार दिएको थियो,आज समाजमा आर्थिक, सामाजिक,राजनीति तथा धार्मिक, सांस्कृतिक र शैक्षिक रुपमा समेत उसैको हैसियत माथी छ । राज्य संचालनको प्रमुख बागडोर देखी लिएर कर्मचारी तन्त्रमा समेत पिउन देखी हाकिम सम्म अपवाद वाहेक शास्त्रले निर्देशित गरे बमोजिमको छ। हिजो शास्त्रमा जुन समुदायलाई सम्मानित वर्णमा राखिएको थियो आज समाजमा जन्मजात उसैको इज्जत, मान-सम्मान र प्रतिष्ठा छ ।हिजो शास्त्रले उपेक्षा गरेको समुदाय आजपनी निरिह छ । आजको समाज विखण्डन धर्म शास्त्र द्वारा नै गराइएको हो।मान्छेलाई उत्पत्ति र वर्णको ट्याग भिराएर वर्ण कै आधारमा श्रम क्षेत्र तोक्ने र मानिसलाई जन्म कै आधारमा जात विभाजन गर्ने घृणित कार्य यिनै शास्त्र द्वारा गरिएको हो । साथै नेपाल भारतको हकमा तमाम भेदभाव, असमानता, बिकृती, बिसंगती लगायत हत्या, हिंसा र सामाजिक विचलनको जननी यिनै शास्त्र हुन् । र यसको मतियारी सिंगो देश र समाजले गरेपनि सिकार दलित समुदाय हुनुपरेको यथार्थ हो ।
यसरी दलित समुदायलाई वैदिक कालदेखी हालसम्म वर्णाश्रम धर्म र जात यिनै दुइ कुराको आधार बनाएर छुवाछूत, विभेद, दमन, शोषण एवम् तिरस्कार, बहिस्कार,अपमान र घृणा गरिएको हो । नकी रुप, रंग,धनसम्पती, शिक्षा वा शारीरिक,मानसिक अन्य कारणले होइन ।यि र यस्ता कारण सहायक हुन् । नभए श्रम, सिप, कला, सृजना र आविष्कारका धनी समुदाय लाई अन्य कारण विभेद हुने,गर्ने कुरै हुदैन। त्यसकारण हामीले यसको निवारण खोज्दा पनि यिनै दुइ चिज भित्र खोज्नुपर्छ । तबमात्र समाधान भेटिन्छ । भनाइको तात्पर्य समस्या जहाँ बाट सृजित भएको छ समाधान पनि त्यसैको वरिपरि हुन्छ र छ । अत:टाउकोमा लागेको चोटलाई खुट्टामा मलम दलेर हुदैन, टाउकोमै दल्नु पर्दर्छ भन्ने आशय हो। माथिको हरफलाई पुनः दोहोर्याउदै,,इतिहास र समाज अध्यन अनुसार हिन्दुधर्म अन्तर्गत सुरुमा वर्णका आधारमा वैदिक धर्मनिति र धार्मिक कानुन,मनुस्मृती जस्ता बनाइ आजको दलित समुदाय (शुद्र) को सर्वाधिकार खोसियो। पछि गएर वर्ण लाई नै रुपान्तरण गरी विभिन्न तहगत जात र उपजात बनाइयो । त्यस् अन्तर्गत झन कठोर मौखिक र लिखित कानुन,नितिनियम बनाइए। जतिपनि हिन्दु अतिवादी शासक फेरिदै गए तिनले दलित (शुद्रक)को लागि उति नै निरङ्कुश र कठोर कानुन बनाउदै गए । मान्छेलाई पशुको भन्दा तल्लो दर्जामा पुर्याए।
संक्षेपमा भन्नुपर्दा दलित समुदायको आजको यो दर्दनाक स्थिति यिनै कारण भएको हो । यधपी वर्तमानमा भैरहेको जातीय विभेद, पहिलेको जस्तो वर्ण(शुद्र)को आधारमा नभएर मुख्यत: जात र हिन्दुधर्म संस्कारका आधारमा भैरहेको छ । अझ भनौं जातीय भेदभाव र छुवाछूत हुनुमा धर्मसंस्कार र जात,यि दुइको भुमिका समानान्तर जस्तै छ । तर यि मध्ये ठ्याक्कै अहिलेको परिप्रेक्षको आधारमा भन्नुपर्दा प्रमुख चाही जातिय तहगत संरचना र सोहि अनुसारको सामाजिक बनावट नै हो । अर्थात जात व्यवस्था नै हो। उदाहरणका लागि नेपाल भारतको जात व्यवस्था हामीले खाने तरकारी पत्तागोभी (बन्दागोभी) स्वरूपको हो । एउटा भन्दा अर्को ठुलो तहतहको, पत्रैपत्र भएको ।। यसरी जातीय भेदभेद गर्न प्रोत्साहन गर्ने एउटा तत्वको काम हिन्दु संस्कार,संस्कृति,परम्परा र प्रथाले गरिरहेको छ भने मुख्य भुमिकामा चाहिँ जात व्यवस्था छ ।
जस्तै उदाहरणका लागी कथित उच्च जातिको घरमा वा सार्बजनिक मन्दिरमा नै भनौं, एउटा दलित समुदायको मानिस प्रवेश गर्यो भने घर,मन्दिर अशुद्ध हुने, अशुभ हुने, अनर्थ हुने, देवी देउता वा कुल रिसाउने, दुख दिने अथवा पिरोल्ने गर्छ भनी चोख्याउने सम्मको मिथक मान्यता हिन्दु रितिरिवाज तथा परम्परा अन्तर्गत रहि आएको छ। यो खाले मान्यता अधिकांश नेपालीको मनोविज्ञानमा निकै बलियो संग जरा गाडेर बसेको छ । यहि मानसिकताको उपज जातीय छुवाछूत हो । र विभेदको एउटा श्रोत यही हो ।
अर्को,कति आदिवासी जनजाति लगायत लाई दलितले छुदा, पस्दा देवीदेउता वा कुल रिसाउने, दुखदिने भन्ने रुढीबादी मान्यता समेत थाहै छैन, विशेषगरी हिन्दू बाहेकका धर्म मान्नेलाई ! उनलाई छुवाछूत नितान्त हिन्दुधर्म संस्कार,परम्परा र प्रथा संग जोडिएको विषय हो भन्ने पनि थाहा छैन। तर बिडम्बना, विभेद उनले पनि गर्छन् । छुवाछूत उनले पनि मान्छन् । तिरस्कार पनि गर्छन् । तिनले हिन्दु मान्यता अनुरुप गरिने छोइछिटो र भेदभाव सबैकुरा गर्छन् ।उनिहरु बाट हुने यस् प्रकारको विभेदको जड र सम्बन्ध चाही जात व्यवस्था संग जोडिएको छ, अर्थात जात व्यवस्था द्वारा निर्देशित छ। ति र त्यस्ता धर्म सम्प्रदाय अनि व्यक्तिलाई यतिमात्र थाहा हुन्छ कि, यो भन्दा म ठुलो जातको मान्छे हो । त्यसैले यसलाई प्रवेश दिनुहुन्न वा यसले छुन हुन्न । उनीहरुको बुझाइ यति मात्रै हो ।
यसैगरी वर्णको कुरा गर्नुपर्दा समान्ती हिन्दु शासक वर्गले वर्ण व्यवस्थालाई अझै मजबुत पारी आफु र आफ्नो धार्मिक सत्ता, शासन टिकाउन र आफ्ना सन्ततिको समेत अनन्त कालसम्म वर्चस्व कायम राख्ने धेयका साथ जात व्यवस्थाको अवधारणा ल्याए । त्यसपछि वेद तथा हिन्दु शास्त्रमा उल्लेख चार वर्ण र पछि पञ्चम वर्ण मध्ये सम्मानित उच्च दुइ वर्ण ब्राह्मण, क्षत्रीय लाई दुइ उच्च जातिको रुपमा स्थापित गरिदिए। जुन आज नेपाल भारतमा ब्राह्मण र क्षत्री ज्वलन्त उदाहरणको रुपमा छदैछ । जसले आफुलाई गर्बका साथ जन्मजात उच्च जाति मान्छन्, ठान्छन् । यि दुइ जाति लाई दलित र जनजाति जसरी पेशा र स्थान अनुसार विभाजन गरिएको होइन। यो त हिन्दु धर्मको चार वेद मध्येको प्रमुख, ऋगवेद तथा शास्त्रहरुमा उल्लेख उच्च दुइ वर्ण बाट बनाइएको हो । बाँकी शुद्र र अति शुद्र (दलित, जनजाति) लाई भने (छुत र अछुत ) पानी चल्ने र नचल्ने, (मासिन्या र नमासिन्या)घृणित जातिको रूपमा हेपेर, विभिन्न सयौं जाती र उपजातिमा विभाजन गरिएको हो । यसो गर्नुको पछाडि ब्राह्मण क्षत्री शासकले आफु विरुद्ध यि दुई समुदाय एक भएर संघर्ष नगरुन् र आफ्नो क्रूर शासनमा कुनै बाधा अड्चन नआओस् । यही उद्देश्यले त्यसो गरेका थिए । जुन आजसम्म सफल भएको छ ।(यो कुटिल षड्यन्त्र मनुस्मृती अनुसार छ) त्यसको प्रत्यक्ष प्रमाण हामी आफै छदैछौं । जो तहगत रुपमा विभिन्न जातमा बाँडिएका छौं ।
यसरी वर्णको आधारमा हुने विभेद लाई रुपान्तरण गरी अझ बलियो संग जातमा परिणत गरी बनाइएको नेपाली समाज हो । र बिक्रम सम्वत १९१० को नेपालको पहिलो जंगे मुलुकी ऐन जारी भैसकेपछी दलितलाई एकप्रकारले पशुकरण नै गरिएको छ। हामी सोहि जातिय संरचनालाई पालना गरिरहेका छौं। कसैले षड्यन्त्र पुर्वक बिभाजन गरिएको र जबर्जस्ती भिराइएको अपहेलित जातिय पहिचान लाई गर्बसाथ अपनत्व गरिरहेका छौं। हामीले जुन जन्जिर लाई नष्ट गर्नुपर्ने थियोे उसैको सुरक्षा गरिरहेका छौं । यो कुरा नबुझेर दलित समुदायले समेत जात जातको समाज र संस्था निर्माण गरी जात व्यवस्थालाई टेवा दिएका छन्, जातीय अभ्यास गरिरहेका छन् । तसर्थ यसै व्यवस्था र सामाजिक संरचना भित्र रहेर विभेदको अन्त्य सम्भव छैन । यसको समाधानको लागि जात व्यवस्था र यस् अन्तर्गत बनेको सामाजिक संरचना र बनावट लाई भत्काएर वैकल्पिक बाटो अपनाउनुपर्ने हुन्छ ।
किनभने, दलित समुदायले जात कै कारणले गर्दा छुवाछूत र विभेद मात्रै भोग्नुपरेको छैन, शहरमा डेरा पाउनको लागि नाम थर समेत ढाट्नु परेको छ । शहरमा डेरा गरी बस्ने अधिकांश दलित समुदायले जात ढाट्नुपर्ने बाध्यता आजपनी छ। एउटा स्कुल वा कलेज बाट अर्को स्कुल परिवर्तन गर्दा अथवा कार्यस्थल वा कार्यक्षेत्र परिवर्तन गरि नयाँ ठाउँमा सर्दा,जाँदा त्याहाँ भेटिने नयाँ साथिभाई माझ आफ्नो पुरा नाम भन्न हिच्किचाउनु पर्ने अवस्था छ । जात लुकाउदा तपाईं भनेर सम्बोधन गर्ने साथीले जात थाहा पाइसकेपछी सिधै तँ भनेर सम्बोधन गर्छ । बोलचाल समेत बन्द गर्छ, आपसी दुरी बढाउदै जान्छ। वा मित्रताको सम्बन्ध नै तोड्छ, यति मात्रै होईन,नेपाली समाजमा जातैको कारण एकले अर्कोलाई हेयको दृस्टीले हेरिन्छ । गाली गलौज जातका आधारमा दिइन्छ । उखान टुक्का समेत जातको आधारमा बनेको छ। विभिन्न सरकारी तथा गैरसरकारी निकायमा गरिने सम्बोधन, व्यवहार र दिने सेवा जातमा निर्धारण हुन्छ । यो कुरा प्रत्येक पाइलै पिच्छे दलितले भोग्नुपरेको छ । गैरसरकारी क्षेत्रमा होस् वा अन्य क्षेत्रमा रोजगारी पाउनका लागि समेत जातका कारण बाधा परेको दृष्टान्त प्रशस्त छन् । कति दलित दाजुभाइ दिदिबहिनी हरुले अझैसम्म सामाजिक संजालमा समेत आफ्नो जात खुलाउन चाहदैनन् ।
जात खुलाउदा साथिसंगी बाट अपहेलित हुने र अपमानित भइने डर मान्छन् । गिरेको अनुभिती गर्छन् । यो सब जात व्यवस्थाले समाजमा भिराइदिएको अपहेलित जातीय पहिचानले गर्दा भएको हो ।। यसरी दलित समुदायलाई अपहेलना जातको कारण भैरहेको छ, तिरस्कार र बहिष्कार जातका कारण भैरहेको छ। समाजमा अमानवीय घृणित व्यवहार जात कै कारण भोग्नुपरेको छ। कथित जातका कारण बहिष्कृत जिवन जिउन बाध्य हुनुपरेको छ । मुख्य कुरा त जात कै कारण नगन्य संख्यामा दलितले आफ्नो ज्यान समेत गुमाइसके।यो भन्दा दुखको कुरा के हुनसक्ला र?अझैपनि जात व्यवस्था लाई निरन्तरता दिइयो भने कतिले ज्यान गुमाउनु पर्ने हो थाहा छैन। हिन्दु वर्णाश्रम व्यवस्थाले सर्वाधिकार खोसेर अति गरिब र बिपन्न दलित समुदाय जात कै कारण आफुलाई चिन्ने ठाउँमा होटेल, पसल जस्ता खानपान र खाद्य सामाग्रीका सानातिना पसल व्यवसाय सम्म गर्न सकिरहेका छैनन्। किनकि दलितले छोएको समाजमा चल्दैन । पच्दैन ।
अब समाधान के त ?
बिगतका विभिन्न जन आन्दोलन र क्रान्ति (जसमा दलितको समानुपातिक सहभागिता छ) ले राणा फ्याँके, पञ्चायत फ्याँके, राजा फ्याँके, विभिन्न व्यवस्था फ्याँके तर ति आन्दोलनले जात व्यवस्था फ्याँक्न चाहेनन् वा जरुरी ठानेनन् अथवा त्यो चेतना भएन। त्यसैको परिणाम आजसम्म दलित समुदायले भोग्नुपरेको हो । तसर्थ विभेद जातको कारण हुन्छ भने जात व्यवस्था किन नमास्ने ? छुवाछूत जातको कारण भैरहेको छ भने जात व्यवस्था किन राख्ने? नेपालको करिब सत्तरी लाख जनसंख्या ओगटेको समुदायले जातैको कारण दैनिक अपमान भोग्नुपर्छ भने जात व्यवस्था किन पालेर राख्ने ? छोएकै निहुँमा, पसेकै निहुँमा, प्रेम गरेकै निहुँमा दलितले ज्यान समेत गुमाउनु पर्छ भने जात किन राख्ने ? यसको आवस्यकता किन छ ? यदि यहि अवस्था र व्यवस्था रहिरहने हो भने जातीय युद्ध नहोला भन्न सकिन्न ।
यसकारण अब समानताका लागि सबभन्दा पहिला राज्यले जातीय उच्चतामा परेका हरुको जातीय घमण्ड तोड्नु पर्छ । उनको उच्च जाति भएकोमा जुन दम्भ छ त्यसलाई निष्क्रिय बनाउनुपर्छ । उनिहरुको जातिय अहङ्कार मेटाउनु पर्छ । त्यसको लागि संविधानमा छुवाछूत मुक्तराष्ट्र लेखेर मात्र हुँदैन। कानुनमा दण्ड सजाय तोकेर मात्रै पनि हुदैन। राज्यले जातको आधारमा दिने नागरिकता खारेज गर्नुपर्छ । राज्यले जातमा वर्गीकरण गरेर दिने नागरिकता नै विभेद गर्न उक्साउने प्रमुख हतियार हो । विभेदी मानसिकताको प्रारम्भिक चरण यहीँबाट हुन्छ। त्यसकारण जब जातीय पहिचानको नागरिकता देखी लिएर जातिय पहिचान झल्किने तमाम प्रमाणपत्र खारेज गरिन्छ तब ठुलो जाति हुँ भन्नेहरुको घमण्ड स्वत:समाप्त हुन्छ । त्यो चाहे पढेलेखेको टाठोबाठो होस् वा गवार !! जातिय पहिचान खारेजीपछि अब कसैले म ठुलो जात हुँ भन्ने आधार रहदैन र जातका कारण ऊभित्र मौलाएको विभेदी भाइरस समाप्त हुँदै जान्छ । किनकि अब ऊ ठुलो जात रहदैन । जब ऊ ठुलो जात रहदैन तब उसले जातको आधारमा विभेद पनि गर्दैन। हामीले हेक्का राख्नुपर्ने कुरा,एउटा बाहुनले आफुलाई तबसम्म सबैभन्दा उच्च जाति ठाँन्छ जब ऊसँग बाहुन जाति र थर अन्तर्गतको नागरिकताको प्रमाणपत्र हुन्छ । जब उसको बाहुन जात र थर जनित प्रमाणपत्र खारेज गरिन्छ तब ऊ बाहुन रहदैन । र उसले आफुलाई बाहुन हुँ भन्ने आधार नै रहदैन । भएको यही हो, हालसम्म राज्यले उपल्लो भनिने समुदाय लाई ठुलो जाति र सोही जाती भित्रको थरको प्रमाणपत्र दिएको छ । फलस्वरूप उनले आफु ठुलो जाति भएको घमण्ड गर्छन् र भेदभाव पनि गर्छन् ।
यहाँ यसो भनिरहँदा कतिले भन्लान् कागज परिवर्तन गरेर हुँदैन, सोचाइ परिवर्तन गर्नुपर्छ भनेर! तर स्मरण रहोस् जातको आधारमा दिइने सोही कागजले नेपालीको त्यो खाले मानसिकता पैदा गरेको छ। त्यो खाले सोचाइको निर्माण र विकास गरेको छ । त्यसकारण विभेदीको रगरगमा खुनसरी दौडिरहेको”तँ भन्दा म ठुलो”भन्ने भावना र भ्रम तोड्ने एकमात्र तरिका हो यो।। भन्नुको मतलब हालसम्म नेपालमा राज्यले जात व्यवस्थाको आधारमा जनतालाई विभिन्न सानोठुलो जातमा वर्गीकरण गरिदिएको छ । देशमा नामको लोकतान्त्रिक गणतन्त्र आएपनी पुरानै जात व्यवस्थालाई संविधानले मानेको छ। यानिकि नेपालको राज्य व्यवस्थाले नै जन्मने बित्तिकै नागरिकको जात र थर निर्धारण गरिदिएको छ । हरेक नेपाली नागरिकलाई निश्चित जात भित्रको थर अनुसार नागरिकता दिने कानुनी प्रावधान छ । त्यसैले दोष राज्यको हो। यो निति बदल्नु पर्छ । जात व्यवस्था परिवर्तन गर्न अति अपरिहार्य छ। यसो भन्नुको मतलब जात वा थर परिवर्तन गर्न पाउनुपर्छ भनेको होइन, कथित सानो जात लाई ठुलो जाती बनाउनुपर्छ पनि भनेको होईन। जात व्यवस्था खारेज गरी सबैलाई समान बनाउनु पर्छ भनेको हो। बिना जातको मानव बनाउनुपर्छ भनेको हो । किनभने नेपाली समाजमा बच्चा जन्मिएदेखी नै जन्मदर्ता द्वारा जातीय बिल्ला भिराउन सुरु गरिन्छ । जुन बच्चालाई जात भन्ने नै थाहा हुन्न। जस्तै:एउटै टोल छिमेकमा एकैदिन दुइ बच्चा जन्मिए भने तिनीहरु लाई दुइ अलगअलग जातिको बनाइन्छ । तिनलाई मानव बनाइदैन।किनकि जात व्यवस्था अन्तर्गत ति दुइ शिशुको जन्म दुइ अलग समुदायमा भएको हुन्छ । अब ति बच्चा ठुलो हुँदै जान्छन् ।
जात व्यवस्था अन्तर्गत एउटाको घर परिवारले आफ्नो जात अनुसारको जातीय घमण्ड पैदा हुने संस्कार सिकाउदै जान्छ । उसको चेतनामा बाल्यकाल देखी नै जातीय अहम्ताको बिज रोपिन्छ । समय संगै त्यो बिज फल्दै फुल्दै जान्छ। फलतः जतिसुकै शिक्षित भएपनी अन्तमा ऊ विभेदी मानिस बन्छ। उसले आफुभित्रको जातीय घमण्ड लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा व्यवहारत: देखाउन थाल्छ । तर अर्को जो कथित सानो जातिको समुदायमा पैदा भएको बच्चा छ, उसको शारीरिक, मानसिक विकास संगै जब उसलाई सानोजाती भन्ने ज्ञात हुन्छ तब सर्वप्रथम उसको मनोविज्ञानमा असर पर्छ। आत्मसम्मानमा चोट लाग्छ । आत्मबल कमजोर हुन्छ । ऊ गहिरो सोचमा पर्छ किनकि संगैको साथी जन्मजात ठुलो र म कसरी सानो भनेर !! त्यसैले जात विभाजन गरी नागरिकलाई खण्ड खण्डमा छुट्याएर अपराध राज्यले गरिरहेको छ। अत: राज्यले जात वर्गीकरण गरेर दिने नागरिकताको प्रमाणपत्र नै जातीय भेदभावका लागि दिइने अनुमतिपत्र हो। यो अविलम्ब खारेज गरिनुपर्छ।
विकल्प के त?
अब जात व्यवस्था खारेज गरी कुन खाले व्यवस्था ल्याउने त भन्ने प्रश्न उठ्छ । अब नाम व्यवस्था ल्याउनु पर्छ । नामको मात्रै पहिचान!! त्यसको लागि सरल उपाय छ। तर यसमा राज्य गम्भीर हुनुपर्यो, तदारुकता देखाउनु पर्यो र खर्चपनि गर्नुपर्यो । यसका लागि सर्वप्रथम त हालसम्म नेपाली नागरिक लाई जात व्यवस्था अन्तर्गत जतिपनी जातीय पहिचान खुल्ने नागरिकता,परिचयपत्र लगायत विभिन्न लिखित कागजी प्रमाणपत्र दिएको छ। त्यसलाई पुर्णतः रद्द गरि प्रत्येक व्यक्ति लाई उसको जात र थर मेटाएर नामको मात्रै पहिचान हुनेगरी पुनः कागजपत्र प्रदान गर्नुपर्यो । जुन प्रक्रिया नागरिकता बाट सुरु गर्नु पर्दछ । नागरिकता बाट जातीय पहिचान मेटाउने बित्तिकै अन्य कागज पत्रमा स्वत: मेटाउनुपर्ने हुँदा त्यति झन्झटिलो पनि हुदैन। त्यो काम नागरिक आफैंले गर्नेछन्। त्यसका लागि राज्यले उचित व्यवस्थापन गरिदिनुपर्छ। नाम पहिचान अन्तर्गतको नागरिकता कस्तो हुन्छ ? यो पनि एक प्रकारको वंशज आधारको नागरिकता हुनेछ । जसमा हाल नामको अगाडी जात वा थर लेखिने स्थानमा आफ्नो बुबाको नाम अथवा आमाको नाम लेखिने छ । जात र थर लेख्न पाइदैन । जात वा थरको रुपमा आफ्नो मातापिताको नाम लेख्नुपर्ने हुन्छ । जुन आफ्नो वंशजको पहिचानको रूपमा रहन्छ। जसमा हाल झैँ तिन पुस्ताको नाम उल्लेख हुनेछ।
जस्तो: उदाहरणको लागि मेरो हालको नाम अर्जुन परियार हो । जात व्यवस्था खारेजपछि अब मैले परियारको ठाउँमा मेरो बुबाको वा आमाको नाम लेख्नुपर्ने हुन्छ । जस्तैः मेरो बुबाको नाम तप्त परियार हो त्यसैले अब मेरो नाम अर्जुन तप्त हुनेछ । यसै अनुसार मेरो हजुरबुवाको नाम बुद्धि परियार हो त्यसैले मेरो बुबाको नाम अब तप्त बुद्धि हुनेछ । मेरो छोरीको नाम कुसुम परियार हो, यस् अनुसार अब उनको नाम कुसुम अर्जुन हुनेछ वा मेरि श्रीमतीको नाम जोडेमा कुसुम रबिना हुनेछ ।यो निति अनुसार झट्ट हेर्दा नाम नमिलेको जस्तो देखिन्छ । महिला र पुरुषको नाम जोडिएको वा एक पुरुषको दुइ नाम अथवा एक महिलाको दुइ नाम देखिन्छ सुरुमा अनौठो लाग्छ । जस्तै हामीलाई बिदेशी हरुको नाम अनौठो लागेजस्तो ।
तर समय बित्दै जादा यसै नाम राम्रो लाग्नेछ । अन्तमा,, यो निति कसैलाई हास्यास्पद पनि लाग्न सक्छ। फिक्का लाग्न सक्ला वा कथम कदाचित यस् अनुसार भएमा, गरिएमा कसैको जातीय अभिमान र आडम्बर मासिएला । कसैको सुझबुझ बिनाको जातिय पहिचान खोसिएला । संस्कृति, परम्परामा बाधा पर्न सक्ला । कसैले जात वा समुदायका नाममा गरिरहेका राजनीति समाप्त होला । सामुदायिक आरक्षण पनि खोसिन सक्ला । त्यसबारे चर्चा गर्दै गरौंला । तर ति यावत कुराहरु भन्दा माथी उठेर पहिला एउटा मान्छेलाई मान्छेको दर्जा दिनुपर्छ । कथित जातको बिल्ला होइन ।