प्रेमको तपस्या

यो निर्दयी समय
बिग्रीएको दिनदशा
नसुल्झिएको भाग्यरेखा
नटुङ्गिएको कर्मरेखा
यी सबै सबै झेलेर
यो सबै रेखाहरुको सिमा भत्काउदै
तिम्रो मायाको प्यास बोकेर
अनेकौ समुन्द्रहरु छिचोल्दै
भौतारिएको एउटा प्यासी मनलाई डोर्याएर
तिम्रो प्रेमको पुजा गर्दै बांचिरहेको छु
तिम्रै वरिपरि एउटा यायावर जिन्दगी ।
अब हुनेछैन कुनै भुल
कोहि आउने छैनन भङ्ग गरिदिन
मेरो प्रेमको तपस्या
म सुनिरहनेछु तिमिले गाएका प्रेमिल भाकाहरु
ध्यानमग्न हुनेछु तिम्रो मनको आवाजमा
तिमि परिबन्धका सिमाहरु तोड्ने साहस गर्दै गर्नु
म प्रार्थना गरिरहेको हुनेछु
प्रशन्न हुनेछ म्हेमेहरुको आत्मा
खोल्नेछ दिब्य नयन
पठाउलान मोलम र दिब्यदृष्टि
खुल्नेछ तिमी र म हराएको अँध्यारो बाटो
ठिक त्यही बेला,
म ठान्नेछु
सिद्ध भयो मेरो प्रेमको तपस्या
त्यसैले,
प्रीय मान्छे,
यो जुनि तिम्रै प्रेमको खातिर
“तपस्या” भयो
केवल तिम्रै प्रेमको खातिर ।
जन्मौ जन्म देखिको तपस्याको रापले
खुशी हुनेछन इष्टदेवहरु
पग्लिनेछ परमआत्माको आत्माहरु
दिनेछ पुर्खाहरुले आशीर्वाद
यहि जुनिमा जस्तै तिमी तिमी नै भएर आउनु
म म नै भएर आउला
तिमी पहिल्यै आयौ भने पर्खिनु
म पहिला आएं पनि पर्खिउला
यसरी नै कुटुम्बको कोख हुँदै
सके संगै पाइला टेकौंला यो मायाको संसारमा।
आउनेछु,
तिम्रो आप्पको शिर उठाउन पोङ लिएर
डम्फुमा चरी फुर.. फुर… नचाउदै
ताम्बालाई अघि लाएर
गान्बा लाई साथमा ल्याएर
चोहो लाइ सांची राखेर
खाउला प्रेमको कसम युग युग सम्मको
मेटौला जन्मौ जन्म देखिको अतृप्त प्यास
बाचौंला अजम्बरी चोला ।
प्रीय मान्छे,
यो जुनि तिम्रै प्रेमको खातिर
“तपस्या” भो
केवल तिम्रै प्रेमको खातिर ।।