भ्यालेनटाईन डे, साकुरा र तिम्रो मेरो कथामा मारिया सानहरु


आज फेरी माघे झरी प¥यो । भर्खर अस्ति मात्र त हो पुषे झरी परेको, लागेको थियो अव चिसो खत्तम, गर्मी सुरु । धत् फेरी प¥यो त पानी । उहुहु जाडो त के सारो हौ थिरथिराउंदै म सिरक भित्र गुटमुटिएं । आफु मात्र स्वतन्त्र पत्रकार, वेतलवी काम गर्ने श्रमजीवि । त्यसैले धेरै जिम्मेवारी भएता पनि काम सकाउन त्यति सारो हतारो छैन । राती विहान मेलै संग आफनो काम सक्न सक्छु । तर काम चोर र अल्छे भने म होईन है ।
हो आज भ्यालेनटाईन डे । प्रेमीहरुले एक अर्कासंग प्रेम साट्ने र मन परेकालाई प्रेम प्रस्ताव राख्ने दिन । अचेल किन हो यस्ता प्रेममय दिवसहरुका बारेमा मलाई खासै चासो हुदैन । विहान देखि परेको झरी न मेरो लागि रोमान्स बनेको छ नत खास नै । वरु यी यस्ता दिनहरु म विर्सन खोज्छु, विर्सेको राम्रो लाग्छ भनम् ।
हो यस्तै झरीलो दिन थियो, म हिसाई बाट काम छोडेर तिम्रामा आउंदा । चुमा डेढ घण्टा ट्रेन कुरे पश्चात म खुवानामा हाम्रो अर्पाटतिर हानिएकि थिएं । मन एकोहोरो थियो । केही खुशी र दुःखका भाव उतार चढावमा म विगतका जापान वसाईका सुख दुःखलाई हिसाव कितावमा जोड्दै थिएं । रातको आठ बज्दै थियो, झमझम पानीमा सेकी खामेयामा हुंदै ट्रेन हुंइकि रहेको, कानमा हेडफोनमा नेपाली गीत गुञ्जी रहेको थियो, तिमीलाई म भुल्न सक्दिन, जहां जाउं तिम्रो याद आई रहन्छ, मेरो नेपाल मेरो नेपाल ।
रुझिलो रातमा मलाई मेरो नेपालको सम्झनाले निकै अत्याायो । लाखौंको कमाई र सुविधा सम्पन्न यो सुकिलो देश मलाई खासै आकर्शन र गन्तव्य बन्न सकेन । लाखौं नेपाली सहितको यो आप्रवास मात्र मेरो लागि कर्मथलो बन्यो, तर जीवनको ध्यय र गन्तव्य बन्न सकेन । किन किन यो मन संधै नेपाली नै बन्ने गर्छ मेरो । म मात्र होइन सवै नेपाली आप्रवासीहरुका आँखा र ह्रदयमा म नेपालको बासना देख्ने गर्छु । विषेश परदेशका मानवता विहिन भाकाहरुमा नेपाली माटोको हरहराउंदो वासनाले अधिकाँस नेपालीहरु हुरुक्क भएको देख्छु । नेपालमा हुंदा विकासको नाममा पनि भुगोल र जाति विषेशको गन्धमा रुमल्लिएका जमात पनि किन हो परदेशमा एक अर्काका पुरुक जस्तै बन्छन् हुन्छन् । शायद आफनोपन र आफनो को भावना जगाउन हुर्कन एकपटक परदेशी माटोमा विदेशी गाईजिन हुंदाको दुःख बेहोर्न पर्ने नै हो कि, सोच्न आँउछ कैले कैले । राजु लामाका देश भक्तिका गीतमा बहकिंदै लामबद्ध ट्रेनहरुको आगमन र त्यसको प्रकासले झरीका पानीहरुमा परेका झिल्कामा भिज्दै ट्रेन हुइकि रह्यो ।
ओहो अव त अठार दिन बाकी मेरो नेपाल फर्किने । किन्नु त खासै छैन । तर नानीहरुका लागि कपडा फाटा लिन बाकि नै छ । कपडा सम्झिने वितिक्कै मलाई मारियाको याद आयो । काम छोडेर आउंदा मेरो हातमा तीन मान राख्दै, खोदोमोनाका वके? भन्दै अंगालो हालेकि थिईन, नचाहेर पनि मेरा नयन द्रवित बने । मारिया सान । हो मारिया उनको नाम । थर केहो थाहा छैन चासोको विषय नि बनेन कहिले । आमा जापानीज बुबा ब्राजिलका । दोश्रो विश्व युद्धमा लाखौका संख्यामा जापानीजहरु विस्थापित बने । युद्धको मारमा विस्थापितका लर्कोमा मारियाकि आमा पनि परिन ब्राजिल तिर । अहिले युद्ध सकिएको पनि आठ दशकमा चुलिएको छ । जापानमा विकास तिव्र गतिमा उकालिए पछि द्न्दका कारण विस्थापित आफना नागरीकलाई जापान फर्काउन र विकास कार्य उद्योग धन्दामा सघाउन नागरीकलाई स्वतन्त्र रुपमा आफनो देश आवजावत गर्न खुल्ला वातावरण दिने गरेको छ । त्यसैले त थुप्रै मारियाहरु आफनो थातथलो फर्किदै देश विकासमा सघाउंदै छन् । देश क्रमस उंभो लाग्दै छ ।
मारियाका कथाहरु संझी रहंदा मेरो मन अनायासै अमिलो बन्यो । नेपालको दश वर्षे सशस्त्र द्धन्दको मारमा मारिया जस्तै लाखौंका संख्यामा परदेशिएका नेपाली चेलीहरुका बारेमा मेरो नेपालका नेताहरुलाई भने यो नजीर उल्टो बनेको छ । अहिले सुन्छु, द्धन्द सल्टिएको बाह् वर्ष उंभो लागि सक्दा पनि नेपाल सरकार जापान लगायत तेश्रो राष्ट्रमा आफना नागरीक श्रमिकका रुपमा भर्ना गर्न गराउंन तँछाड मछाड गर्दैको स्थितिमा गुज्रंदै छ । त्यसमा पनि नातागोता आफन्त इष्टमित्र, साली साला कार्यकर्ता ककसका भागमा पुग्ने हो वा होईन मात्रै को चिन्ता अनि आम पहुंच विहिन नेपाली हेरेको हे¥यै । धन्य नेपाल धन्य नेताका नीति । आखिर नीति नै त रहेछ, कोइ अर्काको देश बनाएर पेट पाल्छ, कोई अर्काको पेट पालेर देश बनाउंछ । फरक नीति र सोचकै त रहेछ ।
हो मारिया तिनै विस्थापितकि छोरी । उमेरले पचास टेकेकि भए पनि खान्की र स्वस्थ्य जिवन शैलिले होला उनी भर्खर पैतिस तिरकि जस्ति छे । अग्लो र गोरो वर्णको शरीर । हमेसा काममा दरिई रहने । सफा चिटिक्क परेर वस्ने, उज्यालो हंसिली फरासिली मारिया । हाम्रा टीम लिडर । काममा एक दम अनुशासित । उनी हामीलाई हरेक दिन काम शुरु गर्नु भन्दा अगाडीको व्यायम पश्चात सम्झाउंथिन, सम्झ यो तिम्रो कम्पनि हो, यो तिम्रो काम हो, यो विग्रे मेरो काम विग्रन्छ, मलाई घाटा हुन्छ, मेरो कम्पनि डुव्छ यस्तै यस्तै । हामी मनमनै त्यस्तै दोह¥याउंथ्यौं । त्यसैले होला हामी श्रमिकहरु कम्पनिको कामलाई बडो प्रेम पुर्वक सल्टाउंथ्यौं । विग्री हाले नडराई सजायं खान तयार हुन्थ्यौं । काम विग्रदा कहिले गाली मात्र गर्थे कहिले सजायं पाईन्थ्यो । यो नियम सवैमा लागु हुन्थ्यो के जापानिज के गाईजिन (विदेशी ) सवैलाई एउटै नियम एउटै सजाएं । अनि कहिले कम्पनिलाई नाफा हुंदा मिठाईको बक्सा आउंथे । नभए कम्तिमा जुस ओच्या वा कफि । जे होस काम गर्ने वातावरणमा आफनो पन थियो । कामको वोझ जति भएपनि मालिक र मजदुरको भावना र दुरी नरहंदा कामको थकाई भुलिन्थ्यो पनि । मारियाको काम गराई र उर्जा देख्दा गजव लाग्थ्यो । विचरी मारिया । नानी नभएकै कारण पतिले परित्याग गरिएकि मारियाका आफनै कथा छन् व्यथा छन् । उनका प्रेमी एंजेरुका कथा पनि कम मार्मिक छैन । आमाद्धारा परित्याग गरिएका एंजेरु (एंजेल)सडक बालकका रुपमा हुकिर्ए । टुरिष्ट भिसामा जापान भित्रिएका एँजेरु मारियासंगको प्रेममा यतैका बने । भिसा छैन विहे गर्न मारिया मान्दैन । शायद पहिलो पतिको परित्यागले गहिरिएको मारियाको घाउ अझै पुरिएको छैन । किन विहे नगरेको भन्दा भन्छिन् “हामी संगै त छौं, विहे किन गर्नु प¥यो ?” मारियाको दुःख मिसिएको चिसो जवाफ ।
दुई वर्ष जापान वसाईमा थुप्रै मारिया भेटिए । ती मध्य केही नेपाली थिए त केही अन्य विदेशी । तर ब्राजिल र जापानीको रगतको संम्मिश्रित यो मारिया मेरो मनमा गहिरिएर बस्यो पनि । उनी मेरी आमा थिईन एक हिसावले । मारिया फगत कसैकि प्रेमिका । कसैकि उधारो कि मन बहलाउने साथी । कामदार महिला स्वदेशी होस वा विदेशी सवैका काउन्सुलर उनी । म मनमनै दुःखी बन्थे उनको जीवनलाई मनन गर्दै कहिलेकाहीं भावुक बन्थें आखिर म पनि त महिला थिएं, परदेशिन बाध्य पारिएका र परेका मध्य । म गर्वका साथ श्रीमान संग प्रेम साटथें शायद उनी मरेर बाँच्दै बाँच्नका लागि मर्दै प्रेम साट्थिन विचरी । दिनभर खाइसाको काम पश्चात म श्रीमान् संग दुःख सुख बाँडथें ।ं विचरी कहिले आफना दुःख दर्द साट्न सक्दिन । न त कथित प्रेमी संग न कामदार संग । जसले उनलाई प्रेमिकाको दर्जा भन्दा माथि कहिल्यै राख्दैन र राख्ने आँट पनि गर्दैन ।
सेप्टेम्बरको सांझ म काम सक्न हतारमा थिएं । घडीमा कतिबेला पाँच बज्ला हेर्दै हतार हतार समान समेटदै गर्दा मारिया दगुर्दै आईन र भनिन्, कोपिरा सान, क्योवा आनाता खाईरुवा दामे, क्योवा दाके ताईफु मास, ताईफु आउंदै छ, ट्रेन स्टेशन बन्द छ, तिमी यतै आफनो कोठामा बस, अपार्ट नफर्क, मारियाको उर्दी । कामदारहरु मध्य म मात्र खाइसा भन्दा दुई घण्टा ट्रेनबाट पर बस्थें । मारियाको उर्दीले मेरो मन अमिलो बन्यो । दिनभरीको कामको थकावत पछि बल्ल श्रीमान संग सुख दुख साटासाट हुन्थे हाम्रा । विदेशमै भए पनि विहानकोृ चिया देखि खाजा खाना सम्मकोे व्यवस्था गरेर हिड्ने मेरो नेपालदेखिको दिन चर्या । कामको थकाईले खाने समेत मन नगरेर सुतने उनको बानीले मलाई सारो पिरोल्थ्यो, त्यसमाथि दिनको एक पल्ट नेपाल छोडेका नानीहरु संग बाबु आमा संगै बसेर वात मार्ने उनीहरुका मिठा तिता कुरा सुन्ने सुनाउने हामी बुढाबुीको दिन चर्या माथि ताइफुले तगारो लाउंदा मन नरमाईलो बन्यो मन । मन नलागि नलागि म खाईसाको मेरो कोठामा छिरें । पल्लो कोठाकि वहिनीले माया गरेर खान बोलाईन । गुन्द«ुक सिन्कीको झोल, भात, सुंगुरको मासु हरहराउंदो नेपाली घिउ सहित भात पस्कि दिइन् । मन अपार्ट तिरै थियो, श्रीमान तिरै थियो । मन नलागि नलागि गाँस टिपेर म सुत्न तिर लागें ।
कतिबेला खुवाना पुग्यो पत्तै भएन । केही मन अमिलो त केही खुसी मिश्रीत भाव सहित अपार्ट पुगें म । खोई किन हो नेपाल फर्किने दिन नजिकै होला महेश मलाई अधिक समय दिन दिएको महशुस गरें । उ त कोठामा पहिले नै पुगेर खाना बनाउंदै रहेछन् । मलाई देखेर बोलें “आज वातासीमा सेल रैछ । नानीहरुका लागि राम्रा राम्रा कपडा छन् सपिंग जाने होइन ? अ हेरम खाना खाएपछि मुड् कस्तो हुन्छ । हातको झोला भुइंमा राख्दै जवाफ दिएं । मैले ।
राती सुत्ने बेला किन हो फेरी मारियालाई सम्झिएं मैले । त त्यो रात म कति बेला निदाएं पत्तै थाहा पाइन । मारिया सान मारिया सान ……कसैको आत्तिएको आवाजले म विउंझिएं । आवाज माथिको कोठाबाट सम्झनाको आत्तिएको आवाज थियो । अर्ध निद्रामा म हतपत्त उठें तर ढोकामा पुगेर आवाज खोल्न हात लम्काएं तर खोल्ने हिम्मत भएन र अडिएं । पल्लो कोठाबाट मारिया हतपत निस्केको सुनियो । आवाज कोई पुरुष र मारियाको थियो । एक छिन को हो संग मारियाको जापानी भाषामा भनाभन भएको सुनियो । करीव १० मिनेटको गलफत्ती पछि को हो लडखडाउंदै भ¥यांग बाट झरेको सुनियो । लगत्तै मोटर स्टार्ट भयो र हुंइकियो । म विस्तारै हिम्मत गर्दै मारियालाई फोन गर्न फोन लिन टेवल तिर लम्किदै थिएं । मेरो कोठाको ढोका ढकढकायो मारियाले । “कोपिला सान हायाक”ु …..। किन होला ? मैले सशंकित हुंदै ढोका खोलें । मारिया संगै थरथराई रहेकी सम्झना मारियाको अंगालोमा थिईन । सानी नानी जस्तै डर र त्रासमा थिइन सम्झना तर किन ? । तिमी यसलाई (सम्झना) एक छिन समात त । भन्दै मारियाले कसैलाई फोन गरीन् ।
होइन किन नसुतेर टोलाइरा ? महेशले आँखा मिच्दै अचम्म मान्दै हेर्दै बोल्यो म संग । परदेशी भुमीमा कतिपय घटनाहरु श्रीमानलाई भनि रहन पनि सकिन्न । आफनो देशमा व्यवहार मिलाउन परदेसिंदा कतिपय अप्ठयारा परिस्थितिहरु आइृ पर्छन् । कामको तनाव सहकर्मीहरु संगको लफडा तफडा सवै संग झुझ्दै काम सकेर दुई घण्टा रेल र साईकल हुंदै घर पुग्दा आँत हुरुक्कै भई सकेको हुन्छ त्यसैले पनि होला घर पुगेर फेरी दिन भरीको तनावलाई महेश सामु पोखेर रहेको रातलाई पनि संगीन बनाउने कतई मन हुंदैन पनि ।
विस्तारै डराउंदै सम्झना कोठा भित्र छिरीन् । उनी घुँक्क घुँक्क रोई रहेकि थिइन् । के भो खासमा ? काम मात्र गरेर नपुग्ने, हामीलाई के सम्झेको यो मालिकले ….बन्न परे त बम्बै जान्थें नि बेचिन, किन लाखौं खर्च गरेर आउंथ्यौं र दिज्यु,….आफनो अनुहार हत्केलाले छोप्दै भक्कानिइन् सम्झना । एउटा महिलाका तेश्रो नेत्र पनि हुन्छ । मलाई परिस्थिति बुझन् समय लागेन । हुन त जापानीहरु महिलाहरुलाई निकै सम्मान गर्छन । खाईसामा लैगिक हिंसाको नाम सम्म हुंदैन जापानमा । बरु संगै काम गरेका सहकर्मी र सह देशीहरुबाट पिडित हुनु पर्छ नेपाली लगायतका गाईजिन महिलाले । सम्झना । हो सम्झना हो उसको नाम । घर पश्चिम नेपाल । अहेव पढ्न काठमाडौ छिरेकि । माओवादी द्धन्द चरम चुली रहेको नेपालको राजनैतिक अवस्थामा गाउदेखि भागेर काठमाडौ पढ्न बसेकी । गाउका कयौं साथी माओवादी तिर लागे । भेउ नपाउंदा आफनो डेरा सम्म वास माग्दै आएका माओवादी साथी र दिनहुं जस्तो शसस्त्रले शंका लागे घर घरमा आई खोतल्ने त्रसित माहौल । त्यस माथि काठमाडौको ठेग्नै मुिस्कल महंगाई । गाउबाट आमाले पठाएको साग गुन्द्रुकका सुकुटी, मकै कोदाका आटो र घर भाडा र केही नीजि खर्चलाई पठाइएको खर्चले पाहुना पाल्न कम्ता मुस्किल थिएन सम्झनालाई । सम्झना मात्र किन काठमाडौको महंगाइमा पढेर केही गर्न बसेका हरेक डेरावालको नियति र कथा यस्तै छ । अझ विरामी बनेर काठमाडौ जचाउन आएका पाहुनालाइृ अस्पताल धाई दिने र उस्तै परेमा विरामी कुरुवा समेत बसी दिनु पर्ने बाध्यता र उस्तै काम परेर सहयोग गर्न नसकेको अवस्थामा गाम घर फर्केर फलानाका छोरा बुहारी छोरीले त पानी पो बारुला झै गरे गाँठे भन्दै कुरा काटेका सम्म सुन्न पर्ने बाध्यता छ आम काठमाडौ बाहिरका डेरावालहरुलाई । अझ घरबेटी उस्तै विवेकहिन परेमा खानु पर्ने खप्की बेग्लै । शायद यी यस्तै कारण हुनु पर्छ संम्झनाहरु अहेवको लोभ लाग्दो भविश्य छोडेर परदेशीय । मलाई त्यति मात्र थाहा छ । अरु सोध्ने कुरा पनि भएन । व्यत्तिगत जिवन र ठाउँ ठहर सोध्ने परिपाटी छैन विदेशमा । त्यो रातभर सम्झना सुतिनन् । म नि कसमकसमै रात विताई रहें । निद्रा लाग्ला जस्तो हुन्थ्यो तर छिन छिनमा सम्झनाको झस्काइले म विउंझि हाल्थें । आमाको काख र बाबुको शुरक्षाबाट टाढिएर विदेसिनु परेका सम्झनाहरु जस्ता किशारीहरुका रात शायद यसरी नै झस्केर वित्दो हो जहांपनि र जहिले पनि ।

भोली पल्ट खाइसामा कम्पनि मालिक नआएको अनुमान् मैले मेरो काम गर्ने छेउका कोठामा मालिकको खाली कुर्शी देखेर ठम्याए । सम्झना अपार्ट मै सुती रहिन् । मारियाले किन हो त्यो दिन हामीलाई केही निर्देशन पनि दिइनन् । काम शुरु हुन नियमित गरिने व्यायाम र निर्देशन केही भएन । कामको वीचमा मारियाले मलाई कानमा खुसुक्क भनिन् । “कसैलाई केही नभन्नु, म पनि काम छोड्दै छु है, अव नगर्ने यता” । शायद आफना कामदार महिला माथि मालिकले गरेको र्दुव्यवहारले निकै दुखि थिईन मारिया । त्यो मारिया जसलाई हरेक श्रमिकहरु एंजेरुसंग लिभिंग टुगेडर गरेकै विषयलाई जोडेर मारियालाई चरित्रहिन महिलाको रुपमा चित्रित गर्थे । सुनिन्थ्यो कहिले कहिले । हो मारियाले काम त छोडिनन् । तर सम्झना माथि भएको दुव्यवहार विरुद्ध कम्पनि मालिक संग खुलेरै विरोध गरीन् मारियाले । मारिया जो आफै पिडित थिइन् श्रीमान् र समाजबाट । तर कसैको आत्म सम्मानका लागि लडिन् मारियाले मात्र महिला भएकैले स्वदेशी वा विदेशी उनलाई मतलव भएन । त्यसपछिका दिनहरुमा के कस्ता घटना घटे थाहा भएन । म नेपाल फर्कें आफना नानीहरुका लागि । तर जव सम्म बसें मारिया सानका गर्विलो काखमा आत्म सम्मान जोगाउंदै आफनो देश र परिवारका लागि आर्थिक जोह गर्ने अवसर प्राप्त गरें साधुवाद मारिया सान् ।

आज भ्यालान्टाइन डे फेरी । पक्कै साकुराका फुलका कोपिला पाउलिंदै होलान् जापानमा । महिला अधिकारका लागि पैरवीसंग सरोकार राख्ने कनै संगठन संग आवद्ध छैनन मारियाहरु । तर आफु मरेर बाँची रहेकी मारियाहरु सम्झनाहरुका सुखदुखमा संधै बलियो खम्बा बन्ने गर्छन । तर मारियाहरुका आफनै कथा कहिले लेखिंदैनन् । न त खोजी हुन्छ मारियाहरुको कसैबाट । दिनभर खाइसामा जोतिएर रातमा एक छिन् एंजेरुहरु संग स्नेह बाँडेर जिउने मारियाहरुको मन हुंदैन र मन हुनु पनि हुंदैन । मात्र मेसिनसंग जुधि रहने भएरै होला मारियाहरु मात्र फगत मेसिन जस्तै । अनि मन विहिन मारियाहरुमा फेरी पनि मन र विवेक हुने गर्छ सम्झनाहरु का लागि, तर फेरी आफनो लागि मात्र फगत मेसिन मन ।
कहिले काँही लाग्छ संसारमा सवै भन्दा दुःखी प्राणी महिला । विगतका राज्य सत्ताले आम जनताका भावना र माग संबोधन नगरेकै कारण उव्जेको दश वर्षिय द्धन्द देशमा नहुंदो हो त सम्झनाहरुले विदेसिन बाध्य हुन्थेन । अनि कहिले लाग्छ शसस्त्र द्धन्दको अवसानको यो चौध वर्ष पछि पनि राज्य संयन्त्रले महिलाहरुका लागि एउटा लोभ लाग्दो व्यवशायको खाका किन कोर्दैनन् । अझै किन वैदेशिक रोजगार लाई प्रोत्साहन गर्छ यो सरकार र राज्य संयन्त्र ? पाले पुन्य मारे पाप को कसम खाएर भित्राएकी आफनी श्रीमतीहरुलाई पैसा कै लागि किन विदेसिन बाध्य पार्छन श्रीमानहरु ? अनि कहिले लाग्छ, महिलाहरुलाई सोधुम् किन आफना काखका नानीहरुका आँखा भरी वलिन्द्र आँसु बनाएर आफनो घरवारीलाई अलपत्र पारी दुइ पैसा कमाउन विदेशिन बाध्य छौ ? तिमीहरु मध्य कोइकोइ मात्र सम्झना जस्ता भाग्यमानी हुन सक्छन् जसले मारियाहरुको स्नेह र बलियो छहारी पाउन सक्छौ । आफै जलेर प्रकाश दिने मैन बत्ति जस्ता मारियाहरु यो संसारमा धेरै कम हुन्छन् हेक्का राख्नु । डोजो मारिया सान । आनाता किरेइ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...