साप्सुमा मिसिएको रगत–आँसु
हिउँदले छाडेका सुक्खा डाँडाहरु बिस्तारै हरियो हुने तरखरमा थिए । सुन्तलाका बोटहरुमा कलिला चिउलासँगै फूलमा मौरिहरु भुनभुनाउदा अदभूत ध्वनीले तरंगित तुल्याउथे । धान काटेर छोडिएका परालको जराहरू खेतका गराहरूमा उसैउसै लहरै बसिरहेका थिए । कुनै कित्तामा गहुँको हरियालि दृश्य देखिन्थे । बाटोभरि छरिएका पत्करमाथि कुल्चदाँ निस्कने आवाजमा चराहरूको चिरबिर मिसिदा मिठो संगीत गुन्जिएको भान हुन्थ्यो । बेशितिर कोइरालो, टाँकी, आरू अनि लेकतिर लालीगुराँस, चिमालहरूले फुलेर गाउँमा वसन्तको स्वागत-सत्कार गरिसकेको थियो।
बैशाखको महिना, वार्षिक परिक्षा सकिएपछि बस्तुभाउ चराउने बहानाले खोलामा दिनभर पौडिनु, खोलापारी पाकेको रुख ऐसेलुटिपेर खानुमा छुट्टै मजा थियो । त्यसैपनि निर्दोष बाल्यकाल त छदै थियो, ती आफैँमा संस्मरणीय दिन बनेका छन् ।
त्यो दिनको संयोग हाम्रो लागी साँच्चै अविस्मरणीय हुन पुग्यो । माझगाउँमा साइनोले काका पर्नेको बिहेको निम्तोमा जानुपरेकोले, हामी केटाकेटीहरुको नांगो-भुतुंगो ज्यानले साप्सु खोलाको ठूलो दहमा चोभलिन मात्रै पाएन कि अकल्पनिय घटनाबाट बच्नसमेत सफल भयो । र त्यही हृदयविदारक सम्झनाहरुका बारेमा केहि लेख्दैछु।
गाउँघरमा छेवर, पास्नी, बिहेमा खान पाइने थरिथरिका अचारसहितको भतेरमा पाक्ने परिकारको स्वाद बारीको डीलमा लहरै बसेर खाएको याद अझै ताजा छ । त्यसबेला बाल्टिनबाट रांगाको झोल र चोक्टा छुट्टाछुट्टै पस्किएर दिँदा हुने खुसीको क्षण सम्झदाँ अहिलेपनि खुब रमाइलो लाग्छ । त्यो दिन हामी खोलामा गयल भएर काकाको बिहेमा हाजिर भएका थियौं।
काखमा भाई भएकोले आमाले छिमेकीहरूसँगै चामल र रक्सी बोकाएर मलाई विहेमा पठाउनुभयो । बेहुली लिन जन्ती जाने गाउँ ‘दोर्पा’ नजिकै भएकाले बेहुलापट्टिका जन्तीहरु विहान सबेरै गएर दिन ढल्दा–नढल्दै फर्कदै थिए । हामी गाउँको पुछार(क्षेतिखाम) बाट माझगाउँ विहे खानकै लागि निस्किएका थियौं ।
फर्कन लाग्दा साँझ पर्न लागिसकेको थियो । दिउँसो आएकै बाटो फर्कने तरखरमा ओह्रालै–ओह्रालो छापटोल हुँदै बरडाँडा पुग्नलागेका थियौं । त्यसैबला तल खोलातिर अचानक डरलाग्दो आवाजहरू सुनियो । माथ्लो घरको तुम्मा (बडिआमा) र फुफुहरूलाई म पछि पछि पछ्याइरहेकी थिएँ । ‘दिलकाजी रहेन अरे है अब’ उहाँहरुलाई कसैले यस्तो खबर सुनाइरहेको थियो।
‘दिलकाजी’ भन्नसाथ मेरो बच्चा मस्तिष्कले त्यही कुरा सम्झ्यो, म भन्दा चार वर्ष जेठो दाजै(दाइ)ले पहिल्यै सुनाएको थियो– ‘माउवादीहरु त डर लाग्दा हुन्छन् अरे ! कम्मर वरिपरी छुरी भिरेका हुन्छन् अरे ! घरको एक–एकजनालाई उनिहरुसँगै हिड्नु भन्छन् अरे! हामी त सानै छौं, लानु त लादैँनन् होला । तर पनि जोगिनुपर्छ है सुइता !’ जिब्रो राम्रो नलाग्दा दाजैले ‘सुष्मा’ वा ‘सुष्मिता’ लाई ‘सुइता’ भनेर उच्चारण गर्थे । पछिपनि त्यसैगरि बोलाउने बानि भएकाले मलाई सम्बोधन गर्दा ‘सुइता’ नै भन्ने गर्थे । दाजैको कुराले माओवादीसँग प्रत्यक्ष भेट्न डर भएपनि लुकेर हेर्न भने पहिलेबाटै खुब रहर लाग्थ्यो ।
नभन्दै तुम्माहरुलाई पछ्याउँदै म घर पुगें । भाईलाई काखमा च्यापेर आमा माथ्लो घरको रेणुका नानाहरुसँगै मतानको सानोझ्यालबाट अटि–नअटि खोलातिर हेरिरहनुभएको थियो । बन्दुक पड्किएको आवाज यसरी अघिपछि कहिल्यै नसुनेकाले पनि होला मनमा थप त्रास पैदा भइरहेको थियो । सबै आत्तिरहेका थिए । तर खासमा के भएको हो भनेर अझैसम्म कसैलाई थाहा भएको थिएन। साँझले विदा लिएर समयलाई रातले कब्जा गरिसकेको थियो । त्यो रात कौतुहलता, अट्टहास र डर सबै मनभरि कोचिएर बित्यो।
मिर्मिरे उज्यालोमै वारिपारीका गाउँले र घरका ठूला मानिसहरु खोलातिर गइसकेका थिएछन् । म ब्युझिँदा भने ट्याम्के डाँडाबाट घामले हाम्रो गाउँलाई नियाल्न भ्याइसकेको थियो । यतिकैमा पारी डाडाँगाउँको चुइमारो खेतमा लाइनका लाइन मान्छेहरु कुदिरहेको प्रष्ट देखिन थाल्यो । पछि थाहा भयो, उनिहरूलाई त ‘दंगा’ पो भनिदोरहेछ ।
दंगाले अश्रु ग्यास फायर गरिसकेपछि खोला झरेका मानिसहरू उकालो कुदेर यति छिटो आइपुगे कि त्यो कल्पना जस्तै थियो । हुनपनि आफ्नो ज्यानको माया कसलाई हुदैन ? त्यति हुँदा हुँदै पनि नौ जनाले त साप्सु र लप्से खोलामा मृत्युवरण गरिसकेका रहेछन्, सिप्रि भित्र र बाहिर भट्भटिदै मारिएका असला माछाजस्तै !
तत्कालीन च्यानडाँडा गाविस, डाडाँगाउ र निर्मलीडाँडा, लामाखुलाई छुट्याएर बीचमा बग्ने खोला हो, साप्सु । चिउरीडाँडा–दोबेला र लामाखुलाई छुट्याएर बग्ने लप्से खोला पनि दोभानमा भेटिएपछी साप्सुसँगै मिसिएर बग्छ । हाम्रो घर गाउँको पुछारमा भएकाले तल्लोएकघर बाहेक मुनी खेत र त्यसभन्दा तल त्यही खोला (दोभान) मात्रै छ । वर्षा याममा भेल बगेको आवाज प्रष्टै सुन्न सकिन्छ । त्यहाँदेखि पारीपट्टि त्यही डाडाँगाउँका घरहरू, खेतपछि बाघेम्पा ढुंगा र तारे भीरको पहरासँगै जंगल छन् । बाघेम्पा ढुंगामा बसेर कराउँदा हामीले यता वारी सुन्थ्यौं । बस्तुभाउले बाली खाएको थुप्रै पटक पारीबाट कहि दिन्थे र हामी हतार–हतार दौडिन्थ्यौं । उसो तबाघेम्पा ढुंगासँग सम्बन्धित किस्साहरू थुप्रै छन् । उहिले त्यही ढुंगामा बसेर यता (लामाखुपट्टि) फर्किएर दोहोरी गाउनुहुने एकजनासँग छिमेकी कोपा (बाजे)को मायाँ पीरती बसेपछी विहे गर्नुभएछ । कोपाले वारीबाट जुहारी गाएरै मोहनी लगाउनुभएको थियो रे ! यो संसारमा उहाँहरु नरहनुभएपनि उहाँहरुका छोरा- नातिहरू अझैसम्म हुनुहुन्छ ।
हो, २०५८ साल बैसाख १४ गते सात जना निर्दोष रतन्छाली नागरिक र दुई जना तत्कालीन माओवादी कार्यकर्ताहरूको रगतले साप्सुर लप्से खोलाको बगर राताम्य भयो । पानिको रंग बदलियो । दिवंगतहरुको रगतसँगै खोलामा सिंगो रतन्छाको आँसु पनि मिसिएर बग्यो ।
घटनाको तेस्रो दिन गाउँको श्री मनोकामना माध्यामिक (हाल उच्च माध्यामिक) विद्यालयका हाम्रा शिक्षक-शिक्षिकाहरु घट्नास्थलमा जानका लागि हाम्रै घर हुदैँ आउनुभयो । त्यसपछि मेरो पनि बाटो खुल्यो, उहाँहरूलाई पछ्याएर घटनास्थल पुग्नलाई । त्योभन्दा अगाडि केटाकेटीहरुलाई त्यहाँ नजानु भन्ने उर्दी थियो । उसैपनि त्यहाँसम्म जाने वातावरण थिएन । घरि–घरि सेना र प्रहरीहरु त्यहाँ कुदिरहन्थे ।
८/९ बर्षका छोटा खुट्टाले अघि–अघि बाटो देखाउँदै भ्याएसम्म छिटो–छिटो पाइला चालें। ‘वात्तेम्मा’ खेत कटेर हामी घटनास्थलपुग्यौं ।
ओह ! हेर्नै नसकिने हृदयविदारक दृश्य ! लाग्थ्यो, माछा मार्ने बहानामा उनीहरु आफुलाई मार्न त्यहाँसम्म आइपुगेका रहेछन् ।अरूबेला गर्मीमा त्यहि खोलामा पौडिदा शीतल हुने त्योबेला बरू चिटचिट पसिना आयो । मानौं त्यहाँ चलिरहेको हावाले तातो बतास फ्यालिरहेकोछ र खोला आफै छटपटाईरहेछ।
कसैको भित्रि वश्त्रसमेत आधा खोलिएका थिए । खोला किनारदेखि नजिकै सिस्नुको झाडि छेउमा चार जनाको लास एकैठाउँ थुप्रिएका थिए । खेतमुन्तिर ढिस्कोमा एक जना र बगरमै माछा लाउने सिप्रि सहित एकजना ढलेका थिए । प्राण जानुअघि सायद असह्य पीडाले छटपटिएर हुनुपर्छ, लासछेउछाउका खाली ठाउँहरू सबै दलिएका थिए । देब्रे छाति छेडिएर पछाडी देखिने प्वालबाट बगेको रगतले रगताम्य नांगो लासको त्यो हृदयविदारक दृश्यले सबै भावविह्वल भएछौं । अघिसम्म त्यही दृश्य हेर्नलाई आतुर सबैकाआँखा रसाइरहेका थिए । खोला एकोहोरो ‘स्वाँऽऽऽऽ’ गरेर बगिरहेपनि बाँकी मात्रै सन्नाटा थियो, त्यहाँ । खोला,खोला नलागेर मलाई कुनै युद्द पश्चातको मैदान लाग्यो । बगिरहेको पानि नभएर मरेकाहरुको आँसु सप्पै भेलिएर बगिरहेछ लाग्यो।
हामी साप्सु खोलै–खोला उभोतिर निस्कियौं । ती सबै दृश्य काल्पनिक हो कि वास्तविक हो झैं लागिरह्यो । केही दिनअघिसम्म हामीत्यही त दिनभर पौडिन्थ्यौं, खुब रमाउथ्यौं । ठूला मानिसहरूले दुवाली छेकेको, सिलुंगी थापेको, घरूवा थापेको हेर्दथ्यौं।
हिँड्दाहिँड्दै बुवाको अंश परेको ढाडखेत पुछार अथवा हामी पौडिने ठूलो दहको शिरमा एक्कासी सबैको पाइला अडियो । शिक्षक, अभिभावकहरूको साथमा हेर्नु पनि कसरी, नहेर्नु पनि कसरी ? आधा पाईन्ट खोलिएको लास ! भाग्दा–भाग्दै त्यहाँ एकजना मारिएका रहेछ । अर्को एक जनालाई भने दोबेलापट्टि लप्से खोलामा गोली लागेको रहेछ ।
‘आखीर यो सब कसरी भयो ?’ सबैको मनमा उब्जिएको र सबैले सोध्ने एउटै प्रश्न थियो, यो । त्यसपछि त्यस घटनाको प्रत्यक्ष असर घटनास्थल नजिकका घरधुरीहरुलाई पर्यो। हामीलाई पनि स्वतः पर्ने भयो । कोपा प्यारालाइसेसको बिरामी हुनुहुन्थेछ, पछि बुझ्दा । त्योबेला ‘प्यारालाइसेस’ के हो ? अथवा कोपाको बिरामी के हो ? पत्ता लागेको थिएन । अन्धबिश्वास र रुढीवादी सोंचले कोपाको पुस्तासम्म जरा गाड्नु अस्वभाविक थिएन । कूल–देवता लाग्यो भन्ने मानसिकताले धामी–झाँक्रीको झारफुक बाहेक अरू उपचारगराउन पटक्कै मान्नुहुन्थेन । झारफुकबाट आजीत भएपछि बुवा–आमा उपचारको लागि हस्पिटल लैजाने सल्लाह गर्नुहुन्थ्यो ।कोपालाई थप गाह्रो भएपछि बुवा त्यो दिन विहानै बासुङ्त स्थित हेल्थपोष्ट जानुभएछ ।
बुवा घर आउन समय लागेपछि हामी चिन्तित बन्यौं, उसैपनि त्रासदीपूर्ण समय थियो । फर्कदा बाटोमा तत्कालीन शाही सेनाहरूले बुवालाई भेटेछन् । त्यसपछि केही दिनअघिको उक्त घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएछन् । सोधपुछको क्रममा बुवाले नागरिकतामा भएको नाम बताउनुभएछ, जुन गाउँलेले बोलाउने नाम अनुसार थिएन । त्यसैलाई आधार मानेर उहाँलाई सेनाले घण्टौंसम्म केरकार गरेछन् ।
घरमा पनि सेनाहरुकै भीडले खान्तलासी गर्न थालेका थिए । त्यही घटनाको दिन घरमा वासिम (जाँड) पकाइएको भाँडा त्यतिकै भिजिरहेको थियो । त्यो भाँडा देखाउँदै आमामाथि अनेकौं प्रश्न तेर्साए, उनीहरुले । त्यो बेला मसँग प्रतिप्रश्न गर्ने हिम्मत थिएन, हुँदोहो त मेरो दिमागमा पनि अनेकौं प्रश्न उब्जिएका थिए । यद्यपि, गाउँका प्रायः घरमा माओवादीहरुको आउजाउ हुन्थ्यो । चामल-सामल नहुँदा आफैं ढिकि–जातो गरेर पकाएर खान्थे रे ! तर हाम्रो घरमा भने कुनै माओवादीको आवतजावत थिएन । उनीहरुले सायद बाउ–बाजेको राजनीतिक विचार र आस्थालाई बुझेका थिए होलान् वा हाम्रो घर अभेग भएर पनि उनीहरु नआइपुगेका होलान्।
आगोको धुवाँले निशानी दिएर गहुँबारी बिचमा हेलि बस्ने हल्लाले केटाकेटी त हो, फुरुङ्गै भइयो । बस्नुलाइ कोसिस नगरेकोपनि होईन । भिरालो भुगोलको बनावटको कारण या त अन्य कारणले हेलि नबसेपनि पहिलोचोटी त्यति नजिकबाट हेलि उडेको देखियो।
गर्मी महिना भएकाले लासहरु दिनदिनै दुर्गन्धित हुन थालेका थिए । मृतकका परिवारले खुलेर आफ्नो मान्छेको शव हेर्न र उठाउनसमेत पाइरहेका थिएनन् । खान्तालासी गर्न आएका प्रहरीहरुसँग आमा लगायत छिमेकीहरुले ‘सम्बन्धित आफन्तहरुलाई बोलाएर लास बुझाइयोस्’ भनेर अनुरोध गरेतापनि मृतकहरुको आफन्तबिनै गाउँलेहरुले नै खाल्डो खनेर लासलाई पुरिदिनुपर्ने, अत्यन्तै रुखो आदेश प्रहरीहरुबाट आउँदा साच्चै उनिहरुको मन त्यहीँ माथी लहराहरुले ढाकेको तारेभीर पहरा भन्दा कठोर रहेछ भन्ने लाग्यो।
अन्ततः गाउँ–समाजको अनुनयमा आफन्तहरुले शव बुझे । कस्तो पीडादायी र विक्षिप्त परिस्थिति ! दुई जना त एकैघरको काका–भतिजोको ज्यान गएको रहेछ । एक जनाको श्रीमती छ महिनाको दुधे बालक साथैमा बोकेर रुदैँ अर्धचेत अवस्थामा आउनुभएको थियो । यस्तो बज्रपात सायदै कसैले भोगेकोहोस् ।
ती माओवादी कार्यकर्ताहरु गाउँलेसँगै मिसिएर खोलामा माछा मार्ने योजनासहित त्यहाँ पुगेको कुरा बिशेष सुराकीले राता रात दिक्तेल पुगेर जानकारी गराएको रहेछ ।
त्यहाँबाट भागेर बाच्न सफलमध्ये दिलकाजी कार्की लगायत अरु पनि थिएछन् । उक्त घटनाको दिन ’माओवादिमाथि सेनाले आक्रमण गर्यो’ भन्ने हल्लाको भरमा तत्कालिन (एरिया कमाण्डर)दिलकाजीलाई समेत शंका गरेका रहेछन् ।
सुराकीले राज्यपक्षलाई माओवादी गतिविधिबारे सूचना दिएको थाहा पाएपछि घटना घटेको केही महिनापश्चात सुराकीलाई पनि माओवादीले सफाया दिए । तत्कालीन चिउरीडाँडा गाविस, दोर्पा-दोबेलास्थित हरेक पञ्चमी तिथिमा ‘पन्चमी’ मेला लाग्नेठाउँ, छाप्राहरुको लहरै बस्ति भएको । वल्लो छेउ र पल्लो छेउ झ्याम्म परेको बडा-बडा बरका रुख उभिएको हाम्रो घरबाटै देख्नसकिन्थ्यो।हो, त्यही बजारमा उनीहरुको सफाया भएपछि पञ्चमी बजारमा मेला लाग्न छाड्यो । भदौमा नेवार जातिको लाखे नाच सँगै लाखेपञ्चमी लाग्न छाड्यो। खोलामा हाम्रो पौडिने रहर त त्यहिबेला मरेर गइसकेको थियो, जुनबेला खोलामा ९ जना मारिए।
२०६४ तिर स्कुलमा हरेक शुक्रबार साप्ताहिक कार्यक्रम आयोजना हुने गर्थ्यो। एक शुक्रबार कविता गोष्ठीको कार्यक्रम हुनेभएपछि केहि महिना अघि मात्रै कक्षा १० मा भर्ना भएको म मनैदेखि उत्साहित भएकी थिएँ । ‘आमा’ शिर्षकमा कविता लेख्नुपर्ने सूचना हप्तादिन अगाडि नै शिक्षकले विधार्थीहरुलाई जानकारी गराउनु भएछी स्कुलबाट फर्किएर हतार–हतार घरको काम सकाएँ । रातकोसमयमा कविता लेख्न बस्दा आमाले घरिघरि कुपिको मट्टितेल सकिन्छ भनेर खबरदारी गरिरहनुभएको थियो।
आखीर त्यो शुक्रबार आयो । मनमा कौतुहलता थियो, तर नर्भस थिएँ । घर–छिमेकमा साहित्यमा रुची वा ज्ञान राख्नुहुने अरु कोही अग्रज हुनुहुन्छ या हुनुहुन्न थाहा नभएकाले आफ्नो ‘कविता’ भयो कि भएन ? भनेर बेलाबेला आफैलाई सोध्नुबाहेक अरु विकल्पथिएन । तरपनि कापीका पानाहरुमा आफ्नो उमेरजस्तै कलिला अक्षरहरु भने कहिलेकाहीँ लेख्ने गर्थें ।
त्यो क्षणसम्म स्कुलको प्राङ्गणमा म त्यति खुसी त बर्षेनि बार्षिक परिक्षाको नतिजामा कुनैसाल प्रथम, कुनैसाल तृतिय हुदा समेत भएको थिइँनछु भनेर कविता प्रतियोगीतामा द्वितिय स्थान हासिल गरेपछीमात्रै महशुस गरे।
उक्त प्रतियोगीतामा कक्षा ९ को एक जना दिदि प्रथम हुनुभएको थियो, जो जनयुद्धबाट फर्किएर पुनः स्कुल आउन थाल्नुभएको थियो। स्टेजमा बोल्ने शैली उहाँको तारिफ योग्य थियो, कविता र वाचन पनि उस्तै ।
पाँच/छ वर्षअघि खोलामा देखेको त्यही घट्नाको दृश्यले मलाई उक्त कविता लेख्न सक्दो प्रेरित गरेकै हो। र देशैभरिका आमाहरुलाई सम्बोधन गरेर त्यो कविता लेख्ने प्रयास गरेकि थिएँ।
स्कुलबाट बाहिरिए सँगै रूचि हुदाहुदैँपनि साहित्यलाई निरन्तर दिन नसक्नुमा दुःखीत छु नै। त्यो माहोलभन्दा फरक दुनियाँमा म झ्याम्मिन पुगेछु। लामो समयको अन्तरालपछी फेरी लेखनलाई निरन्तरता दिने अठोट सहित फर्किने प्रेरणापनि तिनै स्कुलका शिक्षकहरू, जनयुद्व र मलाई सुझावसहित हौसला दिनुहुने महानुभावहरु नै हुन् ।
समय वित्दै जाँदा पुराना घाउहरु बिस्तारै पुरिदै गए । १० बर्षे जनयुद्धको त्यो घडी घुमिरहँदा परिवर्तनशील परिवेशको नजिक हामीपनि धेरथोर थियौं । देशमा राजनीतिक परिवर्तनसँगै गाउँमा जुवातास खेल्ने, अनैतिक सम्बन्धमा लिप्त हुनेहरु र फौदारी गर्नेहरु बिस्तारै नियन्त्रण हुनु त्यसबेलाको साँच्चै सुखद पक्ष थिए ।
साप्सु र लप्से खोलाको उक्त घटनापश्चात त्यस्ता हिउँदहरुले १८ पटक त्यस्तै सुक्खा डाँडाहरु छोडेर गए र त्यस्ता डाँडाहरुमा बशन्तले पनि उतिकै हरियाली ल्याएर आफ्नो कर्तव्य पूरा गर्यो।
तिनै १८ हिउँद र १८ बशन्तपछि केही महिनाअघी घर पुगें । घरदेखि परको खरबारीसँगैको ठाटी चौताराबाट तलतिर हेर्दा तिनैखोला, बगर र खोला नजिकैको खेततिर पनि नजर डुल्यो। जहाँ निर्दोष मानिसहरुको रगत र सिंगो रतन्छाको आँसु मिसिएको थियो ।मृतकका श्रीमतीहरूको सिउँदो पुछिएको थियो। एउटै गह्रामा ७ जनाको लहरै चिहान बनेको थियो। र त्यहि साल देखी त्यो पुरै कित्ताखेत बाजिएको थियो।
त्यसपछि ती मृतकका परिवारले आफन्त गुमाएर पाएको चोट र दर्दलाई राज्यले देख्यो कि देखेन? भनेर फेरि १८ बर्षपछी भावुक भएँपछी यति लेख्न मन लाग्यो।