सजीव विम्बहरुको थुप्रो – “आमाको तासफोटो “


तास फोटो आहा! आज भन्दा कम्तिमा पनि डेढ दशक अघि कति ठूलो महत्त्व थियो । कति ठूलो प्रयाय थियो यादहरु संगाल्न । प्राय घर घरको सिकुवाहरु लस्करै झुण्डिएका तास फोटोको फ्रेमहरु ले सानो तिनो ग्यालरी लाग्थे । प्रत्येकको पर्स भित्रका साईड पकेटहरु मा एक दुई तास फोटो जरूर भेटिन्थ्यो । यिनै तास फोटोमा अल्झिएको याद बोकेर नेपाली साहित्यको आँगनीमा टुप्लुक्क हाजिर भएकी छिन् कवि सुष्मा रानाहमा । आँगनीमा भर्खर उनले बिसाएको थुञ्चेरुपी आमाको तासफोटो भित्र धित मर्ने कविता चेसुङ् बोकेर आएकि छिन् । अनि म चै तात्तातो आराखासंग आमाको तासाफोटो नामक पेरुङ्गोभरी कोचिएका थरी थरीका कविताहरू को कोसेली खोतल खातल पार्दैछु ।
कवि सुष्मा रानाहमा साविक पल्लो किराँत खोटाङमा जन्मिएर प्रवास कोरिया मार्फत नेपाली साहित्यमा पदार्पित हुँदैछिन् । उसो त ऊनी कोरिया पुग्नु अगावै नेपाल हुँदै बखत पनि फुटकर कविता लेख्थिन् । तर कोरिया पुगेपछि भने आफ्नो मातृभूमिलाई सिंगो कविता संग्रहको कोशेली पठाएकी छिन् । हालै उनको कविता संग्रह आमाको तासफोटो विमोचन भएको छ । प्रवासी नेपाली साहित्यको कित्तामा कोरिया अलिक कमजोर थियो – धेरैले भन्थे । शायद यहीँ अभावले होला कोरियाबाट नै प्रतिनिधित्व गरेर नेपाली कविता क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बढाउँदै लगेकी छिन् कवि सुष्मा रानाहमाले । यहीं उपस्थितिलाई थप प्रभावशाली बनाउन कवि रानाहमाले हालै आमाको तासफोटो नामक कविता कृति सार्वजनिक गरेकि छिन ।

कविता कृति आमाको तासफोटो भित्रका कविताहरू मा हराई रहँदा कवि संगै कहिले कोरियाको पहाड सिंगारेर फुल्ने साकुराको सेतो बगैंचामा पुगिन्छ । कहिले हिउँ फुलेर सेताम्मै भएको कोरियाको फाँटहरू मा पुगिन्छ, कहिले कर्कश मेसिनको ध्वनि गुञ्जिरहेको कोरियाको खोङजाङ तिर पुगिन्छ । त कहिले खोटाङको ट्याम्के डाँडातिर घाम ताप्न पुगिन्छ । कविको कविताहरू मा बतासिदा बतासिदै मन कोरियाको हेउन्दे समुन्द्र देखि कविको जन्म गाउँ छोएर बग्ने रावाखोला, सावाखोला, साप्सुखोला को उर्लँदो भेलहरू मा पखालिन आई पुग्छ ।

पाईलाहरु कति आतुर होलान्
फर्किजान आफ्नै घरदेश
तर छल्किएर मेटाईदिन्छन् सधैँ
हेउन्दे किनाराका छालहरू ले ।

(पातालको उत्सव, पृष्ठ ४९)

बाबा, अझैसम्म बगिजाने साप्सुको चोखो दहमा
घरी चाउरिँदै गएको अनुहारहरू को छायाँ हेर्दै
घरी निधारको पसिना र आँखाको आँसु पखाल्दै
उहीँ पुरानो गीत गाउछौं रे !
(बाबालाई पार्शल, पृष्ठ ६४)
परदेश देखि गाउँका सुख दुःखका कथा, नारी चिन्तन देखि सवाल्टर्न चिन्तन अनि पहिचानको घनीभूत आवाज यी सप्पै सप्पैको समष्टिगत रूप हो, आमाको तासफोटो ।

सुन,
‘ कक्टेल ‘ बनाएर तोङ्बा कहिल्यै तानिँदैन
कुर्सी र पार्टीको लागि आफ्नो अस्तित्व
पहिचानको छातीमा ट्याङ्की बनाउनेलाई
कहिल्यै माफी दिइँदैन

(नारी, पृष्ठ ८९)

आमा आफैमा सिर्जना हुन, आमाबाट हामी सिर्जित हुन्छौ । आमा सृष्टि हुन । भौतिकतावादी नजरियाले हेर्न थाले सृष्टि अर्थात् आमाको खोजी अन्त्यहीन प्रश्न बन्न जान्छ । हामी अर्थात् मानव अनि होमोसिपेन्स, अनि होमो इरेक्टस् अनि होमोहैबिलेस – अष्ट्रियोपिथेकस – रामा पिथेकस – पृथ्वी – नेबुला – बिग ब्याङ – सिंगुलाराटी । तर भावानात्मक नजरियाले हेरे माथिको तमाम प्रश्न एकै झमकमा भेटिन्छ केवल आ- आफ्नो आमाहरु संग । आमा अर्थात् सृष्टि माथि अर्को सृजना खोज्नु आफैमा महान काम हो । प्रख्यात लेखक म्याक्सिम गोर्कीले आमा उपन्यास लेखे पश्चात आफूलाई कहिल्यै नमर्ने घोषणा गरेका थिए रे । निश्चयपनि आमा माथि सिर्जना जन्माउनु आफैमा महान र अमर काम हो । कवि सुष्मा रानाहमाले पनि आमा माथि सृजना जन्माएर अर्को महान काम गरेकी छिन् ।

कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको
आमाको पुरानो एक थान फोटो
अथवा आमाको जवानीको तासफोटो सुरक्षित छ मसित।

(आमाको तासफोटो, पृष्ठ ५९)

कवि सुष्मा रानाहमाको कविता संग्रहमा आमाहरु फरक फरक परिवेशमा थुप्रैपटक प्रवृष्ट हुन्छ्न । शीर्ष कविता ‘आमाको तासफोटो’ भित्र आमालाई अगाध स्नेह व्यक्त गरिएको छ । ‘छोरा’ कवितामा बुबासंगै जोडिएर आउने आमाको दुःखका कथा व्यक्त छन् । अनि ‘ लिम्दै फूपुलाई’ कवितामा लिम्दै फुपू जन्माएर हुर्काउने आमाको मार्मिक बखान गाउने कविले ‘कलिलो आलाप ‘ कविताको लागि भने आमालाई गाली पनि गरेकी छिन् । जो आमाहरु आमा कर्तव्यबाट भागेका छन् ती आमाहरु माथि कविले जरूर रूपमा शसक्त प्रश्नको आँधी हुत्याउने जमर्को गरेकी छिन् । कविता संग्रह भित्र पटक पटक दोहोरिई रहने आमाहरु माथि फरक फरक बोध व्यक्त गरिनुले ऊनिमा सार्वभौम सत्य माथि पनि प्रश्न गर्न सक्ने दार्शनिक क्षमता छ भन्ने निर्क्यौलमा पुगेँ ।

तिम्रो क्षणभरको भूल हुँ
तर धर्तीको सबैभन्दा सुन्दर फूल हुँ
तिम्रो कुरुप सम्भोगको भोग म
तिम्रो घृणित आवेगको वेग म
…………………….

म ब्रम्हाण्डको सबैभन्दा चहकिलो जुन हुँ
के अझै बाँचिरहेछौं?
आमा,
घृणा गर्छु म तिमीलाई ।

(कलिलो आलाप, पृष्ठ १०१)

अधिकांश नेपाली जवान पाखुराहरुमा राहधानीले ल्याप्चे हानेको छ । धेरै नेपाली जवानहरूले सुनौलो भाग्यको खोजीका लागि राहधानीलाई पथ प्रदर्शकको भुमिका दिनै पर्छ । उहीँ राहधानी सिरानी राखेर अधिकांश युवा युवतीहरु परदेशको बिछ्याउनाबाट आफ्नो देशको सपना देखि रहेका छन् । कवि आफै प्रवासमा भएकैले पनि होला कविता संग्रहमा अधिकांश कविता प्रवासकै हावाले छोएर बग्छन् ।

राजधानीमा बनाएको
राहधानीको पानाहरूमा
मेरो लागि लेखिएको सत्र सय पैसठ्ठी दिनहरू
सीमित औंलाहरूमा भाँचिन थाले देखि
थप सामीप्य बढेर आएको हो राहधानीसंग
यो चिसो दुनियाँसँग ।

(राहधानीसंगको सामिप्य, पृष्ठ ७१)

कविता कृति आमाको तास फोटो भित्र करिब चार दर्जन कविताहरू छन् । चार दर्जन कविता आफैमा धेरै ठूलो परिमाणको कविता हो । कवि बैरागी काईलाले जीवनभरमा करिब तीन दर्जन कविता लेखेको छु भन्नु हुन्थ्यो। उहाँको संख्यालाई त काँचै निलि पठाउने परिमाणमा कवि सुष्मा रानाहमाले एउटै कृतिको लागि कविता लेखेछिन् । यसमा छानिएर पो यति संख्याको कविता भएका होलान् । अझै कति लेखेकी होलिन् कवि ज्यू ले । कवि ज्यूको यो तावततोड गतिलाई कम आँक्न मिल्दैन । तथापि त्यो गतिमा अलिकति ब्रेक चै लगाउनुस् है भनेर सुझाव दिन मुनासिव लागेको छ । ढिला गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न । हतार नगरी आफ्नै गतिमा गए नेपाली काव्यिक नगरीको लागि कवि सुष्मा रानाहमा लामो दौडको घोडा हुन । कम्तिमा पनि उनको काव्य कृति भित्रका कविताहरू ले यहीं प्रमाणित गर्न खोज्छन् ।

कवि सुष्मा रानाहमाको काव्यिक अनुशिलनता उच्च हुँदा हुँदै पनि उनी समसामयिक र घटनाप्रधान विषयहरू संग धेरै रुमल्लिएकि छिन् । काव्यिक शिल्प र काव्यिक सौन्दर्य निर्माणमा अलिकति मेहनतको अभाव पनि देखिन्छ । पछिल्लो समय नेपाली कवितामा मिथकको प्रयोग एउटा फेसन जस्तै भएको छ । आफूलाई पहिचानवादी कवि हुँ भन्न पनि केही मिथक प्रयोग गर्नै पर्छ भन्ने बाध्यता छ, धेरै कवि लेखकहरूलाई । अनुकूल स्थानमा मिथकको प्रयोगले कविता सुन्दर बन्न सक्छ तथापि प्रतिकूल रूपमा मिथकको प्रयोगले कविता भारी बनिदिन्छ । कवि रानाहमाको ज्यादातर कविताहरू मिथकको अनावश्यक प्रयोगले पेदू-पेदु थिचिएका छन् । यति हुँदा हुँदै पनि कवि सुष्मा रानाहमाको कविता सुन्दर भने अत्याधिक छन् । स्थानीयकता, पहिचान र नारी सौन्दर्यको विषयहरूमा उनको अत्याधिक खुल्ने प्रयासलाई सह्राना व्यक्त गर्न सकिन्छ । कविको आगामी काव्यिक यात्रा निरन्तर रहिरहोस् । यहीँ अपेक्षा सहित ओझेलिन्छु । सेवारो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग
  • कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान
  • लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...