कोरोना रणसंग्राममा संघर्षपछिको मेरो अनुभव – पिम गुरुङ


आखिर जीवन प्रख्यात वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनले भने जस्तै “बाँच्नका लागि संघर्ष” रहेछ । सारा विश्व आज यहि विषयमा सबैभन्दा बढि तल्लिन र भयभित छ । आधुनिक विश्वलाई कोरोना महामारीले ठूलो चुनौती दिईरहेको छ । यो लेख तयार गर्दासम्म यसले विश्वभरका १७ करोड २० लाख बढि मानिसलाई आफ्नो भयावह छालमा लपेटिसकेको छ । उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै म सहित मेरो परिवार पनि यो महामारीबाट अछुतो रहन सकेनौँ ।

बैशाख तेस्रो साता एक साँझ मलाई एकैपटक ज्वरो र टाउको दुख्ने समस्या देखा प¥यो । रातीको समय भएकाले तत्काल पिसिआर परीक्षण गराईहाल्ने अवस्था थिएन । त्यसैले स्वास्थ्य समस्या कम गर्न सिटामोल खाएँ । परिवारमा म बाहेक ७ महिने छोरासहित अरु ५ जना पनि भएकाले सुरक्षा सतर्कताका लागि मास्क लगाएँ । छुट्टै बिस्तरा लगाएर सुतेँ । भोलिपल्ट बिहान टिचिङ हस्पिटलमा पीसिआर परीक्षणका लागि स्वाव दिएँ । टिचिङका कर्मचारीले कोरोना पोजिटिभ देखिए हस्पिटलको ल्याब यूनिटबाट फोन कल या मेसेज आउने बताएका थिए । तर स्वाव दिएको २४ घण्टा बितिसक्दा पनि कुनै कल वा मेसेज आएन । यसरि कुनै कल वा मेसेज नआईसकेपछि मलाई कोरोना संक्रमण भएको रहेनछ भनेर ढुक्क भएँ । तर फेरी अर्को मनले सोचेँ “सरकारी हस्पिटलको कुनै भर छैन, एकपटक हस्पिटलमै पुगेर बुझ्नुपर्छ ।”

अर्कोदिन हस्पिटल पुगि रिपोर्ट बुझेर हेर्दा पो नराम्ररी झस्किएँ । रिपोर्ट पोजिटिभ आएको रहेछ । “रिपोर्ट पोजिटिभ देखिए फोन कल या मेसेज आउछ भनेको होईन” भनेर त्यहाँका कर्मचारीलाई सोधेँ । “मेसेज आउन २४ घण्टादेखि ७२ घण्टासम्म पनि लाग्न सक्छ । त्यो पनि कसैलाई आउँछ, कसैलाई आउँदैन ।” कर्मचारीबाट यस्तो गैरजिम्मेवारपूर्ण उत्तर आयो । २४ घण्टा त के २४ दिन बितिसक्दा पनि त्यसबारे कुनै जानकारी आएको छैन । रिपोर्ट त बुझियो, कोरोना संक्रमण भएको पनि निर्क्यौल भयो । तर अब के गर्ने, कसो गर्ने ? दिमागले केही सोच्न सकेन । एकछिन हस्पिटलकै डिलमा बसेर घोत्लिएँ । र एकछिनपछि फिभर क्लिनिकमा गएर स्वास्थ्य जाँच गर्ने निधो गरेँ । तर विडम्वना ! मुलुककै सबैभन्दा ठूलो अस्पतालमा फिभर क्लिनिक नै रहेनछ ।

कोरोना ईमर्जेन्सी यूनीटमा गएर पालो कुरेर बसेँ । त्यहाँको दृश्य देखेर बिचलित भएँ, आत्तिएँ । हस्पिटलको गेटैदेखि कोरोनाका गम्भिर बिरामीसहितका एम्बुलेन्स लस्करै रोकिएका छन् । बिरामी ओराल्दै गरेको ट्याक्सीको संख्या पनि कम छैनन् । हस्पिटलको प्यासेज बिरामीले भरिभराउ छन् । कोही भुँईमा त कोही स्ट्रेचरमा पल्टिरहेका छन् । कोही बिरामी अक्सिजनको साहारामा सास लिदैँ छन्, कोही विना अक्सिजन अहिले नै सासै तोडिदिन्छन् कि जस्तो गरि दु्रतत्तर गतिको सास लिईरहेका छन् । विरामीका आफन्तहरु भर्ना लिईदिनका लागि त्यहाँका नर्स र डाक्टरसँग अनुनय विनय गरिरहेका छन् । “जति नै सिरियस केस भएपनि भर्ना लिन सक्दैनौँ, बेड नै छैन” उताबाट डाक्टर चर्को स्वरमा चिच्याउँदै छन् । बिरामीका आफन्तहरु अति निराश र हतास मुद्रामा छन् । तैपनि भर्ना पाईने आशमा ३५ देखि ४० जना गम्भिर बिरामी र तिनका आफन्तहरु ईमर्जेन्सी युनिटको ढोका तर्फ नियालीरहेका छन् ।
एकछिनपछि ईमेर्जेन्सि युनिटको ढोकामा अर्को डाक्टर देखा पर्छन्, र भन्दैछन् “दुई वटा बेड खाली हुँदैछ, तपाइ अक्सिजनको व्यवस्था गर्न सक्नुहुन्छ भने भर्ना लिन्छौँ, नत्र भर्ना लिन सक्दैनौँ ।” थाहा छैन आज कसको भाग्य बलियो छ । बिरामीका आफन्तहरु अत्तालिदैँ फोन घुमाउँदैछन् । कोही बेड पाउने आशमा एम्बुलेन्स लिएर अर्को हस्पिटल दौडिएका छन् । कोही बिरामी भने सोही हस्पिटलमा बेड पाउने आशामा एम्बुलेन्समै लम्पसार सुतिरहेका छन् । यी सबै दृश्यले मन अमिलो बनायो । मुलुकको स्वास्थ्य प्रणाली देखेर आक्रोश पैदा भयो । भोली केही गरि मेरो पनि स्वास्थ्य अवस्था गम्भिर भयो भने ? यो प्रश्नले निकै पिरोल्यो ।

करिब १ घण्टाको पर्खाईपछि मेरो स्वास्थ्य जाँचको पालो आयो । डाक्टरले एक्स–रे गर्न सुझाए । त्यतिबेलासम्म बेलुकाको पौने पाँच बजिसकेको थियो । एक्स–रेको लागि ल्याबमा पुग्दा कर्मचारी नै छैनन् । ती कर्मचारी ६ बजे मात्रै आउने कुरा अन्य कर्मचारीबाट थाहा पाईयो । मेरो अवस्था सामान्य नै भएकाले १ घण्टा कुर्न खासै समस्याको कुरा थिएन । तर त्यहाँ गम्भिर बिरामीहरु पनि थिए जसको तत्कालै औषधी उपचार सुरु गर्न एक्स–रे रिपोर्टको खाँचो थियो । मुलुकको सबैभन्दा ठूलो हस्पिटलको कोरोना ईमेर्जेन्सि यूनिटमा खटिएका कर्मचारी कसरि यति गैरजिम्मेवार बन्न सक्छन् ? यो देखेर अचम्मित भएँ । सवा ६ बजेतिर ती कर्मचारी हस्पिटल प्रवेश गरे । पीपीई सेट लगाएर एक्स–रे ल्याबमा छिर्न अर्को १५ मिनेट समय लाग्यो । बल्लतल्ल एक्स–रे भयो । फोेक्सोमा निमोनियाको संक्रमण भईसकेको रहेछ । तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताए र ७ थरि औषधी प्रेस्क्राईब गरे । फार्मेसीमा औषधी किनेँ र डेरा फर्किएँ ।

भोलिपल्ट परिवारका अरु सबैजनाको पीसिआर परीक्षण भयो । बेलुका रिपोर्ट आयो । मसहित ४ जनालाई कोरोना संक्रमण पुष्टी भयो । ७ महिने छोरा र उनको आमाको भने रिपोर्ट नेगिटिभ आयो । यो कुराले खुशी तुल्यायो तर ६७ वर्षीय बृद्धा हजुरआमालाई संक्रमण भएको कुराले भने कता कता डर पैदा गरायो । तर अब कोरोनासँग भिड्नु त थियो । छोरा र जीवनसंगनीलाई अन्तै बसोबासको व्यवस्था मिलाईयो । अब डेरामा हामी ४ जना संक्रमित मात्रै भयौँ । हामी ४ जना ४ फरक कोठामा बस्न थाल्यौँ । चौबिसै घण्टा मास्क लगायौँ । पौष्टिक आहार सहितको खानपानमा जोड दियौँ । विशेष गरि झोलिलो खानेकुरा खान थाल्यौँ । दोश्रो दिनमै ज्वोरो र टाउको दुख्ने समस्या कम भयो । सुख्खा खोकी भने सबैलाई थियो । अरु स्वास्थ्य समस्याहरु भने थिएनन् ।

पाचौँ दिनदेखि भने मैले कमजोर महसुस गर्न थालेँ । गन्ध र स्वाद पूर्ण रुपमा हरायो । चक्कर लाग्ने, सास बढ्ने र छाती दुख्ने जस्ता समस्या देखिन थाले । स्वास्थ्य जाँच गराउँदा अवस्था सामान्य नै रहेको डाक्टरले बताए । तर स्वास्थ्यमा कुनै सुधार आएन बरु समस्या अझ बढ्दै गएको महसुस हुन थाल्यो । यो बिचमा स्वासप्रश्वासलाई टेवा पुग्ने योगाहरुको अभ्यास गर्न थालेँ । प्रोनिङ पोजिसनमा सुत्दा सास फेर्न सहज भएको महसुस हुन्थ्यो ।

यहि बेला देशमा कोरोना महामारीले भयावह रुप लिईरहेको थियो । दैनिक ९ हजार बढि नयाँ संक्रमित थपिईरहेको थियो । २ सय भन्दा बढिको दैनिक मृत्यु भैरहेको थियो । अस्पतालमा वेडको अभाव थियो । जताततै अक्सिजनको हाहाकार थियो । एक बुंद अक्सिजनका लागि मानिसहरु तड्पिरहेको अवस्था थियो । कयौँले अक्सिजन अभावकै कारणले ज्यान गुमाईरहेका थिए । विभिन्न अस्पतालले उपचाररत विरामीको थप उपचार गर्न नसक्ने भन्दै विज्ञप्ती नै निकालेका थिए । कतै लोडसेडिङका कारण अक्सिजन सप्लाई रोकिदा बिरामीहरुले दर्दनाक मृत्युवरण गर्नुपरेको थियो । सञ्चारमाध्यममा यी र यस्तै भयावह र कारुणिक विषयवस्तुहरु तारन्तर आईरहेका थिए । यसले कतै न कतै मलाई पनि मानसिक रुपमा असर त गरिरहेकै थियो ।

दशौँ दिन पुगेपछि त शरिरमा अक्सिजनको लेवल पनि कम हुदै गयो । उभिन पनि मुस्किल हुने अवस्था आयो । दुई पाईला सार्दा मात्रै पनि सास बढिहाल्थ्यो । र शरिरको तापक्रमले १०२ डिग्री हान्यो । तत्कालै नजिकैको एक नीजि अस्पताल पुगेँ । डाक्टरले कुनै स्वास्थ्य जाँच नै नगरि भर्ना हुन सुझाए । तर अस्पतालमा बेड खाली नरहेको बताए । उनले पीसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए जनरल वेडमा भर्ना गर्न सकिने विकल्प औँल्याए । तर यति धेरै स्वास्थ्य जटिलताहरु भएकाले म कोरोना संक्रमणमुक्त भइनसकेको कुरामा विश्वस्त थिएँ । र सो अस्पताललाई छाडेर तत्कालै अर्को एक नीजि हस्पिटल पुगेँ ।

दोश्रो अस्पतालमा मेरो सबै स्वास्थ्य जाँचहरु भयो । त्यसबेला अक्सिजन लेवल ९० मा झरेको थियो । एक्सरेको रिपोर्ट आयो । फोक्सोको संक्रमण अझै कम नभएको भएपनि अस्पताल भर्ना नै र्भइहाल्नुपर्ने अवस्था नभएको डाक्टरले जानकारी दिए । यद्यपी मैले स्वेच्छाले भर्ना हुने भए भर्ना लिन सकिने डाक्टरको भनाई थियो । त्यसबेलाको स्वास्थ्य अवस्था अनुसार त भर्ना हुनु नै मेरा लागि उत्तम विकल्प थियो । तर परिवारका सबैजना संक्रमित छन्, कुरुवा बसिदिने को त ? डाक्टरले एण्टिवायोटिक सहित अरु केहि औषधीहरु थपेर घर पठाए । डाक्टरको सुझाव अनुसार भरपुर आराम, सहि समयमा औषधी सेवन र पौष्टिक आहारसहितको खानपानमा विशेष ध्यान दिन थालेपछि स्वास्थ्यमा क्रमिक सुधार आउन थाल्यो ।

१७औँ दिन पुगेपछि फेरी पीसिआर परीक्षण गरियो, टिचिङ हस्पिटलमै । यसपाली भने स्वाव दिएकै दिन बेलुका रिपोर्टबारे मोबाईलमा मेसेज आयो । म र बहिनी कुसुमको रिपोर्ट नेगेटिभ आएको रहेछ । तर हजुरआमा र कान्छा मामाको पोजिटिभ आयो । उहाँहरुलाई कोरोनाका कुनै लक्षण वा स्वास्थ्य समस्या नै थिएन र आज पनि छैन । बरु मलाई सामान्य खोकी अझै पनि छ । त्यसको लागि घरेलु उपचार विधि अपनाईरहेको छु । टिचिङ हस्पिटल, टेकु हस्पिटल र हामीले नियमित स्वास्थ्य जाँच गराउँदै आएको चिकित्सकको एउटै राय छ कि, आसोलेसनमा बसेको १४ दिन पछाडी कुनै लक्षण वा स्वास्थ्य समस्याहरु नभए पीसीआर परीक्षण गरिरहनु पदैन । यदि परीक्षण गरिहालेको अवस्थामा यदि रिपोर्ट पोजिटिभ आएको भएपनि थप आईसाोलेसनमा बस्नु पर्दैैन । त्यस्ता संक्रमितहरुबाट रोग सर्ने सम्भावना पनि नहुने रहेछ । यदि संक्रमितको शरिरमा मरेका भाइरस यथावत रहेको अवस्थामा पीसिआर परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आउने रहेछ । पीसिआर परीक्षणले भाईरस सक्रिय छ या निष्क्रिय छ भन्ने कुरा नछुट्याउने रहेछ । तथापी तथ्यले जे भने पनि रिपोर्ट पोजिटिभ आईसकेपछि केही समयलाई आसोलेट भएर बसौँ भन्ने हाम्रो आपसी समझदारी अनुरुप उहाँहरु आईसोलेसनमा हुनुहुन्छ । आज हामीलाई कोरोना संक्रमणको पुष्टी भएको २७औँ दिन पुरा भईसकेको छ । र सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जब हामीलाई कोरोना संक्रमण पुष्टी भयो, सबैभन्दा बढि हजुरआमाको लागि चिन्तित थियौँ । केही समय अघि मात्रै उहाँको पेटको ठूलो सर्जरी भएको थियो र उपचारको क्रम अझै जारी छ । तर संक्रमणको सुरुवाती दुई दिन सामान्य ज्वरो बाहेक उहाँमा कुनै स्वास्थ्य जटिलता देखिएनन् । यो कुराले हामी ज्यादै हर्षित सँगै अचम्मित पनि भयौँ । बरु हामीलाई निमोनियाको संक्रमण भयो । तर अहिले सबै ठीक भैसकेको छ ।

हामी दाजु बहिनी कोरोना संक्रमणमुक्त भएको ५ दिनपछि श्रीमति र छोरालाई डेरामा बोलायौँ । त्यसअघि पुरै फ्ल्याट सफा ग¥यौँ । दोहो¥याई तेह¥याई सबैतिर डिसईन्फेक्सन स्प्रे छर्कियौँ । ३ हप्तापछि हाम्रो पुनर्मिलन भयो । यी सबै कष्टप्रद झमेलामा पर्नुअघि बल्लबल्ल पेट घिसार्दै बामे सर्न थालेको छोरो ३ हप्तापछि फर्किदा हातगोडा टेकेर एकछिनमै सबै कोठा चाहार्ने भैसकेछ । डेरा फर्किएको भोलिपल्टै कतै आड पाए सहजै उभिन पो थाल्यो । र अहिले छोरो भित्ता समाउँदै २/३ पाईला सार्न सक्नेसम्म भईसकेको छ । सर्सती सुन्दा यी कुरा सामान्य हुन तर यो यस खालको विषम परिस्थितीमा खुशी हुने र मन भुलाउने अद्भुत बाटो रहेछ । जसको प्रत्यक्ष प्रभाव मेरो स्वास्थ्य सुधारमा परेको अनुभुती गरेँ । उनको आगमनले कोरोनाले गलाएको कमजोर र शिथिल शरीरमा उर्जा थपिएको महसुस गरेको छु ।

कोरोना संक्रमणमुक्त भईसकेपछि म पहिलेभन्दा कयौँ गुणा थप सचेत र सतर्क हुन थालेको छु । खासगरि दुधे बच्चाको सुरक्षाको लागि भएपनि यस विषयमा गम्भीर बन्न उत्प्रेरित गरेको छ । चार पाँच दिनको फरकमा अत्यावश्यक सामान खरिदका लागि पूर्ण सुरक्षा सावधानी सहित बजार निस्कने गरेको छु । बजारबाट फर्किएपछि सबै सामानलाई घर बाहिरै स्यानिटाईज गरेपछि मात्रै भित्र्याउने गरिएको छ । सँगै म स्वंयले घर बाहिर रहेको बाथरुममा नुहाईधुवाई गरेपछि र बजार निस्कदा लगाएका सबै लुगा धोईपखालेपछि मात्रै भित्र छिर्ने गरेको छु । भर्खरै कोरोना संक्रमण मुक्त भएकाले र सर-सामान खरिदका लागि बजार आवतजावत गरिरहनुपर्ने भएको कारणले फेरी पनि कोरोना संक्रमणको जोखिम अझैपनि उत्तिकै छ । यस कुरालाई विशेष रुपले ख्याल गर्दै घरभित्र पनि सबैजनाले मास्क लगाउने गरेका छौँ । र म छुट्टै बिस्तरामा सुत्ने गरेको छु । भनिन्छ नि, “प्रिभेन्सन ईज बेटर देन क्युअर् ।” अब फेरी संक्रमण नहोस् भन्नेमा हामी सबैजना सचेत छौँ ।

कोरोना आफैँलाई नलाग्दासम्म सामान्य लाग्न सक्छ तर जसलाई लाग्छ, उसैलाई थाहा हुन्छ कोरोनाको पीडा । कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखिए तत्कालै परीक्षण गराऔँ । रोग लुकाएर बसे समस्या गम्भीर बन्न सक्छ । पहिलो कुरा त संक्रमण हुनै नदिन सावधानी अपनाऔँ । मास्कमा प्राण छ, यस्लाई कहिल्यै नछोडौँ । सेनिटाईजर हाम्रो पहरेदार हो, साथैमा राखौँ । सबैले आ–आफ्नो ठाउँबाट कोरोना विरुद्धको अभियानमा सहयोग गरौँ । सामुहिक प्रयासबाट सबै कुरा हाँसिल गर्न सम्भव छ । धैर्य गरौँ, एक दिन सुनौलो बिहानीको सुरुवात हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...