कोरिया च्याप्टरद्धारा बालसाहित्य विशेष अन्तरक्रिया सम्पन्न ।

सउल, कोरिया ।
अनेसास कोरिया च्याप्टरद्वारा आयोजित नेपाली बालसाहित्य विशेष अन्तरक्रिया कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । जुम प्रविधिको भर्चुअल माध्यमबाट आइतबार सो कार्यक्रम सपन्न भएको हो ।
नेपाली भाषा- साहित्यका विविध क्षेत्रमा सक्रिय रही अनवरत साहित्य साधना गर्दै लामो समयदेखि बालसाहित्यमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएका स्रष्टाहरू रामबाबु सुवेदी, प्रमोद प्रधान, शाश्वत पराजुली र प्रभा भट्टराईज्यूले बालसाहित्यबारे प्रकाश पार्नुभएको थियो ।
वरिष्ठ साहित्यकार रामबाबु सुवेदीले बालसाहित्य बालबालिकाहरूका लागि प्रौढबाट लेखिने साहित्य रहेको र बालबालिकाले मनन गर्ने भाषा, मनोविज्ञान स्तर आदिको खाँचो रहेको र बाल साहित्यको माध्यमबाट नेपाली लोक बालसाहित्य, लोक परम्पराहरूको जगेर्ना गर्न सकिने र हस्तान्तरण गर्न सकिने जनाउनु भयो भने प्रमोद प्रधानले बालसाहित्यको इतिहासबारे स्पष्ट पार्नु भएको थियो । त्यसैगरी स्रष्टाद्वय शाश्वत पराजुलीले बालसाहित्य र प्रविधि, पाठ्यपुस्तकमा बाल साहित्यबारे र प्रभा भट्टराईले बालसाहित्य र महिला, बालमनोविज्ञानबारे चर्चा गर्नुभएको थियो ।
आयोजकले नेपाली नेपाली बालसाहित्यमा अतुलनीय योगदानको कदरस्वरूप चार स्रष्टाहरूलाई सम्मान गरेको थियो । च्याप्टरका अध्यक्ष स्रष्टा प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्रष्टा रामचन्द्र शर्माको संयोजन रहेको थियो भने च्याप्टरका महासचिव ह्यारी बोण्डले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।