अकर्मण्य समय, युवा पुस्ताको राजनीतिक बुझाई र भोलिको बाटो
एकजना मित्रले भन्नुहुन्थ्यो “सामान्यतया हाम्रो समाज, हाम्रो देश अनि हाम्रो समय जोसमा भन्दा होसमा धेर चल्छ” । मलाई लाग्छ यति गहिरो एङ्गलबाट हाम्रो समाज र राजनीतिको बिश्लेषण गर्नसक्ने युवा पछिल्लो पुस्तामा बिरलै पाइन्छ । यहाँ अधिकांशले कि त उग्र कुरा गर्छन् कि त पुरै प्रतिगामी कित्ताको वकालत गर्छन् । वा भनौं ५० बर्ष पछाडी फर्किने कुरा गर्छन् । समाज त बगिरहन्छ । यो हामीले चाहेर पनि रोक्दैन । यो समाजको बिशेषता नै हो । यो प्रसङ्ग केही समयअघि अनौपचारिक रूपमा पहिचानको ईश्युमा बहस गर्ने क्रममा जोडिएको हो । हुन पनि हो जोसिएर कुनै पनि ईश्युमा बोल्नु, लेख्नु वा आफ्नो अभिमत ब्यक्त गर्नु सजिलो कुरा हो । तर त्यहि कुराको गहिराईमा पुगेर मिहिन ढंगले अध्ययन, अनुसन्धान र गम्भीर बहस छेड्नु चैं निकै कठिन काम हो । यस्तो काम बिरलै मान्छेले मात्रै गर्न सक्छन् । गर्न रुचाउँछन् । तर गम्भीर अध्ययन गरेर सत्य कुरा उजागर गर्नेलाई यो देश अनि समाजमा खासै रुचाईंदैन । यो तितो सत्य हो । सारमा भन्नुपर्दा हामीमा यावत समस्याहरु छन् तर यसो भन्दैमा कुनै पनि ईश्युमा हामी चाहिनेभन्दा धेरै छचन्डिनु हुन्न । चिनी पनि बढि खायो भने तितो हुन्छ भनिन्छ नि ! हो ठ्याक्कै त्यस्तै हो । केही कुराको निष्कर्षमा पुग्नुभन्दा अगाडि उक्त कुराको पुनर्बिश्लेषण तथा पुनर्मुल्याङ्कन गर्नुपर्छ भन्ने लाग्छ ।
हाम्रो राजनीति साँच्चिकै सुधार्नु छ भने क्षमता र ईमान भएका युवापुस्ताले यो पोखरीमा हाम्फाल्न अब ढिला गर्नुहुन्न । तर फरक उर्जा, शैली र चिन्तनसहित । उही फेरि पनि पुरानै पाराले झोला बोकेर चैं होइन । आफ्नो ईमान, भिजन, कृयटिभिटी, ब्रम्ह र विवेकको अधिकतम उपयोग गर्दै फ्रन्टमा आउनुपर्छ । अन्यथा सडक र सामाजिक संजालबाट बुरुकबुरुक उफ्रेरमात्रै केही हुन्न भन्ने लाग्छ ।
हामी कुनै एउटा स्रोत वा ब्यक्तिबाट आएको कुरा वा राजनीतिक नारालाई केही सोच्दै नसोची सत्य मान्छौँ । भेरिफिकेसन गर्नु जरुरी नै ठान्दैनौं । यो हाम्रो ठुलो कमजोरी हो । यहाँनेर ब्यक्तिगत रूपमा आफुलाई सहि वा गलत लाग्न त पाइयो । तर त्यहि कुरालाई अलि राम्रोसँङ्ग बुझ्ने चेस्टा एकदमै कमै मान्छेले गर्ने गर्छन् । यथार्थको जगमा पुग्ने जमर्को नै गर्दैनौं । अनि त्यसैलाई अन्तिम सत्य भन्ठान्छौँ । सुझबुझपुर्वक अरुको ठाउँमा पनि बसेर सोच्ने मानिस पाउन निकै गाह्रो छ अहिलेको समयमा । खासमा यो हुनैपर्ने चिज हो । यसबाट मात्रै सभ्य र सुसंस्कृत समाजको गोरेटो कोर्नसक्छ । नभए जसले जसलाई जे आरोप लगाएनि भो नि ! रिस उठेको जतिलाई तथानाम हिलो छ्याप्दै हिंडे भैहाल्यो नि ! आफ्नो मनमा लागेको कुरा जे भने पनि भयो । काल्पनिक कथा बुनेर सुनाउँदै हिँडे भो नि ! आखिर ताली बजाउने र हाहाहुहु गर्ने जमातको कमि पनि हुन्न क्यारे ! किनकी यहाँमात्रै होइन जुनसुकै खाले समाजमा पनि औसत मान्छे ठुलो सङ्ख्यामा हुन्छन् । औसत मान्छेलाई भावनात्मक कुरा गरेर बहकाउन, उद्वेलित गराउन अनि आफ्ना पक्षमा उफार्न त्यति गाह्रो छैन । अहिलेसम्म भएकै यहि त होनि हाम्रो समाज अनि हाम्रो समग्र राजनीतिमा । यसमा कुनै दल र कोहि नेता अछुतो छन् जस्तो लाग्दैन ।
यो कुरा किन पनि उठान भयो भने पछिल्लो समयमा सबैजसो जनताको राजनीतिक – सामाजिक चेतनाको बिकाससँङ्गै केही महत्त्वपूर्ण इश्युहरुलाई चाहिनेभन्दा अलि बढि नै उछालिएको होकि भन्ने भान भइरहेको छ । फुटबलमा पनि चाहिनेभन्दा बढी हावाको प्रेसर भयो भने त्यो फुट्ने सम्भावना हुन्छ । त्यस्तै गतिविधि हाम्रो समाजमा पनि पछिल्ला दिनहरुमा भएको देखिन्छ । जब कि सत्य एकातिर हुन्छ अनि मुद्दा अर्कोतिर मोड्दा गलत बाटोमा धकेलिने सम्भावना रहन्छ । कसैको छुट्टै इन्ट्रेस्ट पूरा गर्नका लागि ईश्युलाई उग्र बनाएको पनि हुनसक्छ । खासमा राम्रो काम गर्ने नै हो भने कसैलाई गाली नगरी पनि गर्न सकिन्छ । तर यस हिसाबले कसैले अभ्यास गरेको पाइएन । हाम्रो समाजको विशेषता नै यस्तो भैसक्यो कि जसले अलिकति क्रान्तिकारी र उग्र कुरा गर्छ त्यहि अग्रगामी अनि सत्य लाग्ने एकथरिको चिन्तन नै भैसक्यो । खासमा अधिकांश क्रान्तिकारी कुरा गर्ने मान्छेहरुको बोलाई र गराईमा तादात्म्यता मिलेको देखिँदैन । त्यतातिर हाम्रो खास ध्यान नै जाँदैन । उनिहरुको पछाडीको रहस्य केलाउने कोशिश हामी गर्दै गर्दैनौ । हामी एकबर्ष पछाडी पनि फर्केर हेर्ने धृष्टता गर्दैनौं । पुरै ब्याकग्राउन्ड खोतल्ने त कुरै छोडौं । हामी सबैजसो उग्रतामै रम्ने र बिश्वास गर्ने भैसक्यौं । यस्तो हामीलाई लत नै भैसक्यो । यस्ताखाले उग्रताले समाजलाई जोड्ने काम कदापि गर्दैन । यसले त बरु सामाजिक बिग्रह र बिभाजनको रेखा कोर्ने अनि असामाजिक धारलाई बलियो बनाउने काममात्रै गर्छ ।
मेरो बिचारमा अलिक बौद्धिक लाग्ने मित्रहरु एबं अग्रजहरुले यो खालको जातीय फ्लेभरको राजनीति नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । मनभित्र पहिल्यैदेखी त्यस्तो लागिरहन्थ्यो । समाज र समुदायमा अलिकति गन्यमान्य र समाजने पनि उनिहरुले बोलेका कुरा अरुको कुराभन्दा बढी नै सुन्छन । उनिहरुलाई अनुसरण गर्ने पनि धेरै नै हुन्छन् । अरुभन्दा उनीहरुको सुझबुझ क्षमता पनि बढि नै हुन्छन् । यत्तिखेर उनिहरु बहकिएर हुन्न । बिबेकमा चल्नुपर्छ । क्षणिकभन्दा पनि पछिसम्मको आँकलन गर्नुपर्ने हुन्छ । त्यसैले उहाँहरुले अलि सचेत र आफ्नो बिवेक प्रयोग गर्नुपर्ने बेला आएको छ । हैन आबेग, भावना र बहकाउमै समाजलाई डोर्याउछु भन्छ भने भन्नू केही छैन । त्यो समाजका लागि मात्र होइन । उहाँको आफ्नै भविष्यका लागि पनि घाटा नै हो । यसले हामिलाई सकारात्मक बाटोमा पक्कै डोर्याउँदैन । अन्तमा यसले गराउने भन्या दुर्घटना नै हो । ढिलो र चाँडोको कुरामात्रै फरक हो । हुनत यो विषयमा सबैको आ – आफ्नै बुझाई होलान् । बुझाइमा एकरुपता हुन्छन् भन्ने छैन । हुनुपर्छ पनि भन्दिँन । सबैका आफ्नैखाले बुझाइका सीमा पनि होलान् । यी मेरा मनभित्रका कुरा हुन् । यी मेरा आफ्ना निजि बुझाइका कुरा हुन् । धेरथोर भोगाइका कुरा पनि हुन् । यतिखेर बुझेका अनि लागेका सबै कुराहरु बिस्तारमा लेखिसाध्य त के होला र ! यसरी आफ्ना भावना, बिचार र बुझाई सतप्रतिशत लिपिबद्ध गर्न करिबकरिब असमर्थ पनि हुँला । तैपनि थोरै आफ्ना मनका कुराहरु कोर्ने जमर्को मात्रै हो यो । भावनात्मक रुपले सामाजिक एकता चाहने एकजना युवाको अन्तर्ध्वनि सम्झिनुहोला । यसरी नै मिलाएर बुझ्नुहुनेछ भन्ने अपेक्षा पनि छ ।
राजनीतिप्रति असन्तुष्ट हुन सकिएला । गाली गर्न सकिएला । घृणा जगाउन सकिएला । तर असन्तुष्ट हुनु, घृणा जगाउनु ठुलो कुरो पनि होइन । ठुलो कुरो चैं असन्तुष्टिसँङ्गै छुट्टै विकल्प पनि आउनुपर्यो । समाज पनि अध्ययन गर्नुपर्यो नि ! देश चिन्न सक्नुपर्यो । विकल्प दिन सक्नुपर्यो । सहि सुझावहरु आउनुपर्यो ।
अहिले नेपालको राजनीतिमा जे भैरहेको छ सब ठिकठाक भैरहेको छ त भन्दिँन । यसमा केहि न केहि गडबडी पक्कै पनि छ । आजसम्म हाम्रो नेतृत्वपंति चुकेकै हो । नेतामात्रै होइन । यो ब्यवस्थालाई कुरुप बनाउनमा हामी सबैको धेरथोर भुमिका छ । यसले एउटा नयाँखाले लय समात्नैपर्थ्यो । दुर्भाग्य भन्नुपर्छ त्यो हुन सकेन । तैपनि सुदुर भोलिको कुरा त गर्दिँन । तत्काललाई भने यो ब्यवस्थाको अन्य विकल्प छैन । ढिलो भएनि राजनीतिले सहि लय समात्नैपर्छ । बिकृतिहरु छन भने करेक्सन हुनैपर्छ । त्यसको लागि सबै तह र तप्काको रचनात्मक भुमिका र दबाब पनि चाहिएला । नेतृत्व पनि सुध्रनैपर्छ । नसुध्री सुखै छैन । नसुध्रे सिद्धिने हो । इतिहासमा बिबिन्न दल र नेतृत्व जन्मिने र सिद्दिने भैराख्छ । यो एउटा प्रक्रिया नै हो । त्यसैले हामीले सुधार्नैपर्छ । तर हामीले किनारामा बसेर अमुक नेतालाई गाली गरेरमात्रै केही पनि हुनेछैन । यसरी यहाँ केही पनि सुधार हुनेछैन । यो त बेकारको आत्मसन्तुष्टि लिने गन्थनमात्रै हो ।
यसले आफ्नो रिस र कुन्ठालाई कम गर्न त सकिएला । तर यसबाट समाज र देशको लागि खासै योगदान र उपलब्धि हुन्छ जस्तो लाग्दैन । ब्यक्तिगत रुपमा म वा फलानो ब्यक्ति राजनीतिको मैदानमा आउनुपर्छ भन्ने आशय होइन । समग्रमा त्यो प्रधान कुरो पनि होइन । एकजना ब्यक्ति त गौण कुरा न हो । मुल कुरा प्रवृत्तिको कुरा हो । पुस्ताको कुरा हो । चरित्रको कुरा हो । समाजलाई एकताबद्द बनाउने कुरा हो । हाम्रो राजनीति साँच्चिकै सुधार्नु छ भने क्षमता र ईमान भएका युवापुस्ताले यो पोखरीमा हाम्फाल्न अब ढिला गर्नुहुन्न । तर फरक उर्जा, शैली र चिन्तनसहित । उही फेरि पनि पुरानै पाराले झोला बोकेर चैं होइन । आफ्नो ईमान, भिजन, कृयटिभिटी, ब्रम्ह र विवेकको अधिकतम उपयोग गर्दै फ्रन्टमा आउनुपर्छ । अन्यथा सडक र सामाजिक संजालबाट बुरुकबुरुक उफ्रेरमात्रै केही हुन्न भन्ने लाग्छ । त्यसले झनै उल्टो नतिजा पो दिने खतरा छ । सबैजना खराव म मात्रै असल भन्ने तर सिन्को नभाँच्ने प्रवृत्ति हाबी हुनसक्छ । यो झन गलत चिन्तन हो । यसले पौडि खेल्न पोखरीमा हाम्फाल्ने आँट नगर्ने कायर पुस्ताको निर्माण गर्न टेवामात्रै पुग्छ जस्तो लाग्छ । यसले भोलिका पुस्तालाई यहाँको राजनीतिप्रति बितृष्णा जगाउने काम गर्छ । यसबाट सहि नेतृत्व जन्मिने मुहान सुक्ने डर रहन्छ । यसले भोलिको नेपाललाई सहि बाटोमा डोर्याउनसक्ने र छिमेकी देशहरुसँङ्ग प्रतिस्पर्धात्मक तरिकाले अगाडी जाने भिजन ल्याउनसक्ने सक्षम पुस्तालाई राजनीतिबाट बिमुखमात्रै गराउने काम गर्छ । त्यो भोलिको हाम्रो समाज, नयाँपुस्ता र देशको लागि पनि राम्रो हुँदै होइन ।
भनिन्छ नि फलाम काट्न फलाम नै चाहिन्छ । त्यस्तै राजनीतिप्रति असन्तुष्ट हुन सकिएला । गाली गर्न सकिएला । घृणा जगाउन सकिएला । तर असन्तुष्ट हुनु, घृणा जगाउनु ठुलो कुरो पनि होइन । ठुलो कुरो चैं असन्तुष्टिसँङ्गै छुट्टै विकल्प पनि आउनुपर्यो । समाज पनि अध्ययन गर्नुपर्यो नि ! देश चिन्न सक्नुपर्यो । विकल्प दिन सक्नुपर्यो । सहि सुझावहरु आउनुपर्यो । भएन, बनेन अनि गरेन भन्दा पनि यसो गरे कसो होला भन्न सिक्नुपर्यो । धन्यवाद ।
-राजनीतिक सामाजिक अध्ययनमा रुचि राख्ने लेखक बिगत एक दशकदेखि पर्यटन ब्यवसायमा आवद्ध छन् ।