युवा नेतृत्वको सवाल र अहिलेका केही भ्रमहरु


युवाको परिभाषा धेरै हिसाबले गर्न सकिन्छ । विभिन्न ठाँउमा फरकफरक हिसाबले यसलाई परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १५ देखि २४ बर्ष उमेर समुहलाई युवा भनिन्छ । युरोपमा १५ देखि २९ बर्ष उमेर समुहलाई युवा भनिन्छ । नेपालको सन्दर्भमा १६ देखि ४० बर्ष सम्मलाई युवा मानिएको छ । यो उमेर समुहको सङ्ख्या देशको जनसंख्याको ४०.६८% छ । गत बर्षदेखि स्वबियुको चुनावमा पनि २८ बर्षसम्मको उमेरहद तोकिएको छ ।

हो, युवा हुनलाई उमेर प्रमुख कुरा हो । त्यसमा कुनै बिमती रहेन । तर उमेरले मात्रै चैं युवा हुँदैन होला भन्ने लाग्छ । यसबारेका फरक मतहरुबारे बिस्तारमा छुट्टै छलफल गर्न सकिन्छ । उमेरसँगै चिन्तन र ब्यवहार पनि युवा टाइपको हुनुपर्छ । उमेरले युवा भएकाहरुको कार्यशैली पनि देखेकै हो । उमेरले ४०/५० कटेकाहरुको काम पनि देखेकै हो । त्यसैले कोहि २५ बर्षको हुँदैमा स्वत: युवा हुन्न । अनि कोहि ५० बर्षको हुँदैमा बुढो भइसक्यो अब यसको काम छैन भन्न पनि मिल्दैन । अर्को कुरा सादगी – सज्जन उमेर र पुस्ताले निर्धारण गर्ने विषय पनि होइन । त्यस्तै बेइमान हुनलाई पनि उमेर र पुस्ताले रोक्दैन । भ्रष्टाचार गर्नलाई उमेरले रोक्दैन ।

मलाई त अचेल सबैजना ठाउँ नपाएर मात्र सादगी भएका हुन् जस्तो लाग्छ । अरुलाई यसो उसो भनेर गाली गरेरमात्रै हुन्न । म त धेरै समस्या आफैंभित्र पो देख्छु । त्यो आत्मानुभुति गर्ने क्षमता हामीसँग छ त ? हामीमा आलोचना पचाउने शक्ति छ त ? हामीमा अत्मानुभुति र आत्मालोचनाको संस्कार कहिले शुरूवात होला त ? अब त ढिलो भएन र ?

यो प्रसङ्ग राजनीतिक नेतृत्वमा युवापुस्ता आउनुपर्छ भन्ने कुरासँग सम्बन्धित छ । युवालाई स्पेस दिनुपर्छ भनेर धेरै भाषण सुनियो । राजनीतिक सामाजिक बिश्लेषण पनि धेरै पढियो । तर यहाँ गुदि कुरा फरक छ । धेरैले यो ख्याल गरेकै हुन्नन् । मेरो सिधा प्रश्न छ । तपाईंले कुनै गर्व गर्नलायक एकजना स्वबियु सभापतिको नाम दिन सक्नुहुन्छ ? वा कुनै युवा सङ्गठनको एकजना जेन्युइन नेताको नाम पेश गर्न सक्नुहुन्छ ? जो भोलीको देशको नेतृत्व गर्न सक्ने होस् । अथवा क्याबिनेटमा गईसकेका कुनै युवा नेताको नमूनायोग्य ऎतिहासिक काम भन्न सक्नुहुन्छ ? सायद भन्न सक्नुहुन्न ।

यदि भन्न सक्नुहुन्न भने गुदि कारण अर्कै छ । यहाँनेर युवा भनेर मात्रै नहुने भयो । समस्या हामिले सिधा सोचेजस्तो पटक्कै होइन । पेट दुखेको बेला टाउकोमा दबाई लगाएर हुँदैन । पेटकै दबाई गर्नुपर्छ । अहिले राजनीति फोहोर हुनुमा पुराना पुस्ताले ठाउँ ओगटेर मात्रै होइन । युवा पुस्ताले ठाउँ नपाएर पनि होइन । खासमा राजनीतिमा इमान, भिजन र इथिक्स बिनाकाहरु धेरै भएर हो । यस्तैहरु मुलधारमा हाबी भएर चैं कुरो बिग्रिएको हो । यो वा उ पार्टी भन्ने छैन । शक्तिकेन्द्रमा उनिहरु नै छन् वा शक्तिको वरिपरि उनिहरु नै घुमिरहेका छन् । यस्तो समुहलाई सरकार फेरबदलसँग खासै त्यति सरोकार पनि हुन्न । किनकि उनिहरुको काम जोसुकै आए पनि बन्छ । खासमा उनिहरुको मनैदेखी कुनै पार्टी नै हुन्न । तर अघोषित रुपमा सरकार नै यस्ताहरुले हाँक्ने हुन् । भएको यो चैं हो । अब यसरी चैं सोच्ने कि ! पटकपटक उठ्ने पुस्ताको ईश्यु चैं धनबहादुर नाम राखेपछि मान्छे रातारात धनी बन्छ भन्याजस्तै भ्रममात्रै हो । यहाँको समस्याको गुदि कारण पुस्ता र उमेर हुँदै होइन । मुख्य कारण चैं हाम्रो संस्कार, चिन्तन र ब्यवहार हो । शुरुमा यो सुध्रिनु जरुरी छ । त्यसपछि अरु कुराहरु त्यतिकै ठिक हुँदै जान्छन् ।

धनबहादुर नाम गरेको मान्छे गरिब पनि हुनसक्छ यदि उसँङ्ग धन छैन भने । अथवा उसँङ्ग धन नै भए पनि मन सङ्कुचित छ भने एक हिसाबले उ गरिब नै हो । उत्तम नामक मान्छे खत्तम पनि हुनसक्छ ! यदि उसको चिन्तन, संस्कार र ब्यवहार गतिलो र सँस्कारिक छैन भने । त्यसकारण नाम र शब्दमा अल्झिने भन्दा पनि गुदि कुरामा सबैको ध्यान जानु जरुरी छ । बहस बरु यतातिर केन्द्रित गरौं । हाम्रो समाज कता जाँदैछ त ! भुपि शेरचनले भने झैं यो देश सँधैं हल्लैहल्लाको देश भईरहन त मिलेन नि ! आजको मान्छेले सतही कुरा समातेको छ कि गुदि कुरा ! बहस हुनुपर्ने मुल सवाल यहि हो ।

अर्को कुरा, हिजोआज केही मान्छेहरुमा एकदमै सतहीखाले भ्रम सिर्जना भएको छ । त्यसकै पछि कुद्नेहरुको पनि कमी छैन । बाहुनले देश बिगार्यो रे ! जनजातिहरु राजनीतिको फ्रन्टमा आएमा देश बन्छ रे ! त्यसो भए हिजो केही जनजातिहरु ठाँउमा पुगेका थिएनन् र ? पन्चायतकालमा । बहुदलकालमा । अनि अहिले पनि कोहि न कोहि जनजाति मुलधारको राजनीतिमा छन् नि । अहिले त झन् कर्मचारीतन्त्रमा समेत राम्रै उपस्थिति हुन थालेको छ । विशेष गरि राई र लिम्बुहरु । किन अपबादबाहेक अरुले राम्रो काम गर्न सकिरहेका छैनन् त ? त्यसैले यो जातको मात्रै समस्या होइन ।

मेरो बुझाईमा अहिले जनजाति समाजको सोच र चिन्तन हिजोको भन्दा बिलकुल फरक भईसक्यो । हामीले सोचेभन्दा धेरै नै फरक भैसकेको छ । अलिमाथी पुगेकाले तल ग्राउन्डमा भएकालाई मान्छे नै नगन्ने । तलकाहरुमा पनि ईख लिएर काम गर्ने जाँगर छैन । तिनीहरु आफ्नो पुरानै चौघेरामा सिमित हुन रुचाउँछन् । धेरैजसो सानो घेरामा रम्न रुचाउनेहरु छन् । अझ त्यहाँभित्रको अमुक समुहमा सिमित हुन रुचाउने । आफू थोरै भए पनि अपडेट हुन नचाहने । हावातालमा ठाँउ कुठाँउ बुरुक्क उफ्रेर हिंड्ने । अनि कसरी हुन्छ त शसक्तिकरण । कसरी हुन्छ त नेतृत्व बिकास ! पछाडी पर्यो – पार्यो भनेरमात्रै हुदैन होलानी ?

अझै पनि कहिलेकाहीँ लोकसेवाको परिक्षामा समाबेशी कोटामा आबेदन नै पर्दैन रे । यो कसको कमजोरी हो ? अरुबाट पनि केही त सिक्नुपर्यो नि । ठाउँमा पुगेकाले आफुभन्दा पछिका मान्छेलाई इन्सपायर गर्न सिक्नुपर्यो नि ? आफैं पनि न्युनतम अपडेट हुन सिक्नुपर्यो नि ।

सामुहिक निर्णय गर्नुपर्ने ठाँउमा तानाशाही शैली लादेको हामीले नभोगेको होर ! आजभोली नै पनि मैले भोगेका केही उदाहरणहरु छन् । चाहे त्यो राजनीतिक फोरममा होस् वा सामाजिक फोरममा । अनि त्यहि मान्छे खुब प्रगतिशील कुरा गर्ने ! गर्छन् । यसरी सुहाउँछ र ? अहिलेको जमानामा डबल स्ट्याण्डर्डवाला कुरा धेरै दिन लुकाइराख्न गाह्रो छ । जसरी पनि असली अनुहार देखिन्छ । मलाई त अचेल सबैजना ठाउँ नपाएर मात्र सादगी भएका हुन् जस्तो लाग्छ । अरुलाई यसो उसो भनेर गाली गरेरमात्रै हुन्न । म त धेरै समस्या आफैंभित्र पो देख्छु । त्यो आत्मानुभुति गर्ने क्षमता हामीसँग छ त ? हामीमा आलोचना पचाउने शक्ति छ त ? हामीमा अत्मानुभुति र आत्मालोचनाको संस्कार कहिले शुरूवात होला त ? अब त ढिलो भएन र ?

अर्को कुरा केही सामाजिक अभियन्ता र युवा राजनीतिक अभियन्ता भनिनेहरुको आफ्नै शैली छ । उनिहरु सबैलाई गाली गर्छन् । यसैमा गर्व गर्छन् । ठुलो काम गरेँ भन्ठान्छन् । सबै गलत ममात्रै सहि र सक्षम हुँ भन्छन् । यस्तो पनि कहिँ हुन्छ र ! संसारमा कोहि पनि पुर्ण छैन । अहिलेसम्म यस्तो पुर्ण मान्छे जन्मेकै छैन । बुद्ध पनि पुर्ण थिएन । यसरी हामी पुग्ने चैं कहाँ हो ! समाज र राजनीति कहिल्यै ब्ल्याक एन्ड ह्वाइट हुँदैन । जहिल्यै ग्रे कलरको हुन्छ । कालोभित्र सेतो सेतोभित्र कालो । यसलाई मिलाएर बुझ्नुस् ।

त्यतिकै बहर गोरुजस्तो बुरुक्क उफ्रेर मात्र हुदैन । सुझबुझ भएका युवाले यो एङ्गलबाट सोच्नु जरुरी छ । एकोहोरो हुन्न । जे कुरा पनि दोहोरो हुन्छ । भनिन्छ नि एकोहोरो रोटी पाक्दैन । कमजोरी सबैमा हुन्छ । सबल पक्ष पनि सबैमा हुन्छ । कति राम्रो कति नराम्रो भन्नेमात्रै फरक हो । तलमाथि त भईहाल्छ । तर १००% गलत भन्ने हुन्न । १००% सहि भन्ने पनि हुन्न । आजको पुस्ताले यो तरिकाले चैं सोच्नु जरुरी छ भन्ने लाग्छ ।

अझ केहिलाई ठुलो भ्रम छ । सामाजिक संजालमा हल्ला गरेरै देश चलाउछु भन्ने । मिडियामा ठुलो स्वरमा कराएरै सबै चलाउँछु भन्ने । प्रशासन र न्यायालय लगायत सबै चलाउँछु भन्ने । यसरी हुने भए राज्यका सारा संरचना कोल्याप्स गरे भैगो नि ! पत्रकारले देश चलाउने होइन । कारवाही गर्ने पनि होइन । गल्ती औंल्याउने र सुझावसम्म दिने उनीहरुको काम हो । तर यहाँ सबै भ्रममा बाँचेका छन् ।

मिडिया र सामाजिक संजालमा कुरा गरेजति राजनीती कहाँ सजिलो छ र ! उहाँहरुले उठान गरेका कतिपय अभियानहरु गलत नहोलान् । त्यसको उच्च सम्मान गर्छु । आवाज उठाउनु त नागरिकको मुख्य अधिकार नै हो । त्यो आफ्नो ठाँउमा छ । तर तपाईं भोलि पार्टी खोलेर खुला राजनीतिमा आउनुस् न । भाइरल अभियन्ता होस् कि बरिस्ठ पत्रकार ! अनि थाहा हुन्छ जनता कति छन् । कस्ता कस्ता छन् । कार्यकर्ता कति छन् । भावनामा बग्नु सजिलो काम हो । भोलि साँच्चिकै प्रतिस्पर्धा गर्नुपर्दा माहोल अर्कै हुन्छ । पछिल्लो चुनावताका रबिन्द्र मिश्रले त्यतिकै भन्या होइनन् । नेपालीले रेस्टुरेन्टमा गएर जति मेन्यु हेरे पनि लास्टमा खाने म:म र चाउमिन नै हो । त्यस्तै यहाँ जतिवटा दलहरु जन्मे पनि मुख्य दल दुईवटा मात्रै हुने हो । निकै मुस्किलले तीन वटासम्म हुनसक्ला । एकचोटी कल्पना गरौँ त, समानुपातिक सिस्टम नभएको भए अहिलेका धेरैवटा दलको हालत के हुन्थ्यो !

ज्ञात रहोस् – भोलि चुनावमै जानुपर्यो भने फेसबूकमा समर्थन गर्नेहरु धेरैले तपाईंलाई भोट हाल्दैनन् । त्यो करिबकरिब प्रमाणित भैसकेको जस्तै हो । एक दुईवटा उदाहरणहरु देखिसकेको पनि छ । हाम्रो अहिलेसम्मको नजिरले पनि त्यही बताउँछ । सबैजसो जनता त पुरानै अमुक पार्टीका कार्यकर्ताहरु छन् । पचास हजार भोट ल्याएर जित्नुपर्ने जमानामा केही हजार जनाले सामाजिक संजालमा बहस छेडेरमात्रै केही हुन्छ त ! सांगठनिक मेरुदण्ड चाहिएन ! यहाँ हजार जनाले हल्ला गरेमा अब देश पुरै आफ्नै कब्जामा छ जस्तो लाग्छ । लाग्नु स्वभाबिक पनि हो । तर यो सत्य हुन्न । फेरि संजालमा उफ्रिनेहरु सबै भोट हाल्नका लागि योग्य नै छन् भन्ने के ग्यारेन्टी छ र !

यो ब्यवस्थामा राजनीति गर्न र त्यसमा टिक्न निकै कठिन छ । अन्यथा भन्न खोज्या होइन । अब पनि चुनाव जित्ने भन्या पुराना दुई तीनवटा दलले नै हो । अरुले त अपबादमा झुक्किएर जित्ने हुन् । झुक्किएर केही सिटमा टिक्ने हुन् । बिजुक्छे र के.सि. बाजस्तै हार्न नि हार्दैनन् । कहिल्यै साइज ठुलो पनि हुँदैनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...