आरक्षणको बदला विभेदको निरन्तरता होइन


नेपालमा बर्णब्यवस्थाको शुरूवात, निरन्तरता र पछिल्लो अवस्थाको बारेमा छुट्टै लामो बहस गर्न सकिन्छ । तर यहाँ पछिल्लो अवस्थामा भएका जातिय बिभेदको सेरोफेरोमा रहेर थोरै चर्चा गर्ने जमर्को मात्रै गरेको छु । यहाँ धेरै कुरा हामीले अनुमान गरेभन्दा फरक रहेछ । सारमा भन्नुपर्दा नराम्रा कुरामा हामी कोहीभन्दा कोही कमका छैन रहेछौँ । बाहुनले बढी विभेद अरु जातले कम विभेद गर्ने भन्ने हुँदै होइन । समग्रमा यो कुब्यस्था हो । जसरी जुन रुपमा शुरु भए पनि हाम्रो समाजमा यो प्रवृत्ति गलत रुपमा बिकास भएको छ । बिगतमा जसरी जे मनसायले शुरु गरे पनि जात ब्यवस्थाभित्र अनगिन्ती गलत अभ्यासहरु भएका थिए । त्यो अझै जारी छ । यो क्रम अहिले पनि निरन्तर अगाडि बढिरहेको छ । यसको बस्तुनिस्ठ समीक्षा हुनु जरुरी छ । होलसेल कुराले हामी कदापि टुंगोमा पुग्न सक्दैनौं । अमुक जातको बिरोध गरेरमात्रै समस्याको सहि समाधान हुन सक्दैन ।

केही हप्तादेखिको सामाजिक संजाल र केही मिडियाका पोस्टहरु हेर्दा त अन्य जातकाहरु झन् बुर्जुवाखाले बाहुनभन्दा पनि महाबुर्जुवा रहेछन् भन्ने लाग्यो । सकारात्मक बिभेदको मर्मलाई पुरानै बिभेदको निरन्तरताको रुपमा व्याख्या गर्ने दुस्साहस हामी धेरैले गरिरहेका छौँ । हजारौं बर्षदेखि थिचिएकाहरुको ठाँउमा बसेर हामीले कहिल्यै सोचेनौँ । सोच्न सकेनौं । सोच्न चाहेनौँ । हामी झन् बढी अमानवीय हुन थाल्यौं । हामीमध्ये धेरैले आफ्नै मनलाई ढाँट्दैछौँ । अर्को अर्थमा आफ्नै बिबेक र ब्रह्मलाई बन्धकी राख्दैछौँ । आफ्नो गलत कर्मलाई ढाकछोप गर्न कुतर्क गर्न थालेका छौं । सामाजिक न्याय तथा मानवअधिकारका कुरा त किताबमा पढिने अक्षरमा सिमित राख्यौं । हामीमध्ये धेरैजना धेरै ठाँउमा चुक्यौँ ।

आफ्नो समुदायको बचाउ गर्ने नाउँमा जघन्य अपराधलाई पनि ढाकछोप गर्न खोज्ने कस्ता अभियन्ता हुन् ? कस्ता सामाजिक संस्था हुन् ? कस्ता नेता हुन् ? कस्ता पत्रकार हुन् ? कस्ता शिक्षित नागरिकहरु हुन् ? कथित सामाजिक अभियन्ता भनिनेहरु, समाज सुधारक भनिनेहरु, आदिवासी जनजाति लगायत सारा दमित उत्पीडितको पक्षमा बोल्छु भन्नेहरु, अनि आफुलाई सबैभन्दा बढी क्रान्तिकारी एवं प्रगतिशिल भन्न रुचाउनेहरु नै यो मामिलामा कि पीडितको बिरुद्धमा छन् कि मौन देखिएका छन् । अथवा कुरा चपाएर द्विअर्थी कुरा गर्दैछन् । जबकि सडकमा एउटा कुकुर मर्दा पनि पशु अधिकारबारे उनीहरु आफ्नो धारणा सार्बजनिक गरिरहेका हुन्छन् । हामीले त्यही देखेका छौं । हामीकहाँ बिभेदको खाडल कति गहिरो रहेछ । यसको जरा कताकता गाडिएको रहेछ । हाम्रो देखाउने दाँत र चपाउने दाँत एकै होकि फरक रहेछ ! लाग्यो एकै होइन रहेछ ! अबदेखि सबै कुरा झनै राम्रोसँग बुझ्दैछु ।

एकपटक राहुत सांकृत्यायन चीन भ्रमणमा निस्के । चीनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले उनकाे भब्यरुपमा स्वागत गरे । एकदिन उनलाई भोजमा खाएको मासु ओैधी मिठाे लाग्याे । उनले साेधे – `याे मासु के काे हाे ? यति मिठाे मासु मैले जिबनमा कहिल्यै खाएकाे थिईनँ ।´ तब चिनीयाँले भन्याे – `याे गाेरूकाे मासु हाे ।´ तब राहुल सांकृत्यायनलाई अनायाशै गाह्रो फील भयो । उनले बाथरुम गएर ह्वाल ह्वाल छाद्न थाले । पछि उनले साेचे – उनी त मार्क्सवादी विद्वान, जात ब्यवस्थाकाे पुरै दुश्प्रभाव छाेडेँ भन्या मान्छे । तर त्यति मिठाे मासु गाेरूकाे भन्नासाथ किन छाद आयाे ? तब उनले बुझे – मुखले जे भनेनि जातिवाद हाम्राे अवचेतनमा दविएर बसेकाे हुँदाेरहेछ । ऐन माैकामा त्याे जुरूक्क उठ्दाेरहेछ । उनले लेखेका छन् – “उस बख्त मेरे अन्दरका ब्राह्मण जाग उठा !´´ यो उदाहरण बुझाउनका लागि मात्र हो । अमुक जातिलाई नराम्रो चित्रण गर्नको लागि होइन । वास्तवमा आज हामी अमानवीय मानव भइरहेका छाैं । अहिले हाम्रो समाजमा चलिरहेको बहसको नाउँमा भएका कुतर्कले यसैलाई अझ बल पुर्याइरहेको छ जस्तो लाग्छ ।

अरु समुदायले गरेका काम जे पनि गलत हुने रे । आफ्नाले गरेका जे पनि सहि हुने रे । यो कस्तो मानक हो ! यसरी हामी कस्तो समाजको निर्माण गर्दैछौं ! यो मानक कसरी बन्न गयो ! कुनखाले बिबेक प्रयोग हुन्छ यसमा ! यस्तो पनि कहिँ हुन्छ र ! सरासर नाङ्गो आँखाले देख्ने कुरामा पनि कुतर्क गर्छ भने के भनुँ र खोई ! हरेकले आफ्नो समुदायको पात्रले गरेका हर काममा समर्थन गर्नुपर्छ भन्ने चिन्तन हाबी भयो भने हामी कहाँ पुग्छौं । देश नियम र कानुनले चल्छ कि आफु अनुकुलको ब्याख्याले ! कसैको निजि घरमा कोहि मान्छे भाडामा राख्दिन भन्न पाइएला । त्यो उसको निजि सम्पती हो । निजि मामिला हो । त्यो पनि ठिक छ । त्यसमा बिमती हुँदै होइन । यसमा कसैको पनि अब्जेक्सन रहन्न । तर तल्लो जातकालाई रख्दिँन भन्न चैं मिल्दैन । फलानो जातकालाई हुन्न भन्न पाइन्न । दलितलाई राख्न मिल्दैन भन्छ भने कानुन लाग्छ । राज्यको कानुन आकर्षित हुन्छ । अहिले भएको पनि यहि हो । बाह्र सत्ताइस कुतर्क गर्नु जरुरी नै छैन । फेरि प्रष्टसँग भन्या रहेछ त ! दलितलाई नराख्ने भनेर घरबेटीले । अडियोमा त्यही कुरा क्लियर छ । शब्द कति नरम कति गरम भन्ने त सेकेन्डरी कुरा हो । मुख्य कुरा शब्दको आशय हो । अर्थ हो । सार हो । पीडितले पनि प्रमाणसहित उजुरी गर्या छ त ! बरु घरबेटीले अरु बहाना जस्तै : घरसल्लाह गर्दा आफैंलाई चाहिने भयो भन्या भए चिज यति अगाडी बढ्ने नै थिएन होला । चित्त बुझाउने मेलो हुने थियो होला । रुपाजीको पनि भित्रैदेखी चित्त दुख्दैनथ्यो होला । त्यसैले अब बेकारमा सामाजिक सन्जाल फोहोर गरेर सडकमा उफ्रेर हुनेवाला केही छैन । फेरि हरेक कुराको निरुपण सडकले गर्ने पनि होइन । कानुनी राज्यमा सबै कुरा देशको संविधान र कानुन अनुसार हुन्छ । गल्ती भएको हो भने कारबाही हुनुपर्छ । जसरी पनि हुन्छ । हुनैपर्छ । भएन भने गलत नजिर बस्छ । भोलि गलत लेसन जान्छ । बिभेदको जरो झन् मौलाएर बलियो हुने सम्भावना रहन्छ । यो हाम्रा लागि ठुलो दुर्भाग्य हो ।

हिजोदेखी थिचिएका समुदायले टाउको उठाउने ठाँउ रहन्न । भोलिको न्यायपुर्ण समाज निर्माणको अभियानमा ठुलो धक्का पुग्नेछ । यदि कोहि कसैले कानुनभन्दा माथी म छु । मेरो समुदाय हुनुपर्छ भन्छ भने देशको कानुन र संविधान म मान्दिँन भन्न सक्नुपर्यो । कि हामी मान्दैनौँ भन्नुपर्यो । कि विभेदलाई निरन्तरता दिन पाउनुपर्छ भन्ने एक सुत्रिय माग लिएर सडकमा आउनुपर्यो ! किन घुमाउरो कुरा ! सिधै कुरा गर्नुस् न ! किन पछाडीबाट छुरा रोप्ने काम गर्नुहुन्छ ! अगाडी छुरा देखाएरै आउनुस् न । यसमा कसैले रोक्दैन पनि । त्यो लाइनमा को को उभिने रहेछ हेर्न मज्जा नै आउला । अझै सजिलो गरि असली अनुहार देखिन्छ । नत्र भने यो देशको संविधान र कानुन मान्ने हो भने त्यसको मर्म अनुसार चल्नैपर्ने हुन्छ । कसैले ताक परे तिवारी नत्र गोतामे टाइपको कुरो चैं नगरौँ । यसै प्रसङ्गमा म अर्को एउटा चाखलाग्दो कुरा सुनाउँछु । एकजना भुक्तभोगी – अनुभवले खारिएका जनजाति अगुवाले भन्नुभाथ्यो – कुनै एक (जातको नाम तोक्दिँन) जनजातिको संख्या बाहुन क्षेत्रीको जति भएर राज्यसत्तामा पनि उनिहरुकै हालिमुहाली भएको भए हाम्रो समाजको स्वरुप अहिलेको जस्तै हुन्थ्यो कि झन् राम्रो वा झन् कुरुप ? यो प्रश्नले मलाई नराम्रोसँग चिमोट्यो । किनकी मसँग यो प्रश्नको उत्तर थिएन । भए पनि गाह्रो भयो । मैले यो एङ्गलबाट कहिल्यै सोचेको रहेनछु । ममा पनि मेरो र तेरो भन्ने भाव थोरबहुत थियो जस्तो लाग्यो । हामीले आफैंलाई प्रश्न गर्नुपर्ने बेला आएको छ । अहिलेसम्म हामी यसैमा चुकेका हौं ।

विभेदका धेरै प्रकारहरु छन्  । लिङ्गिय, क्षेत्रिय, बर्गिय, भौगोलिक, जातिय लगायत यावत खालका छन् । हामीकहाँ यी सबैखाले विभेद विद्यमान छ । मेरो बुझाईमा सबैभन्दा निकृस्ट खालको विभेद चैं जातिय विभेद नै हो । अझ दलित माथी गरिने छुवाछूत त झनै जघन्य अपराध नै हो । मान्छेले मान्छेलाई छुन नहुने रे ! छोएको खान नहुने रे ! यसको निन्दा गर्ने कुनै शब्द नै छैन । यो त सबैभन्दा ठुलो जघन्य अपराध हो । केही विभेद मैले पनि थोरबहुन भोगेको छु । हुन त म कथित जनजाति समुदायको हुँ । मतुवाली पनि भन्छन् । तर म जाँडरक्सी खाँदिन । खाँदिन भन्दा धेरैले नाटक गरेको भन्ठान्छन् । म दलितले भोग्ने लेभलको बिभेदमा त परेको छैन । तर छुवाछूत नै नभए पनि एकखाले विभेद मैले पनि भोगेको रहेछ । कसरी फील गर्ने भन्नेमात्रै फरक रहेछ । उमेरको परिपक्कतासँगै धेरै कुरालाई हेर्ने र बुझ्ने तरिका फरक हुँदै जाँदोरहेछ । जिन्दगीको लामो यात्रामा तामाङ भएकै कारण केहि ठाउँमा अन्डर इस्टिमेटमा परेको रहेछ । त्यो कुरा अहिले फील गर्दैछु । थोरबहुत यो प्रवृत्ति गाउँदेखि विश्वबिद्यालयको कोठासम्मै रहेछ । नामको अगाडी डा. लेख्दैमा जातको मैलो पखालिने होइन रहेछ । त्यस्ता केही पात्र देखेको छु । भोगेको छु । यहाँ कोहि पनि अछुतो छैन । जतिसुकै पढे पनि बुझे पनि यो बिकार पुर्णरुपमा पखाल्न अलि गाह्रै देखियो । कतै न कतै बेला मौकामा देखिने रहेछ । चाहे त्यो आशयको रुपमा होस् वा मज्जाले बुझिने गरि नै किन नहोस् । यस्ता कुराहरु अहिले फर्केर हेर्दा पो पत्ता लाग्यो । जातिय आँखाले मान्छेको मुल्यांकन गर्नेहरु धेरै देखेँ । मान्छेको क्षमता त जातले निर्धारण गर्ने विषय होइन नि ! हरेक ब्यक्तिको फरकखाले क्षमता हुन्छ नकि जातको ! यो मानक जसरी पनि भत्किनु जरुरी छ । सामाजिक सौहार्दता कायम राखेरै यो काम गर्नुपर्छ । शुरुमा हाम्रो मन एक बनाउन सक्नुपर्यो । “सबै जातको साझा फुलबारी” भन्ने मिठो स्लोगनले मात्रै त केही हुनेवाला छैन । यो हिसाबले त यहाँ भौतिक बिकास जति नै भएनि समृद्धि आउनेवाला छैन । हाम्रा बिद्यमान सामाजिक सांस्कृतिक संरचनाबारे अझ कसिलो बहस छेड्नुपर्ने आवश्यकता देखिन्छ । हामी सबैले आफ्नै गम्भीर समीक्षा गर्ने वेला आएको छ । यो वा त्यो बहानामा कुरो चपाएर अब हुँदै हुन्न । यसमा राजनीतिक दल, सामाजिक संघसंस्था, अभियानकर्मी, हामी स्वयं, हाम्रा अग्रजहरु र मिडियाको पनि अहम् भुमिका हुनसक्छ ।

उपत्यकाका नेवार समुदाय आफैंमा राजनीतिक – सामाजिक – सांस्कृतिक दृस्टिले पीडित समुदाय हो । त्यसमा कसैको दुईमत रहेन । उहाँहरुको भाषिक र पहिचानको इश्युमा आंशिक रूपमा भएनि हिजो सबैको ऎक्यवद्धता थियो । आज पनि छ र भोलि पनि रहनेछ । यहाँको समुदाय प्रतिको सम्मान आफ्नो ठाँउमा छ । तर अहिले पिडकको पक्षमा यहाँका केहि सामाजिक संस्थाको बिज्ञप्ति नै आयो । शुरुमा सबैलाई अचम्म लाग्यो । कतै यो फेक त होइन भन्ने पनि लाग्यो ! किनकी यो कसैको ब्यक्तिगत धारणा थिएन । यो हजारौं लाखौ मान्छे आबद्द भएको ठुलो सन्जालको लेटरप्याडमा आएको धारणा थियो । हामीले बुझ्दा यो समुदायको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । अब बुझ्नुस् हाम्रोमा समाज सुधार गर्छु, यसलाई सहि गोरेटोमा डोर्याउछु भन्ने संस्था नै कति सतही रहेछन्, कति पानीमा रहेछन् भन्ने यहिबाट थाहा हुन्छ । म यसबारे धेरै बोल्नै चाहिँन । बोल्न सक्दिँन किनकी म यहीँ उपत्यकामै बसिरहेको छु । यतिको बोल्नेले भोलि दायाँबायाँ गर्दैन भन्ने कुनै ग्यारेन्टी लिन सकिन्न । बिबेकको कुरा हो । चेतनाको कुरा हो । बिबेकहीन भएपछि केहिको पनि लिमिटेसन हुन्न । हद भन्ने नै हुन्न । त्यसैले ममा डर पनि छ । तैपनि डरभन्दा बिबेक बलियो भएर आयो । त्यसैले यति लेख्दैछु । कुनै ब्यक्तिले बोलेको कुरा ब्यक्तिगत धारणा हुनसक्छ । तर यसमै समेत बिबेकको प्रयोग हुनु जरुरी छ । यहाँ त संस्थागत कुरा आयो । यस्ता सामाजिक संस्थाले यसरी ठाँउ कुठाँउ बोलेर आफ्नै ओजन घटाइरहेको छ भन्छु म चाहिँ । हरेक संस्था समुदायको शसक्तिकरण, एकता, सेवा र सकारात्मक परिवर्तनका लागि सक्रिय हुनेगर्छ । तर यहाँ त आफ्नो समुदायले गरेमा जे पनि जायज भन्ने जस्तो कुरा आयो । बिज्ञप्ती देखेपछि मलाई उकुसमुकुस भएर आयो । मन थाम्नै सकिँन । त्यतिकै बस्नै सकिँन । केही स्टाटस पनि लेखेँ । अझै चित्त बुझेन । लामै लेखुँ लेखुँ लाग्यो । अनि अलि लामै लेख्ने बिचारले यो तयार गरेको छु । तर फेसबूकको कमेन्ट र स्टाटसमा खासै कडा कुरा लेखिँन । किनकी त्यो मान्छेको चेतना मेरो प्रतिक्रिया पचाउने लेभलको होइन भन्ने प्रस्ट थियो । जसले बिज्ञप्ती निकालेको थियो । सबै कुरा बिज्ञप्तीको भाषा र आसयले नै थाहा हुन्छ नि ! त्यहाँ केही बोलिँन म । मान्छे चिनियो । भैगो नि ! सक्किगो नि भनेर चुप बस्याथेँ । सारमा जुनसुकै बहानामा जातिय बिभेद गर्न पाउनुपर्छ भन्ने बिज्ञप्तिको भाषा थियो । मैले यतिसम्मको तल्लोस्तरको भाषाको कल्पना पनि गरेको थिएन । अझ अचम्म चैं बहालवाला मन्त्री नै गएर जमानीमा निकाले पछि भयो । कानुनी रुपमा हाजिरी जमानतमा छुटाउन त मिल्ने नै होला । तर यो मामिलामा देशको बहालवाला मन्त्री नै अघि सरेको चैं अलि सुहाएन । यसमा उहाँ चुक्नुभयो । अलिकति बिबेक प्रयोग हुनुपर्थ्यो । उहाँको छुट्टै इन्टेन्सन होला/नहोला । त्यो आफ्नो ठाँउमा छ । तर पीडित पक्षले अब सरकार र मन्त्रीको सिधा दबाब पर्यो भन्ने ठाँउ रहने भयो । थोरै भए पनि कमन सेन्स लगाउनुपर्थ्यो मन्त्रीज्युले । अरु नै मान्छे गएर छुटाउन पनि मिल्थ्यो होला नि ! कि यसमा मन्त्री नै चाहिने हो ! यस्तै स – साना कुराले गर्दा नै हाम्रोमा जनमानसमा समग्र राजनीतिको कुरुप चित्र बन्न गएको हो । यो पुरै ब्यवस्थाकै लागि चुनौती हो । मान्छेहरु आउने जाने त प्रधान कुरो नै भएन । ब्यवस्था अस्थिर हुनु भएन । ब्यवस्था अस्थिर भयो भने समग्रमा देशलाई घाटा पर्ने हो ।

हामी कतिन्जेल हाम्रोलाई मात्रै राम्रो भनी बस्ने ! के हामीमा विवेकको खडेरी परेकै हो त ? खासमा राम्रो काम जसले गरेनि हाम्रो भनेर अङ्गिकार गरे पो हुन्थ्यो त । ठिक बिपरित हामी दुशित चिन्तन र व्यवहारलाई समेत हाम्रो भनेर हिँडिरहेका हुन्छौं । अझ मेरो जातकाले गरेको हरेक कामको बचाउ गर्नुपर्छ भन्ने चिन्तन हाबी हुन थाल्यो । दिमागले मात्रै सोच्ने भए अचेलका मान्छेहरु । अर्को कुरा सबै मान्छे मेसिनजस्ता भए । मानवीयता मरिसक्यो । हामीले आत्मालाई निष्क्रिय बनायौँ । मनले, मुटुले सोच्ने र ब्यवहार गर्ने कोहि देखिएन । सबै आफ्नो ठाँउमा बसेर मात्रै सोच्छन् । यहाँ अरुको ठाँउमा बसेर सोच्ने कोहि भएन । कति सजिलो छ है आफ्नो ठाउँमा बसेर हेर्न । सोच्न । अरुको ठाउँमा बसेर हेर्ने/सोच्ने फुर्सद कसलाई छ र !

अझ कुरा पनि कति जानेको के ! अधिकारका कुराले सग्लो समाज बिगार्यो रे ! मिलेर बसेकालाई भड्कायो रे ! ए, मान्छेलाई मान्छेको दर्जा नदिई उँचोनिँचो भनेर छुवाछुत गर्दा चैं समाज सग्लो हुने ! आवाज उठाए सबै कुरा भद्रगोल हुने, भड्किने ? चुप बस्दा चैं नभड्किने हो त ? यदि त्यसरी नै समाज सग्लो रहन्छ भने चाहिएन तपाइँको सग्लो र सभ्य समाज । सभ्य भन्दा पनि मान्छे भएर बाँच्न दिनुस् भन्या हो । हामीलाई सबै मान्छेले मान्छे भएर बाँच्न पाउने समाज र राज्य चाहिएको छ । त्यसको पक्षमा सास रहेसम्म वकालत गरिरहन्छौँ । सग्लो र सभ्यताको परिभाषा तपाईं र मेरो फरक पर्यो । तपाईं आफ्नै सभ्यताको गित गाईरहनुस् । आफ्नै सभ्यहरुको राज्य बनाउनुस् । शुभकामना छ । हामी मानवता, करुणा र आत्माको भाषामा गीत गाउने रिहर्सल गरिरहन्छौँ । यो क्रम रोकिन्न ।

यहाँनेर कोटा वा आरक्षणको कुरै होइन । तर यो कुरा जबर्जस्ति कसरी घुस्यो ? के का लागि घुसायो ? यस्तो कुतर्क नगरौँ न । आरक्षणको बदलामा यिनिहरुलाई निरन्तर विभेद गर्न पाउनुपर्छ भन्ने आशय हो ? हाम्रो संविधानले त्यहि कुरा परिकल्पना गरेको हो र ? यदि तपाईंलाई यस्तो लागेको हो र यस्तै हुनुपर्छ भन्नुहुन्छ भने आजबाट यो धर्तिमा पनि नबस्नुस् । किनकी यहाँको सबै माटोमा हामीले टेकेका छौँ । कथित साना भनिने श्रमिकहरुको रगत पसिनाले सिञ्चित माटो हो यो । त्यो माटोलाई छोएमा तपाईं अशुभ/अपबित्र हुन्छ । अबदेखि बिरामी हुँदा कथित तल्लो जातले दिएको रगत पनि नलिनु किनकी त्यो रगतले तपाईं अछुत हुन्छ । अपबित्र हुन्छ । यस्तो गर्ने आँट छ तपाईंमा ? सोच्दै जाँदा अब यो ग्रहमा तपाईंलाई पबित्र ठाँउ नै भेट्दैन जस्तो लाग्छ । अबको विकल्प अर्कै ग्रहमा गएमात्रै हो । त्यो पनि अरु कोहि मान्छेले नछोएको/नटेकेको ग्रहमा । मंगलग्रह बाहेक अरुमा ठिक होला । नभए अर्कै ब्राम्हाण्डमै जानुहोस् । त्यसको खोजीमा लाग्दा हुन्छ । दिमागमा कोरोना भाइरसभन्दा खतरनाक भाइरस पसेकाहरुको लागि यो धर्तिमा कुनै उपयुक्त ठाँउ नै छैन । यदि यहाँ बस्नु नै छ भने राज्यको कानुन मान्नुपर्यो नि । मान्छे सबै एक हौं । आखिर हामी सबैको गन्तब्य एकै हो भन्ने मनन गर्नुस् । जन्मिँदा मान्छेको जात हुन्न । मरेपछि पनि हुन्न । बिचको गलत अभ्यासलाई मिनिमाइज गर्नतिर आजैबाट लागौं । सवै मानवलाई बराबर ठान्नुस् । नभए भोलि जस्तालाई त्यस्तै गर्ने दिन आउनेछ । त्यो दिन हामी पनि चाहन्नौ । खासमा त्यो दिन आओस् भन्ने कसैको चाहना पनि होइन । त्यो दिन थेग्न सक्छौँ कुतर्कको ढालले ! अनि छेक्न सक्छौं ढोँगको पर्खालले ? सदियौँदेखि पिस्लिएका थिचिएका पिडितको आँशुको भेलबाढीलाई रोक्न सक्छौं ? त्यो बाढीमा पौडिन सक्छौँ ? तर्न सक्छौं ? त्यो हिम्मत छ ? सायदै छैन होला । यदि छैन भने तपाईंलाई सजिलो उपाय पनि छ । अरु केही गर्नै पर्दैन । शुरुमा तपाईं आफैं साँच्चिकै मानव बन्नुस् । अरुमा आफ्नो अनुसार हेर्नुस् । सबैको आउने जाने बाटो एकै भएपछि यहाँ बसुन्जेल पनि एकै ठान्नुस् । अन्य कुरा सबै मिल्दै जानेछ ।

 राजनीतिक – सामाजिक अध्ययनमा रुचि राख्ने लेखक बिगत एक दशकदेखि पर्यटन ब्यवसायमा सक्रिय छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...